• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
पत्रपत्रिका

मोफसलकी बालिकाको कथा

काठमाडौँ। विद्या (कञ्चन चिमोरिया) को इच्छा अनेक छन्, उनी पुतलीझैँ उड्न चाहन्छिन् तर घरको आर्थिक अवस्थाले उनी धेरै कुरा पु-याउन असमर्थ छिन् अर्थात् उड्न सक्दिनन्। उनलाई पनि उनका अन्य साथीझैँ काठमाडौँ गएर पढ्न रहर छ तर उनको त्यो सपना पूरा हुँदैन। सधैँ स्कुलमा पहिलो हुने विद्या दोस्रो हुन्छिन् र उनको स्कुलबाट छात्रवृत्ति पाउने सपना चकनाचुर हुन्छ। चलचित्र ‘ऐना झ्यालको पुतली’ विद्या र उनको भाइ वसन्त (दिनेश खत्री)को कथा हो। वसन्त पहिला आफ्नो दिदीसँग एकदमै झगडालु हुन्छन् तर पछि दिदीकै मायाले गर्दा दिदीभाइको सम्बन्धमा एकाएक परिवर्तन आउँछन्। 

 

स्कुले शिक्षा लिन चाहने किशोरीको सपना र त्यसमा आउने अवरोधको कथा हो, यो चलचित्र। चलचित्रमा दिदीभाइको सम्बन्धका आयामलाई रोचक ढङ्गले प्रस्तुत गरिएको छ। पहाडी जिल्लाको एक गाउँमा पढ्ने किशोरीको सहरमा गएर पढ्ने सपनालाई चलचित्रमा विभिन्न ढङ्गबाट देखाइएको छ। विद्या जति पटक पनि सपनाको नजिक पुग्छिन् कुनै न कुनै बाधा अड्चन उनीउपर आई नै हाल्छ। अन्त्यमा उनको काठमाडौँ जाने सपना भताभुङ्ग हुन्छ। 

 

विद्याको भाइ वसन्त चञ्चल छन्। उनलाई दिदीसँग झगडा गर्न मन लाग्छ। पढाइमा पनि उनी त्यति अब्बल हुँदैनन्। साथीहरूसँग गाउँमा टीभी हेर्न, पौडी खेल्नमा नै उनी रमाउँछन्। आमा (सिरु विष्ट) आफू एक्लैले दुई बच्चाको रेखदेख गरिरहेकी हुन्छिन् तर एक दिन अचानक उनका श्रीमान् आउँछन् र उनलाई केही सुख होला कि भन्ने हुन्छ तर त्यसपछि झन् उनीमाथि दुःखको थोपरो आइलाग्छ। यिनै कुराभित्र रुमल्लिएको कथा हो चलचित्र, ‘ऐना झ्यालको पुतली’ ।

 

पुरानो चलचित्रको गीत, गाउँघरमा पैसा तिरेर टीभीमा चलचित्र हेर्ने चलन छोरी मान्छे महिनावारी भएपछि उसलाई घरमा गर्ने व्यवहार र बालपत्रिका ‘मुना मासिक’मा कविता छपाउने चाहका कुरालाई निर्देशक सुजित बिडारीले चलचित्रमा सही ढङ्गबाट प्रस्तुत गरेका छन्। 

 

चलचित्रको सङ्गीत र ध्वनि, रङ र वेशभूषा गजब छ। चलचित्रमा सिरु विष्टबाहेक सबै कलाकार नयाँ हुन्। अभिनयको हिसाबले कञ्चन चिमोरिया, दिनेश खत्रीको जति तारिफ गरे पनि कम हुन्छ। अन्य कलाकार सिरु विष्ट, राज थापा, विशा चाम्लिङ राई, उमेश श्रेष्ठ, मल्लिका श्रेष्ठलगायतको अभिनय पनि उत्कृष्ट छ। 

 

फिचर फिल्म लेखन/निर्देशनमा सुजितको यो डेब्यु चलचित्र हो। सुजितले किशोरीको पढ्ने सपनालाई ऐनाजस्तो झ्यालमा अड्किएको पुतलीसँग तुलना गरेर चलचित्रलाई उत्कृष्ट बनाएका छन्। १३ वर्षीय किशोरी र उनको नौ वर्षको भाइबीचको बालसुलभ सम्बन्धलाई निर्देशक सुजितले चलचित्रमा सुहाउँदो ढङ्गबाट पस्किएका छन्।   सुकृत नेपाल/गोरखापत्र   

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार