• मंगलबार १-४-२०८१/Tuesday 04-16-2024
बिश्व

'श्रीमान्‌ले गरेको धूमपानले मलाई क्यान्सर भयो'

NALINI SATYANARAYAN

काठमाडौं ।  "म नाकबाट श्वास फेर्न सक्दिनँ। घाँटीमा बनाइएको प्वालबाट श्वास फेर्छु," ७५ वर्षकी हजुरआमा नलिनी सत्यानारायन भन्छिन्। नलिनी धूमपान गर्दिनन् तर आफ्नो ३३ वर्षको वैवाहिक जीवनमा उनी निरन्तर अप्रत्यक्ष धूमपानको सिकार भइरहिन्।

 

आफ्नो श्रीमानको मृत्यु भएको पाँच वर्षपछि सन् २०१० मा उनलाई पनि क्यान्सर भएको पुष्टि भयो। भारतको हैदरावादमा बस्ने उनले भनिन्: "मेरा श्रीमान् निरन्तर धूमपान गरिरहन्थे। मलाई थाहा थिएन कि त्यसले मलाई पनि असर गर्छ र यति नराम्रोसँग असर गर्छ।"

 

"म उनको स्वास्थ्यको बारेमा सुर्ता गर्थेँ र उनलाई धूमपान त्याग्न भन्थेँ। तर मलाई लाग्दैन त्यसले उनको बानीमा सुधार ल्यायो।" विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले सुर्तीले प्रत्येक वर्ष ८० लाख मानिसको ज्यान लिने जनाएको छ। त्यसमध्ये १२ लाख प्रत्यक्ष रुपमा धूमपान गर्दैनन्।

 

अझ ठूलो सङ्ख्यामा मानिसहरूलाई सुर्तीकै कारण विभिन्न रोग लाग्ने गर्छ। आफ्नी नातिनी जननीलाई रमाइलो कथा सुनाइरहेको बेला नलिनीलाई आफ्नो आवाज कमजोर हुन थालेको महसुस भयो।

 

त्यसको छोटो समयमै उनले स्पष्टसँग बोल्न सकिनन् र श्वास फेर्न पनि गाह्रो भयो। उनलाई छातीको क्यान्सर भएको पहिचान भयो। चिकित्सकहरूले उनको रुद्रघण्टी र थाइरोइड हटाइदिए। "मैले मेरो बोल्ने क्षमता गुमाए। त्यो एकदमै पीडादायी थियो। त्यसपछि चिकित्सकहरूले मलाई मेरो मूल आवाज कहिल्यै पनि फर्किँदैन भनेका थिए।" अहिले जननी १५ वर्षकी भइन्।

 

उनले 'निरन्तर बोलिरहने आफ्नी हजुरआमालाई' अकस्मात् के भयो भन्ने सम्झेकी छन्। जननी भन्छिन्, "जब उहाँको बिरामी पत्ता लाग्यो, उहाँ लामो समय घरमा रहनुभएन्। जब फर्कनु भयो म लगभग चार वर्षकी थिए।" "उहाँको पेटमा ट्युबहरू लगाइएको थियो। जताततै ट्युबहरू थिए। हामीले हाम्रो घर निरन्तर सफा गर्नुपर्थ्यो र हामीसँगै एक जना नर्स पनि बसिरहेकी थिइन्।"

 

हैदरावादमा नलिनीले कानुनी समाधानबारे सोचिरहेकी छैनन्। उनले घाँटीमा बनाइएको प्वालबाट श्वास फेरिरहेकी छन्। उनी सहजै पचाउन सकिने खानेकुराहरू मात्रै खाने गर्छिन्।तर उनले स्वतन्त्रतापूर्वक बाँच्न सिकेकी छन्। आफूले क्यान्सरलाई पराजित गरेको उनी बताउँछिन्। बीबीसी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार