• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
डबली

किताब जात्राको पाँचौं संस्करण शुरु, गौतमलाई प्रेम साहित्य सम्मान

काठमाडौं । किताब जात्रा– २०७९ नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा सुरु भएको छ । किताब यात्रा फाउन्डेसनले हरेक वर्ष गर्ने आयोजना गर्ने जात्राको पाचौं संस्करण शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरिन् । जात्रा उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले अनेकन भाषा र वाङ्मय भएको हाम्रो देशको कला साहित्यलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्‍याउन जात्राले निकै महत्वपूर्ण भूमिका खेल्ने बताइन् ।


‘समाज परिवर्तनका लागि ज्ञान अनिवार्य छ । र, ज्ञानका लागि अध्ययन र पठन अपरिहार्य छ’, उद्घाटन मन्तव्यमा उनले भनिन्, ‘यस सन्दर्भमा किताबलाई अध्ययन र जात्रालाई संस्कृतिको बिम्बको रूपमा व्याख्या गर्दै किताब जात्राले राखेको अध्ययन जीवनसँग एकाकार हुने अनिवार्य सांस्कृतिक कर्म बन्नुपर्छ भन्ने उद्देश्य महत्वपूर्ण छ ।’ अध्ययनले सत्य खोज र तथ्य पहिचानको क्षमता निर्माण गर्ने बताउँदै उनले त्यसैको जगमा समाज समृद्ध हुने उल्लेख गरिन् । उनले आम नागरिकसम्म अध्ययनको पहुँच पुर्‍याउने उद्देश्यले किताब यात्राले चलाएका समुदायमा पुस्तकालय, जेलमा पुस्तकालय, प्रविधिमैत्री इ–पुस्तकालय, सार्वजनिक स्थलमा सार्वजनिक पुस्तकालय जस्ता सामाजिक अभियानको प्रशंसा गरिन् । 


जात्राको अवसरमा उनले साहित्यकार ध्रुवचन्द्र गौतमलाई ‘प्रेम साहित्य सम्मान’ र ‘सत्यमोहन’ किताबका लागि गिरीश गिरीलाई ‘किताब जात्रा बेस्ट सेलर अवार्ड’ प्रदान गरिन् । १ लाख ११ हजार १११ रुपैयाँ राशि रहेको ‘प्रेम साहित्य सम्मान’ नेपाली वाङ्मयमा विशिष्ट योगदान पु¥याउने स्रष्टालाई हरेक वर्ष प्रदान गरिने जात्राका निर्देशक ऋषिराम अधिकारीले बताए । गतवर्ष शताब्दी पुरुष सत्यमोहन जोशीलाई उक्त सम्मान प्रदान गरिएको थियो । सम्मानबाट साहित्यकार सरुभक्त र जसराज किराँती सम्मानित भइसकेका छन् । 


अधिकारीका अनुसार अनलाइन बुक स्टोर किताब यात्रा डटकमबाट वर्षभरिमा सबैभन्दा बिक्री हुने किताबलाई ‘बेस्ट सेलर अवार्ड’ प्रदान गरिन्छ । गत वर्ष जीवा लामिछानेलिखित ‘देशदेशावर’ले अवार्ड प्राप्त गरेको थियो । त्यसअघिका वर्षमा अमर न्यौपानेलिखित उपन्यास ‘गुलाबी उमेर’ र विजयकुमार लिखित ‘सम्बन्धहरू’ले अवार्ड प्राप्त गरेका थिए । 


जात्रामा वर्ष भाषा, साहित्य, सिनेमा, समाज, बैंकिंगलगायतका विभिन्न क्षेत्रबारे विमर्श हुने गरेको छ । त्यसै सन्दर्भमा शुक्रबार सात वटा विमर्शका सत्रहरू सञ्चालन भएको महोत्सव संयोजक सुवास अर्यालले बताए । पहिलो सत्रमा उद्यमी शिक्षित भट्ट र कवि विप्लव प्रतीकबीच ‘चिन्तन–मनन’ शीर्षकमा संवाद भयो भने टेलिभिजन बहसकर्ता टीकाराम यात्री र राजेन्द्र बानियाँले प्रश्न–प्रतिप्रश्न शीर्षकमा रहेर बहस–विमर्शको पृष्ठकथा सुनाए । ‘डिजिटल नेपालः दृश्य–परिदृश्य’ शीर्षकमा बैंकर अनिल उपाध्याय र किरणकुमार श्रेष्ठका साथमा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले विमर्श गरे । जसको सहजीकरण एपीवान टेलिभिजनकी सह–सम्पादक सञ्चारकर्मी समा थापाले गरेकी थिइन् । 


‘चलचित्र चरित्र’ शीर्षकमा अभिनेत्रीत्रय भुवन चन्द, गौरी मल्ल र मिथिला शर्माले आफ्नो चलचित्र जीवनबारे रङ्गकर्मी सरस्वती अधिकारीका साथ छलफल गरे । लेखक बसन्त बस्नेत, छुदेन काविमो र सरस्वती प्रतीक्षाले ‘मौलिक स्वर’ शीर्षकमा सञ्चारकर्मी भूपेन्द्र खड्काका साथ बहस गरे । 


जात्रामा सुबिन भट्टराईको नयाँ उपन्यास ‘इजोरिया’, सञ्जय बिष्टको आख्यान ‘माटाको घर’ र मनप्रसाद सुब्बाको समालोचना–किताब ‘काव्यास्था’ विमोचन भएको किताब यात्रा डटकमका सिइओ विकेश भट्टराईले बताए । उनका अनुसार साँझ ५ बजे दृश्य सादृश्य समूहको नाट्यप्रस्तुति ‘अक्षरारम्भ’ प्रदर्शन हुनेछ भने त्यसपछि प्रख्यात भारतीय कलाकार पीयूष मित्राको विशेष प्रस्तुति रहनेछ ।  

 
जात्रा भोलि शनिबारसम्म जारी रहने फेस्टिभल क्रियटिभ डाइरेक्टर कला अनुरागीले जानकारी दिए । उनका अनुसार शनिबार ‘अनुवाद मनोभाव’ शीर्षकमा अनुवादकहरू मोहन मैनाली, स्वरूप आचार्य र सगुना शाहले सुरेश बडालका साथ बहस गर्नेछन् । त्यस्तै ‘आख्यान–ख्याख्यान’ शीर्षकमा दीपक सापकोटाले आख्यानकार नारायण ढकाल, नयनराज पाण्डे र प्रगति राईसँग विमर्श गर्नेछन् ।  


साहित्यकार उमा सुवेदी, प्रभा बराल र बिना थिङका साथमा मनिषा गौचनको बहस ‘बिम्ब–प्रतिबिम्ब’ शीर्षकमा हुनेछ । शनिबार ‘कञ्चनजङ्घा जुहार’ पुस्तक सार्वजनिक हुनुका साथै विशेष काव्य प्रस्तुति पनि रहनेछ । ‘काव्य सन्ध्या’ नाम दिइएको सत्रमा कवि डा. नवराज लम्साल, धीरेन्द्र प्रेमर्षी, शकुन्तला जोशी, बाबु त्रिपाठी र सुदेश सत्यालले कविता प्रस्तुत गर्नेछन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार