• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
डबली

मदिराको माद

शराबको मादमा लट्ठिएका, नशालु ती ओठ
सोमरसको उन्मादमा रंगिएका, रंगिन ती रात
मधुशालाको आंगनमा लठ्ठिएर, बेहोस छन संधैभरि
मदिरालयको नशामै झुमेर, मूर्च्छित छन कठैबरी
भोलाभालाको गोरेटोमा
मदिरालयको भो हालाबाला ।

 

प्यालाकै साथमा रमाएका छन, मस्त मादक ती हात
आंसु–हांसो–दुख–बेथाका, संगम भए प्यालाको मात
सुखी–सखा–दुखी–वैरीका, मिलनचोक भए मदालस रात
छ प्यारो सुरा, साथी अप्सरा, सारथी भो नशाको मात
टोलटोलका जीवनमा
बिकृत रंग छर्ने हकवाला भो मधुशाला ।

 

नश्वर सन्ताप भुल्न, प्याला नै खोज्छन घरीघरी
पलभरको आनन्द बटुल्न, मदहोस छन कठैबरी
कतै त हो बहाना, मस्ती र मातमा पिउने
कि त हो चाहना, नशा त मातमा जिउने
छ नशा मृत त्यो, तर छोड्दैन पिउन कठै
छ साथैमा अमृत पो , तर पीउँदैन झट्ट बरै
पियक्कडको प्यालाको भो बोलवाला
गल्लीगल्लीमा मदिरालयको भो हालाबाला
बिकृत रंग छर्ने हकवाला भो मधुशाला ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार