• शनिबार १-८-२०८१/Saturday 04-20-2024
पत्रपत्रिका

डेङ्गुको प्रकोप व्यापक

काठमाडौं । मनाङ र हुम्लाबाहेक ७५ जिल्लामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ। यससँगै डेङ्गु महामारीकै कारण स्वास्थ्य सङ्कटकाल घोषणा गर्ने कि नगर्ने भन्ने अध्ययनमा स्वास्थ्य अधिकारी लागेका छन्।

 

काठमाडौँ उपत्यकाका दुई जिल्ला ललितपुर र काठमाडौँमा सबैभन्दा बढी डेङ्गु सङ्क्रमित पुष्टि भएको छ। ललितपुरमा कतिपय परिवारका सम्पूर्ण सदस्यलाई नै डेङ्गु पुष्टि भएको छ। गत जनवरीदेखि हालसम्म नेपालमा पाँच हजार २९ जनालाई डेङ्गु पुष्टि भएको छ। सबैभन्दा धेरै ललितपुरमा एक हजार ८३२, काठमाडौँमा ८८८, भक्तपुरमा ९९ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ। पछिल्ला दिनमा उपत्यकालगायत ७५ वटै जिल्लामा डेङ्गुले महामारीको रूप लिन थालेपछि डेङ्गु प्रकोपलाई महामारीका रूपमा घोषणा गर्ने तयारीमा छलफल भइरहेको छ। 

 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता सञ्जयकुमार ठाकुरले नेपालमा डेङ्गु बढ्दै गएकाले स्वास्थ्य सङ्कटकाल लगाउने विषयमा छलफल सुरु भएको बताउनुभयो। उहाँले स्वास्थ्य सङ्कटकाल (महामारी) घोषणाका लागि केही प्रावधान पूरा गर्नुपर्ने भन्दै ती प्रावधान पूरा भए सङ्कटकाल लगाउन सकिने बताउनुभयो। गत जनवरीदेखि हालसम्म नेपालमा पाँच हजार २९ जनालाई डेङ्गु पुष्टि भएको छ । 

 

डेङ्गु नियन्त्रण बाहिर गएको अवस्थामा सङ्कटकालका प्रावधान पूरा गरेको अवस्थामा महामारी घोषणा गरिने उहाँले बताउनुभयो। अस्पतालका प्रमुख, विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधिसँग छलफल भइरहेको भन्दै प्रवक्ता डा। ठाकुरले पर्सि मङ्गलबार सरोकारवाला निकायसँग छलफल गरेर सङ्कटकाल लगाउने वा नलगाउने भन्ने विषयमा निष्कर्षमा पुग्न सकिने जानकारी गराउनुभयो। 

 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य प्रशासक गोकर्ण दाहालले महामारी घोषणा गर्न पाँच वर्षको डेङ्गुसम्बन्धी केसलाई विश्लेषण गर्नुपर्ने बताउनुभयो। उहाँले थप्नुभयो, “पाँच वर्षको डेङ्गुसम्बन्धी केसलाई विश्लेषण गरेर न्यूनतम सीमा ९थ्रेस होल्ड० निकालिन्छ र त्यसभन्दा माथि गएको अवस्थामा आउटब्रेकका आधारमा महामारी घोषणा गरिन्छ।” 

 

डेङ्गुको पहिलो चरण सतर्कता, दोस्रो अनियन्त्रित र तेस्रोमा महामारीको चरण हुने भन्दै दाहालले त्यसको तथ्याङ्क विश्लेषण गर्ने काम भइरहेको जानकारी गराउनुभयो। अहिलेको स्थितिलाई हेर्ने हो भने महामारी घोषणा गर्न सकिने भए पनि पाँच वर्ष अघिदेखिको तथ्याङ्कका आधारमा घोषणा गर्नुपर्ने भएकाले तथ्याङ्क हेर्ने काम भइरहेको बताउनुभयो। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा। चुमनलाल दासले कतिपय जिल्लामा डेङ्गु महामारीका रूपमा बढेको जानकारी दिँदै महामारी घोषणा गर्ने वा नगर्ने विषयमा कुनै निर्णय भइनसकेको जानकारी दिनुभयो। गोरखापत्र

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार