• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
स्वास्थ्य

के हो एडिनोभाइरस ?

काठमाडौं । काठमाडौं  उपत्यकामा विद्यालय जाने धेरै बालबालिकामा रुघाखोकी र ज्वरोजस्ता लक्षण देखिएपछि परीक्षण गर्दा एडिनोभाइरस सङ्क्रमण फैलिएको देखिएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।

 

उपत्यकास्थित कान्ति बाल अस्पताल गएका केही बिरामी बालबालिकाबाट सङ्कलित नमुनामध्ये अधिकांशमा उक्त भाइरस पुष्टि भएको अस्पतालले जनाएको छ। अस्पतालका निर्देशक डा. युवानिधि बसौलाका अनुसार उक्त स्वास्थ्य संस्थाबाट सङ्कलन गरी पठाइएका १३ मध्ये १२ बटा नमुनामा एडिनोभाइरस पुष्टि भएको छ।

 

विज्ञहरूका अनुसार एडिनोभाइरस एउटा सङ्क्रामक विषाणु हो। त्यसले रुघाजस्तो समस्या उत्पन्न गरारउँछ। यो जुनसुकै उमेर समूहका बालबालिकामा लाग्न सक्ने उनीहरूको भनाइ छ। तर प्राय: शिशु र कम उमेरका बालबालिकालाई यसले सताउँछ।

 

कतिपय शोधहरूले १० वर्षमुनि प्रत्येक बालबालिकालाई कम्तीमा एक पटक यो भाइरसको सङ्क्रमण भएको हुन सक्ने देखाएका छन्। एडिनोभाइरसका विभिन्न प्रकार छन्।

 

त्यसैले एक पटक सङ्क्रमण हुँदा विकसित प्रतिरोध क्षमताले अर्को खालको एडिनोभाइरसले सङ्क्रमण गर्दा काम नगर्न सक्ने बताइन्छ।  नेपाल पेडियाट्रिक सोसाइटीका अध्यक्ष तथा बालरोग विशेषज्ञ डा. गणेश राईका अनुसार यो "धेरै कडा" भाइरस होइन। तर प्रतिरोध कमजोर भएका बालबालिकालाई यसको असरले निमोनिया, मुटुको समस्यालगायतका अन्य जोखिम निम्त्याउन सक्छ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार