• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
देश/प्रदेश

साउन १५ अर्थात खीर खाने दिन

काठमाडौं । साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ। साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको हो।

 

दूधमा मरमसलालगायत चिजबिज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ। संस्कृत भाषामा पायस भनिने खीर सात्विक आहार मध्येमा उत्तम मानिने भएकाले पितृ एवं देवकार्यमा पनि महत्वपूर्ण वस्तुका रूपमा वैदिकशास्त्रमा वर्णन गरिएको छ ।

 

साउन महिनामा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ। हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ। धेरै घाँस पाइने बेलामा गाई, भैँसीले पनि धेरै दुध दिन्छन्। दूध धेरै भएपछि इष्टमित्र, चेलबेटीलाई घरमा बोलाएर खीर खाने चलन चलेको हो।

 

साउन भगवान् शिवको महिना हो। शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले विधिपूर्वक चढाइन्छ। यसैले साउनको मध्य पारेर खीर खाने प्रचलन चलेको हुनसक्ने धर्मशास्त्रविद्हरु बताउँछन्। यद्यपि यसको कुनै शास्त्रीय वचन भने छैन।

 

ऋषिमुनिको पालादेखि नै श्राद्धलगायत पितृकार्यमा निमन्त्रणा गरिएका ब्राह्मणलाई पायस अर्थात् खीर खुवाउने गरिएको थियो। अहिले पनि वैदिक सनातन धर्मावलम्बीले श्राद्धका दिन अनिवार्य रूपमा गाईको दूधमा पायस अर्थात् खीर बनाउँछन्। यस वर्ष साउन १५ गतेका दिन श्रावण शुक्ल एकादशी परेकाले चामलको खीर नखानेले साबुदानाको खीर बनाएर खान्छन्।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार