• शनिबार १-८-२०८१/Saturday 04-20-2024
पत्रपत्रिका

‘वालेन जितेर एक पटक गाउँ आऊ’

जलेश्वर । ‘‘वालेन्द्र वौवा आहाँ एक वेर गाउँ आऊ हम सारा गाउँवासी आहाके देखल भेटलाबाट देख रहल छि।’’ (बालेन्द्र बाबु हजुर एक पटक आफ्नो गाउँ आउनु, हामी सारा गाउँवासी हजुरलाई हेर्न भेटन बाटो पर्खेर बसेका छौं।) यो भनाइ बालेन्द्र साहको पुख्र्यौली घरमा काम गर्ने महोत्तरी जिल्लाको एकडारा गाउँपालिका– २ घर भएकी बिनिता देवीको हो।

 

देशको सङ्घीय राजधानी काठमाडौं महानगरको प्रमुखमा जित सुनिश्चित भइसकेको खबर सुनेर खुसीले गदगद भएकी विनिताले वालेनलाई ३/४ वर्षकै उमेरदेखि देख्नुभएको हो। तर, अहिले फेरि वालेनलाई भेट्ने मन भएको उहाँको भनाइ छ। 

 

वालेनको बाल्यकाल सम्झँदै उहाँले भन्नुभयो, ‘‘बच्चे मे देखिने रहियै आव त वडाका भगेल होतै आब फेर एक वेर हुनका अपने गाउँठाउँमे देखके भेटके मन होइय (बाल्यकालमै देखका थियौं अब त उहाँ ठूलो भइसक्नु भयो होला। अब फेरि एक पटक उहाँलाई आफ्नै गाउँ ठाउँमा हेर्ने इच्छा छ।’’ 

 

काठमाडौं जितेर गाउँ आएपछि सबै मिलेर खुशी साट्नुपर्ने उहाँको भनाइ छ। विनिताले थप्नुभयो, ‘‘बालेन हजुर जितेर एक पटक गाउँ आउनुहोस्, हामी सारा गाउँवासीलाई हजुरसँग मिलेर जितको खुसी साटासाट गर्नुछ।’’

 

बालेनकै एकडारा-२ स्थित घर छेवमा रहेको आँप बगैंचामा घाँस काट्न बसेकी अवस्था भेटिएकी सोही ठाउँकी सकिना खातुनले वालेन जित्ने खबरले असाध्यै खुशी लागेको बताउनुभयो।काठमाडौं महानगरपालिकको प्रमुख पदमा वालेन जित्ने निश्चित भएको खुशियाली उहाँको अनुहारबाटै झल्की रहेको थियो।  

 

बालेनको पुख्र्याैली घर पछाडि एउटा पोखरी छ। पोखरीको डिलमा श्री १०८ विश्वनाथ मन्दिर उल्लेख रहेको महादेव मन्दिर छ। सोही मन्दिरका पुजारी रामचन्द्र तिवारीले वालेन जित्न लागेको खबरले गाउँमा मात्र होइन जिल्लामै एउटा तरङ ल्याइदिएको बताउनुभयो। 

 

वालेन गाउँमा कमै आउने जाने गर्थे तर उहाँका बुवा डा. रामनारायण साह गाउँका चर्चित व्यक्ति रहेको मन्दिरका पुजारी तिवारीले सुनाउनुहुन्छ।  

 

मन्दिर देखाउँदै उहाँले भन्नुभयो, यो मन्दिर पनि उहाँकै छ, उहाँले नै १० कठा खेत जोत खन्न गर्न दिएर पूजा पाठ गर्ने खर्चसमेत जुटाइ दिनुभएको छ। १२ वर्षदेखि उहाँहरुकै सहयोगमा दैनिक भगवान्को सेवा गर्न पाएको पुजारी तिवारीले सुनाउनुभयो। 

 

काठमाडौं महानगरको मतगणना चलिरहँदा महोत्तरीको एकडारा गाउँपालिकावासीमा खुसीको माहोल हुनु स्वाभाविक भएको एकडारा गाउँपालिका —१ घर भएका नरेश तिवारीको भनाइ छ।महेशकुमार दास/ गोरखापत्र 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार