• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
डबली

दैवको लीला

चाउरीए छाला, हात खुट्टा डुँडा, जीर्ण कुप्रो भो ढाड,
लोत्रिए गाला, हालत लुला लंगडा, बुढो थोत्रो यो हाड,
शिथिल ताकत, तन मन थोत्रा, गयो प्यारो यौवन,
सकिए चाहना, अङ्गभङ्ग झुत्रा, आयो बृद्ध जीवन,
सारा प्राणीका भाग्यमा लेखी, सबको जाने त्यो दिन,
नसोध कसैलाई, नसोच केही, आखिर जाने हो किन,
दैवको लीला यो, उनैले खटाए, उनैले नै पठाए,  
जाने बेला भयो, उनैले बोलाइ, टपक्क नै उठाए

 

रोगी शरीरको बास भो अस्पताल, अमर आयु खोज्दै,
अङ्गभङ्ग फेर्न, शरीरको चिरफार, अन्तिम सास कोच्दै,
पायो जीवन, माताकै गर्भमा, घाटमा अन्तिम बिदाइ,
भरियो बहीखाता, बिदा भो आज, अतिथि सरी बसाइ,
बोलाए आर्यघाट, यमराजले उता, आयो काल सुटुक्क,
सकिए भेटघाट, कामकाज यता, गयो आज खुरूक्क,
दैवको लीला यो, उनैले खटाए, उनैले नै पठाए,  
जाने बेला भयो, उनैले बोलाइ, टपक्क नै उठाए 

 

हरघडी मरिमरि, तन खर्चियो, धन कमाउन भनि,
खर्चियो सारा धन, किन्न सकेन, मुठ्ठीभर सास पनि,
जाने बेला भो, धन जिम्मा लगायो, लेखापाल झैं बनि,
जान्न सकेन, अन्तिम घडीसम्म, यो नित्य सत्य पनि,
अक्षय बटबृक्ष झैं हैन जीवन, सन्तोष लिई बिताउं,
सुखदुख बाँडीचुँडी आजीवन, सबैलाई आफ्नै बनाउं,
एकदिन सारा छोडी निदाउनु छ, सत्कर्म गरी जाउं,
तिथिमिति पुगेसी बिदा लिनु छ, ज्ञानवान बनी जाउं,
दैवकै लीला हो, उनैले खटाए, उनैले नै पठाए,  
जाने बेला भयो, उनैले बोलाइ, टपक्क नै उठाए,
जाने बेला भयो, उनैले बोलाइ, टपक्क नै उठाए  
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार