‘नेपाल मस्तिष्क हो, भारत मन हो’
काठमाडौँ । दुई दिने कलिङ्ग साहित्य महोत्सवको काठमाडौं संस्करण सम्पन्न भएको छ । असोज २९– ३० सम्म आयोजित उक्त महोत्सवको उद्घाटन गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङले नेपाल र भारतका साझा संस्कृति, धार्मिक मान्यता, सामाजिक जीवन, जनस्तरको सम्बन्ध बारे विविध चर्चा गरेका थिए । ‘नेपाल मस्तिष्क हो, भारत मन हो’ उपकुलपति गुरुङले थपे– ‘मस्तिष्क र मन नमिलेमा ठूलो विसङ्गति उत्पन्न हुन्छ ।’
भारतबाट आउनु भएका वरिष्ठ कवि अशोक बाजपेयीले भारत र नेपाल देश बन्नुभन्दा पहिले देखि, हिन्दी र नेपाली भाषा बोलिन थालिनु भन्दा पहिले देखि नेपाल र भारतबीच हार्दिक सम्बन्ध रहेको विचार व्यक्त गरे ।
नेपाल र भारतका गरी २०० जनाकवि, साहित्यकार, लेखक, पत्रकार, कलाकार, पुुस्तकव्यावसायी सहभागी उक्त सम्मेलनमा छुट्टाछुट्टै ५० वटा सत्रमा नेपाली, हिन्दी, नेवारी भाषाका कवितावाचन, लघुकता वाचन, गजलवाचन, यी विधाको वर्तमान अवस्थाबारे समीक्षा गरिएको थियो ।
यस्तै महोत्सवमा नेपाल र भारतमा विकसित साहित्यका नयाँ प्रवृत्तिबारे संवाद, नेपाल–भारत सम्बन्ध र कवि, लेखकहरूको भूमिका, नारी लेखन र शक्ति, नेपालभारतबीचको धार्मिक मान्यता र लेखन कार्यमा पनि छुट्टाछुट्टै सत्रमा विचार विमर्श गरिएको थियो । महोत्सवमा आधुनिक कला प्रदर्शन र दुवै देशका कला तथा साहित्यको समीक्षा गरिएको थियो ।
कार्यक्रममा नेपालका वरिष्ठ संस्कृतिविद् तथा साहित्यकार सत्यमोहन जोशी र भारतका वरिष्ठ कवि अशोक वाजपेयीलाई सम्मान सहित पुरस्कृत गरिएको थियो ।
प्रतिकृया दिनुहोस