• मंगलबार १२-६-२०८०/Tuesday 03-19-2024
मनोरञ्जन

‘महापुरुष’ बाट डेब्यु गर्दै अन्जना

काठमाडौं । हाँस्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुख्य भूमिका रहेको फिल्म ‘महापुरूष’ मार्फत अन्जना बराईली डेब्यु गर्दैछिन् । मोडलिङ र म्युजिक भिडियोमा अभिनय गरेकी अन्जना यसफिल्ममा अडिसन मार्फत छानिएकी हुन् । उनी फिल्ममा प्रतिष्ठाको भूमिकामा छिन् । उनले मदनकृष्ण श्रेष्ठको छोरीको भूमिका निर्वाह गरेकी हुन् । उनले अडिसनमा देखाएको अभिनयले नै ‘सेलेक्ट’ गरिएको कलाकारसँगै कार्यकारी निर्माता रहेका रबिन्द्र सिंह बानियाँले बताए । 

 

‘हामीलाई चाहिएको जस्तै उहाँमा पायौँ । अडिसनमा दिइएको फरक तीन भूमिकालाई उहाँले निभाउनु भएको दृश्यले हामीलाई प्रभाव छाड्यो । धेरैको अडिसन लिएता पनि उहाँले भूमिका सुहाउँदो भएकाले सेलेक्ट गरेका हौँ’ बानियाँले भने । उनले अडिसन मार्फत छानिएको अन्जनाको काम फिल्ममा प्रशंसायोग्य रहेको बताए । ‘दिग्गज कलाकारहरुसँग स्क्रिनमा देखिदा उनीमा देखिएको कन्फीडेन्टले उनको भविष्य उज्वल छ भने लागेको छ । उनले आफ्नो भूमिकालाई जीवन्त बनाएकी छिन’ उनले भने ।

 

राम्रो फिल्मको खोजीमा रहेकी अन्जना पनि यो टिमसँग जोडिएर आउन पाउँदा खुसी छिन् । ‘मैले केहि फिल्ममा अडिसन पनि दिएकी थिएँ । एक फिल्ममा सेल्केट भएर केहि समय प्रतीक्षा पनि गरें । तर त्यो फिल्म बनेन् । पछि यसमा अडिसन दिएँ’ उनले भनिन् । मह जोडी र प्रदीप भट्टराईको निर्देशनमा काम गर्न पाउँदा उनको सिकाई पनि भएको छ । ‘म यहाँको लागि नौलो मान्छे । मलाइ रबिन्द्र दाई र प्रदीप दाईले राम्रोसँग गाइड गर्नु भयो । अभिनयलाई प्रस्तुत गर्ने शैली सिकाउनु भयो’ उनले भनिन् । 


मह जोडीसँग स्क्रिन सेयर गर्न पाउँदा उत्साहित अन्जनाले फिल्ममा मदनकृष्णको छोरीको भूमिका निर्वाह गरेकी छिन् । ‘उहाँकको छोरी बनेर काम गर्न पाउँदा ज्यादै खुसी छु। उहाँको माया र आशिर्वादलाई सिनमा समेत फिल्म गरें’ उनले भनिन् । यसै फिल्म मार्फत अन्जना झैँ अरुण क्षेत्री पनि डेब्यु गर्दैछन् । उनले फिल्ममा हरिवंश आचार्यको छोराको भूमिका निर्वाह गरेका छन् । उनको चरित्रको नाम विज्ञान हो । उनी फिल्ममा हरिवंशका कान्छा छोरा हुन्छन् । उनी पनि फिल्ममा अडिसन मार्फत सेलेक्ट भएका हुन् ।

 

त्यसो त अडिसन भएको एकहप्ता पश्चात उनलाई ‘सेलेक्ट’ भयौं भन्ने जानकारी आएको थियो । यद्दपि उनले अभिनय गरेको दोस्रो फिल्म ‘महापुरूष’ आउँदो कार्तिक ११ अर्थात् भाइटीकाको भोलिपल्ट प्रदर्शन हुँदैछ । सामाजिक विषयवस्तुमा आधारित ड्रामामा मदनकृष्ण र हरिवंशसँगै गौरी मल्ल , अरुण क्षेत्री, अन्जना बराइली,रविन्द्र सिंह बानियाँ, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, पण्डित प्रज्वल लुइँटेल लगायतको अभिनय छ ।

 

फिल्ममा प्रदीप भट्टराईको लेख्नसँगै निर्देशन रहेको छ। सोसल ड्रामा ‘महापुरूष’मा समाजले मान्छेलाई महापुरूष बनाउने स्थितिलाई व्यंग गरिने छ । निर्देशक भट्टराईले जात्रा, शत्रुगते र जात्रै जात्रामार्फत आफूलाई निर्देशनमा स्थापित गरिसकेका छन् । उनले डेब्यु फिल्म ‘जात्रा’ देखि नै दर्शकको विश्वास जिते । शत्रुगते बाहेक जात्रा सिरिजलाई समीक्षकले पनि रुचाए । यिनै भट्टराई अब चौथो फिल्म लिएर आउँन लागेका हुन्। उनी यसपटक यसअघिका फिल्म भन्दा झनै कन्फीडेन्ट छन् ।

 

षट्कोण आर्ट्स प्रा.लि.को व्यानारमा निर्मित फिल्ममा कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री रहेका छन् । षट्कोण आर्ट्सले यसअघि टलकजङ भर्सेस टुल्के, जात्रा र जात्रै जात्रा फिल्म निर्माण गरेको छ । कलाकार समेत रहेका रबिन्द्र कथावस्तुले दर्शकलाई छुनेमा विश्वस्त छन् । ‘सामाजिक कथावस्तुमा फिल्म बनाएका छौँ । आफ्नै मौलिक कथा र नाम महापुरूष राखेका छौँ । हामीले अघिल्लो गरेका कामहरु भन्दा यसपटक झनै माझिएका छौँ’ उनले भने ।

 

फिल्ममा दीपक बज्राचार्यको छायांकन , मित्र डी. गुरुङको सम्पादन रहेको छ। यही फिल्मबाट कवि नवराज पराजुलीले पनि गीतकारको रुपमा फिल्ममा डेब्यु गर्दै छन् । चार गीत रहने फिल्मका चारै गीत नवराज पराजुलीले लेखेको र संगीत ऋदम कँडेलको रहेको छ। फिल्मको पार्श्व ध्वनिमा रोहित शाक्य ÷ शैलेश श्रेष्ठ , ध्वनि संयोजनमा किशोर आचार्य , रंग संयोजनमा जुनिम गहतराज र प्रोडक्सन म्यानेजरमा रूपक प्रताप अधिकारी रहेका छन्।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार