• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
पत्रपत्रिका

तनहुँ २ मा कांग्रेस उम्मेदवार भण्डारी विजयी

तनहुँ, मङ्सिर ७ गते । विसं २०७४ को निर्वाचनमा तनहुँ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका नेता शङ्कर भण्डारी तत्कालीन वाम गठबन्धनका उम्मेदवार केदार सिग्देलसँग पराजित हुनुभएको थियो ।

 

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को गठबन्धनका उम्मेदवार सिग्देलसँग भण्डारी तीन हजार २७९ मतान्तरले पराजित हुनुभएको थियो । एमालेका सिग्देलले ३२ हजार ९२४ मत प्राप्त गर्दा भण्डारीले २९ हजार ६४५ मत प्राप्त गर्नुभएको थियो ।

 

पूर्व वनमन्त्री रहनुभएका भण्डारीले दोस्रो प्रयासमा सोही क्षेत्रको प्रतिनिधिसभा सदस्यमा जित हासिल गर्नुभएको छ । वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार भण्डारीले ३० हजार ६०४ मत प्राप्त गरी विजयी हुनुभएको हो ।

 

आज बिहान सम्पन्न मतगणनाअनुसार भण्डारीले प्रतिस्पर्धी नेकपा ९एमाले०का किरण गुरुङलाई पाँच हजार ४७४ को मतान्तरले पराजित गर्नुभयो । गुरुङले २५ हजार १३० मत प्राप्त गर्नुभएको क्षेत्र नं २ निर्वाचन कार्यालयका निर्वाचन अधिकृत गोविन्द उपाध्यायले बताउनुभयो । निर्वाचनमा ६८ हजार १७३ मत खसेको थियो ।

 

विसं २०२५ जेठ १० गते साविक पुर्कोट गाविस हाल भानु नगरपालिका–८ मा जन्मिनुभएका भण्डारी ठूलो दाई छत्रराज भण्डारीको प्रेरणाबाट विद्यार्थीकालदेखि नै नेपाल विद्यार्थी सङ्घमा आबद्ध हुनुभएको थियो । विसं २०३६ को विद्यार्थी आन्दोलनमा सक्रियरूपमा सहभागी हुनुभएका भण्डारीले विसं २०४० मा एसएलसी उत्तीर्ण गरेपछि उच्च शिक्षाका लागि राजधानी जानुभएको थियो ।

 

विद्यार्थी राजनीतिमा सक्रियरूपमा सहभागी हुने क्रममा भण्डारी लौहपुरुष गणेशमान सिंहको नेतृत्वमा भएको जनआन्दोलनमा सहभागी हुनुभएको थियो । पार्टीको काममा सक्रिय रहेको अवस्थामा नै विसं २०४६ मा भण्डारी २९ दिन प्रहरी नियन्त्रणमा रहनुभएको थियो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार