• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
रंगमञ्च

व्यवस्थाले उब्जाएको छटपटी  ‘ऐया ! माया’

काठमाडौं, फ्रेसन्युज संवाददाता । नाटक ‘ऐया ! माया’ मा अभिव्यक्तिका मुख्य माध्यम शरीरका हाउभाउ, भाषा र सङ्गीतको राम्रो संयोजन गर्ने प्रयास गरिएको छ । नाटकले मानिसले बिर्सिरहेका कुरालाई सम्झाउने प्रयत्न गरेको छ । नाटकमा समाजमा चलिरहेको कामकाज, त्यसको परिस्थिति र व्यवस्थाले उब्जाएको मानसिक तनाव र छटपटीलाई प्रस्तुत गरिएको छ । समाज, राजनीति, व्यवस्था, मानवीय अभ्यासलाई शब्दभन्दा शरीरको हाउभाउ र सङ्गीतले बुझाउने कोसिस गरिएको छ । नाटकभित्र कथा त छ तर त्यो कथा एउटै धारमा बग्ने खालेको भने देखिँदैन । 

 

धेरै पात्र, उनीहरूको हाउभाउसहितको संवाद, साजसज्जा र कलाकारले बोलीको माध्यमबाट गरेको अभिनय यो नाटकभित्र खासै देखिँदैन तर नाटकभित्र कलाकारले गरेको भावरहित अभिनय भने अवश्य नै विशेष लाग्छ । नाटकभित्र गरिने संवाद बनिबनाउ लाग्दैन । दर्शकलाई यो आफ्नै कथा हो कि जस्तो लाग्छ । मञ्चको आवरण, नाटकमा हल्का दिइएको प्रप्स र यसको संवादले अवश्य नै धेरै अर्थ राख्छ । धेरै कुरामा अल्झिएर मानसिक तनावमा रहेको पात्रले नाटकभित्र समाज र त्यहाँ चलिरहेको व्यवस्थालाई इङ्गित गर्ने काम गर्छ । 

 

माया, सुख, सुविधा, शिक्षा, न्याय यी सबै कुरा मानिसलाई चाहिएको छ । यिनै कुराभित्र उसले आफ्नो खुसी व्याप्त गरिरहेको छ । मानिस आफू मात्र यसमा होमिन चाहँदैन, सत्ताको र उसको शक्तिका लागि अरूलाई पनि यसमा सामेल गराउन चाहन्छ । उसलाई यो यात्रामा केही सजिला र केही अप्ठ्यारा कुराको पनि सामना गर्नुपर्ने हुन्छ । आफ्नो परिवार भएर पनि ऊ आफूलाई एक्लो भएको महसुस गर्छ । यिनै कुरामा नाटकभित्र प्रश्न गरिएका छन् ।

 

मानिसको अभिव्यक्ति उसको सङ्गीत मात्र होइन, उसको सिङ्गो शरीर अभिव्यक्तिको सशक्त माध्यम हो भन्ने कुरा नाटकमा प्रस्ट्याउन खोजिएको छ । नाटकमा थोरै पात्र छन् तर उनीहरूको अभिनयले सिङ्गो मानव समाजको भार बोकिरहेको महसुस हुन्छ । नाटकको सङ्गीतले भरपूर आनन्द दिन्छ । खोला, डोरी तथा किताबलाई दिइएको रातो रङले मानिसभित्र झल्किने आवेगलाई इङ्गित गर्छ । मञ्चभित्र नाटकका लागि प्रयोग गरिएका मेचको उत्तिकै अर्थ छन् । नाटकले कम संवादबाट पनि धेरै कुरा दर्शाउन सकिन्छ भन्ने भाव प्रकट गर्छ । 

 

निर्देशक सुदाम सीकेले नाटकभित्र फरकफरक स्वाद पस्कन खोजेका छन् । धेरै ठाउँमा उनी सफल भएका छन् भने कहीँ उनको असफलता पनि झल्किछन् । कलाकारको अभिनय खासै नयाँ होइन । सबैले आफ्नो अभिनय वजनदार देखाउने प्रयत्न गरेका छन् । कथा घेराको प्रस्तुति रहेको नाटकमा अकाश नेपाली, आयान खड्का, पवित्र राई, सरिता कठायत, शिशिर शिवाकोटी र मुक्तिको अभिनय छ । शिवराज जोशी र शर्मिला गुरुङले नाटकमा सङ्गीत भर्ने काम गरेका छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार