• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
बिश्व

वर्तमान राष्ट्रपति पराजित भएसँगै पूर्व राष्ट्रपति लुला पुनः शक्तिमा

काठमाडौं । ब्रजिलमा पूर्व राष्ट्रपति एवं मजदुर युनियनका पूर्वनेता लुइज इनासियो लुला दा सिल्भाले उग्रदक्षिणपन्थी एवं बहालवाला राष्ट्रपति जइर बोल्सोनारुलाई राष्ट्रपतीय निर्वाचनमा पराजित गरेका छन्। 

 

राजनीतिक धारको विपरीत दिशामा रहेका यी दुई प्रतिद्वन्द्वीबीच भएको निकै कडा प्रतिस्पर्धामा ७७ वर्षीय लुलाले ५०।९ प्रतिशत मत पाएका थिए। बोल्सोनारुले हार स्वीकारिसकेका छैनन्। यस निर्वाचनलाई ब्रजिलभित्र मात्र नभएर विदेशमा समेत चासोपूर्वक हेरिएको थियो।


खासगरी वातावरण अभियानकर्मीहरूले बोल्सोनारु सरकारको अर्को चार वर्ष हुँदा एमजन जङ्गलको थप विनाश हुने भन्दै चिन्ता व्यक्त गरेका थिए। बोल्सोनारुका समर्थकहरू उनको जित हुनेमा विश्वस्त देखिएको भए तापनि लुलाले पाएको उक्त मत वर्तमान राष्ट्रपतिलाई पराजित गर्न पर्याप्त थियो।

 

सन् २००३ देखि सन् २०११ बीचमा शक्तिमा रहँदा उनले ब्रजिलको अर्थतन्त्र र कल्याणकारी राज्य विस्तारको कामको नेतृत्व गरे।  जसक्रममा दशौँ लाख मानिसहरू गरिबीको रेखाबाट बाहिर निकालिएका थिए। पद छाड्दा उनीप्रतिको स्वीकार्यदर ८० प्रतिशत थियो। तर सन् २०१८ मा एक भ्रष्टाचार काण्डमा उनी दोषी पाइएपछि जेल चलान भएका थिए। 

 

लुलाका समर्थकहरूले त्यससम्बन्धी भएको अनुसन्धान राजनीतिक उद्देश्यले प्रेरित रहेको दाबी गरेका छन्। १८ महिनापछि त्यहाँको सर्वोच्च अदालतले उनलाई दोषमुक्त गर्दै रिहा गरेपछि उनी पुनः राष्ट्रपतिको प्रतिस्पर्धामा सहभागी हुन पाएका थिए। बीबीसी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार