• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
बिश्व

को हुन् लिज ट्रस ?

काठमाडौं । यूकेमा सत्ताधारी कन्जर्भेटिभ पार्टीले लिज ट्रसलाई बोरिस जोनसनको उत्तराधिकारीका रूपमा चयन गरेको छ।सोमवार दिउँसो ट्रसलाई उक्त पार्टीको नेतामा निर्वाचित भएको घोषणा गरिएको हो। दलको नेता बनेसँगै उनी मङ्गलवार प्रधानमन्त्री नियुक्त हुनेछिन्।

 

कन्जर्भेटिभ पार्टीमा ट्रससँगै पार्टी नेताको प्रतिस्पर्धामा रहेका ऋषि सुनक नयाँ प्रधानमन्त्रीको दौडबाट बाहिरिएका छन्। नयाँ प्रधानमन्त्रीले देशको कमजोर अर्थतन्त्रको चुनौती सामना गर्नुपर्नेछ। चालीस वर्षमा त्यहाँको मुद्रास्फीति सबैभन्दा उच्च छ।

 

सात वर्षको उमेरमा विद्यालयमा भएको आमचुनावसम्बन्धी एउटा नाटकमा लिज ट्रसले मार्गरेट थ्याचरको भूमिका निभाएकी थिइन्। थ्याचर त्यस बेलाकी प्रभावशाली प्रधानमन्त्री थिइन् र उनले सन् १९८३ मा व्यापक बहुमत पाएकी थिइन्।

 

तर लिज ट्रसले विद्यालयको नाटकमा थ्याचरको भूमिका निभाए पनि त्यसबेला उक्त नाटकमा उनले सफलता पाइनन्। धेरै वर्षपछि ट्रसले उक्त घटनाको स्मरण गर्दै भनेकी थिइन्, "म त्यस बेला मैदानमा उत्रिएँ र चुनावी मञ्चमा मन्तव्य दिएँ तर मैले शून्य भोट पाएँ। म आफैँले पनि आफूलाई भोट हालिनँ।"

 

उनन्चालीस वर्षपछि सोमवार उनी आइरन लेडी भनेर पनि चिनिने थ्याचरकै पद पछ्याउन वास्तविक रूपमै हाम फालिन् र कन्जर्भेटिभ पार्टीको नेता बनिन्। अब उनी मङ्गलवार ब्रिटेनको प्रधानमन्त्री नियुक्त हुनेछिन्।

 

मेरी एलिजाबेथ ट्रस सन् १९७५ मा अक्सफर्डमा जन्मिएकी हुन्। उनले आफ्ना पिता गणितका प्राध्यापक र आमा "वाम खेमा"की नर्स भएको बताएकी थिइन्। बाल्यकालमा उनलाई उनकी आमाले परमाणु निःशस्त्रीकरण अभियानका जुलुसहरूमा लिएर जान्थिन्। 

 

त्यसबेला परमाणु निःशस्त्रीकरण अभियान चलाउनेहरूले पश्चिमी लन्डनस्थित आरएएफ ग्रीनह्याम कमनमा अमेरिकालाई परमाणु वारहेड राख्ने दिने थ्याचर सरकारको निर्णयको जोडदार विरोध गरेका थिए। 

 

ट्रस चार वर्षकी हुँदा उनको परिवार ग्लास्गोको पश्चिमतर्फस्थित पेस्ज्ली सर्‍यो। बीबीसी रेडियो फोरको प्रोफाइल कार्यक्रममा बोल्दै उनका भाइले बताए अनुसार ट्रसको परिवार बोर्ड गेमहरू खेल्ने गर्थ्यो।

 

त्यस क्रममा ट्रस हार्न नचाहने र हार्ने अवस्था आयो भने खेल छाडेर भाग्ने गर्थिन्। त्यसपछि उनको परिवार लीड्समा सर्‍यो। उनले त्यहाँ एउटा समुदायिक माध्यमिक स्कूलमा पढिन्।

 

विद्यालयमा अध्ययन गर्ने बेलामा आफूले "असफल र न्यून अपेक्षाहरू भएका बालबालिका"लाई देखेको वर्णन गरेकी छन्। तर त्यहाँ अध्ययन गरेका उनका समकालीनहरूले ट्रसले भनेकोभन्दा फरक कुरा बताएका छन्। त्यसमा गार्डियनका पत्रकार मार्टिन पेङ्गेली समेत छन्।

 

उनले लेखेका थिए, "सायद उनी आफ्नो हुर्काइ बढाइको केही कुरालाई छनोट गरेर मात्र उजागर गरिरहेकी छन् र साधारण राजनीतिक लाभका लागि उनलाई शिक्षादीक्षा दिने शिक्षकहरू तथा विद्यालयलाई अनौपचारिक रूपमा प्रयोग गरिरहेकी छन्।"

 

विद्यालयपछि उनी अक्सफर्ड विश्वविद्यालय गइन्। त्यहाँ उनले दर्शनशास्त्र, राजनीति र अर्थशास्त्र पढिन्। ट्रस विद्यार्थी राजनीतिमा पनि सक्रिय थिइन् र सुरुमा उनी लिबरल डेमोक्र्याट्सका लागि राजनीति गर्थिन्। सन् १९९४ को पार्टी सम्मेलनमा उनले ब्रिटेनबाट राजतन्त्र अन्त्य गर्नुपर्ने पक्षमा बोलेकी थिइन्।

 

उनले ब्रिघटनमा भनेकी थिइन्, "हामी लिबरल डेमोक्र्याट्सहरू सबैले अवसर पाउनुपर्छ भन्नेमा विश्वास गर्छौँ। हामी मानिसहरू शासन गर्नका लागि जन्मन्छन् भन्नेमा विश्वास गर्दैनौँ।"

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार