• मंगलबार ६-११-२०७९/Tuesday 09-27-2022
मनोरञ्जन

हिंसा र द्वन्द्व झल्काउने ‘पानीफोटो’

-सुकृत नेपाल

 

काठमाडौँ । चलचित्र ‘पानीफोटो’ले नेपाली समाजमा भएका हिंसा र द्वन्द्वका पाटाहरूलाई झल्काउने काम गरेको छ । चलचित्रले आम मानिसले भोगिरहेका समस्या देखाउन मद्दत गर्छ। ‘पानीफोटो’ बेपत्ता पारिएको छोरा जीवित छ या मृत्यु भइसक्यो भन्ने कुराको निक्र्योल हो। युद्धलाई प्रत्यक्ष रूपमा अनुभूति नगरेकाका लागि चलचित्र रमाइलो लाग्न सक्छ। युद्धले सर्वसाधारणको जीवनमा पारेको असरको पक्षबाट चलचित्रको कथा बुनिएको छ। 

 

छोरो कृष्ण जसलाई तत्कालीन विद्रोही पक्षले सुराकी भनेर बेपत्ता पारेपछि आफ्नो छोरा फर्कने आशामा दिन बिताइरहेका आमा–बुवाको कथा हो ‘पानीफोटो’ । छोरा जिउँदो छ या मरिसक्यो उसको अवस्थाको पत्ता नलागेसम्म अन्तिम संस्कार नगर्ने अडानमा रहेका आमा–बुवा (अनुप बराल र मेनुका प्रधान) समाजको हिंसा र अत्याचार खेप्दै छोराको खोजीमा निस्किएका हुन्छन्। 

 

यस्तै आफूले माया गरेको मान्छे एक दिन अवश्य फर्केला भनेर विवाह गर्ने सपना बुनेर बसेकी राधा (मलिका महत)को पर्खाइ पनि चलचित्रमा ज्यादै नै दुःखदायी छ। चलचित्रमा विभिन्न पात्रलाई फरक–फरक ढङ्गबाट प्रस्तुत गरिएको छ। बेपत्ता पारिएका कृष्णको ठुल्दाइ (प्रकाश घिमिरे) आफ्नो भतिजोको काजकिरिया गरे मात्र उनीभित्र लागेको रोग निको हुने अन्धविश्वासमा बाँचिरहेका हुन्छन्। यस्तै चलचित्रमा गाउँबाट लखेटिएका बुद्धि तामाङ जो सहरमा छिरेपछि मासुको व्यापारी बनेका छन् भने गाउँमा भएको द्वन्द्वसँग डराएर भारत पुगेका खगेन्द्र लामिछानेको भूमिकाले पनि चलचित्रको धेरै कुरा प्रस्ट्याउँछ। 

 

चलचित्रका केही दृश्य रङ्गमञ्चमा देखिने नाटकीय शैलीका पनि भेटिन्छन्। खगेन्द्र फेरि आफैँ रङ्गकर्मी भएका कारणले पनि चलचित्रका केही दृश्य नाटक नै जस्तो देखिनु खासै नौलो कुरा होइन । त्यसमाथि चलचित्रमा अभिनय गर्ने कलाकार प्रायः रङ्गमञ्चकै हुनुहुन्छ जसले चलचित्रलाई अझ बलियो बनाउने काम गरेको छ। 

 

चलचित्रको राम्रो पक्ष भनेकै यसभित्र रहेका कलाकारको अभिनय नै हो। अनुप बराल, मेनुका प्रधान, प्रकाश घिमिरे, खगेन्द्रको अभिनयमा कहीँ पनि खोट लगाउने ठाउँ छैन। चलचित्र ‘यात्रा’पछि पानीफोटोमा देखिएकी मलिकाको अभिनयलाई ठीकठाक भन्नुपर्छ। दशकअघि गुरुकुलमा मञ्चन भएको चर्चित नाटक ‘पानीफोटो’कै अनुरुपण हो चलचित्र । ‘टलकजंग भर्सेस टुल्के’, ‘पशुपतिप्रसाद,’ ‘धनपति’ ‘डमरुको डन्डीबियो’लगायतका चलचित्रमा अभिनय गरिसकेका कलाकार लामिछानेको ‘पानीफोटो’ डेब्यु निर्देशन हो। 

 

चलचित्रमा केही कमीकमजोरी पनि छन्। चलचित्रको छायाङ्कन अब्बल भए पनि यसको प्राविधिक पक्ष भने कमजोर नै देखिन्छ। निर्देशक लामिछानेले नाटकमा जति मेहनत गरेका थिए चलचित्रमा खासै मेहनत गरेको देखिँदैन। निर्देशकले चलचित्रमार्फत दर्शकलाई सशक्त युद्धको पीडा झल्काउन खोजेका त छन् तर दर्शकले चलचित्र हेरेपछि ती पीडाको खासै अनुभूति गर्दैनन्। 

 

निर्देशकले चलचित्रमा पात्रहरूबीचको सम्बन्धलाई पनि सही तरिकाले स्थापित गर्न नसकेका हुन् कि भन्ने पनि भान हुन्छ। चलत्रिमा बुवा–आमाको छोराप्रतिको आत्मीयता संवादमा मात्र नभएर दृश्यमा पनि देखाउन सकिन्थ्यो होला। चलचित्रमा कथाको गहिराइमा नै नपुगी केवल मसला भर्ने काम मात्र भएको छ।

 

चलचित्रमा निर्देशकले युद्धमा छाडेको खत मात्र देखाउन सफल भएका छन्, उनले युद्धमा हुने त्रासदी देखाउन सकेका छैनन्। चलचित्र हेरिसकेपछि निर्देशकले पीडालाई त्यति गहिरो रूपमा नबुझेका हुन् कि भन्ने अनुभूति पनि हुन्छ।  प्रदर्शन अघि निर्देशक लामिछानेको ‘पानीफोटो’को जति चर्चा गरिएको थियो चलचित्र त्योअनुसार बन्न नसकेको हो कि भन्ने पनि धेरैको जिज्ञासा छ।  (गोरखापत्र)

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार