• शनिबार १-८-२०८१/Saturday 04-20-2024
अर्थ

बजेट चुनावी होइन, अर्थतन्त्रको विकास गर्ने सोच मात्र हो : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने सोचका साथ बजेट आएको बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री शर्माले अन्तर्राष्ट्रिय रुपमा विकास भएको परिस्थितिलाई पनि ख्याल गरेर कृषि क्षेत्रलाई विशेष रुपमा ध्यान दिइएको तथा आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने सोचका साथ बजेट आएको बताए।

 

उनले रोजगारीको विस्तार, आर्थिक वृद्धि, निर्यात विस्तार गर्नेतर्फमा ध्यान दिइएको तथा जनताको हातमुख जोड्ने विषयलाई बजेटमार्फत प्राथमिकतामा राखिएको जानकारी दिए ।बजेटले देशलाई समृद्ध बनाउने र नेपाली जनताको विकासको चाहनालाई पनि सम्बोधन गर्ने दावी गर्नुभयो । त्यस्तै अर्थमन्त्रीले सिमेन्ट र कर्कटपाता निकासी गरेर व्यापारघाटा घटाउने सरकारको सोच राखिएको बताए ।

 

उनले हरेक क्षेत्रमा पहिलो पटक लक्ष्य नै निर्धारण गर्दै बजेट तयार पारिएकाले आठ प्रतिशतको आर्थिक वृद्धि हुने विश्वास व्यक्त गरे । अर्थतन्त्रमा निजी क्षेत्रको ७० प्रतिशत बढी योगदान रहेको भन्दै त्यसलाई उत्पादनका लागि उत्साहित बनाउने गरी बजेटको प्रबन्ध बताए।

 

अर्थमन्त्री शर्माले पूर्वाधार करको रुपमा लगाइएको कर घटाएर इन्धनको मूल्य घटाउने योजनामा सरकार रहेको र त्यसका लागि सहमति दिने चरणमा रहेको बताए । सरकारको समेत स्वामित्व रहने गरी बन्द भएका उद्योग सञ्चालन गर्ने र निजी क्षेत्रको सहभागिता गराउने सोच सरकारको रहेको उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार