• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
पत्रपत्रिका

लोकप्रिय बजेटको तयारीमा सरकार

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको चुनावी सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि लोकप्रिय बजेट ल्याउने तयारी गरेको छ । मंसिर महिनामा हुने प्रदेश र संघको निर्वाचनलाई लक्षित गरेर सरकारले केही लोकप्रिय कार्यक्रम अगाडि बढाउने भएको हो ।


त्यसैअनुरुप सरकारले मंगलबार नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्मा नीति तथा कार्यक्रम सार्वजनिक गर्नेछिन् । स्रोतका अुसार आगामी आर्थिक वर्षदेखि सरकारले ६५ वर्षमा नै वृद्ध भत्ता वितरण गर्ने तयारी गरेको छ ।

 

यसअघि ७० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई दिँदै आएको भत्ता ६५ वर्षमा नै प्रदान गर्ने गरी अर्थ मन्त्रालयले बजेट तयार पारिरहेको स्रोतको दाबी छ । तर, यसरी ५ वर्ष अगाडि भत्ता वितरण गर्दा सरकारको चालू खर्चमा भने दबाब सिर्जना हुने देखिएको छ । केन्द्रीय तथ्यांक विभागको प्रारम्भिक नतिजाअनुसार ६५ देखि ७० वर्ष उमेर समूहको संख्या ३ देखि ५ लाख छ ।

 


सरकारले ५ वर्ष अगाडि भत्ता वितरण गर्दा त्यसले सरकारको ढुकुटीमा करिब १२ अर्ब बोझ थप्ने अर्थ मन्त्रालय स्रोतले जनाएको छ । सरकारले चालू वर्षमा पनि विभिन्न लोकप्रिय कार्यक्रम ल्याएको थियो । तर, अधिकांश कार्यक्रम भने कार्यान्वयन नभएको तथ्यांकले देखाएको छ ।

 


त्यस्तै सरकारले आगामी आर्थिक वर्षको बजेटमा निजामति कर्मचारीको तलब–भत्ता समेत वृद्धि गर्ने भएको छ । चालू वर्षमा समेत सरकारले कर्मचारीको तलबमा २ हजार रुपैयाँले वृद्धि गरेको थियो । चालू आर्थिक वर्षमा भएको मूल्यवृद्धिलाई ध्यानमा राखेर सरकारले आगामी आर्थिक वर्षमा कर्मचारीको तलब बढाउन लागेको स्रोतले बताएको छ । हरेक दुई वर्षमा कर्मचारीको तलब पुनरावलोकन गर्ने सरकारी नीति भए पनि लगातार यस वर्ष पनि सरकारले तलब बढाउन लागेको हो । यसबाट सरकारको चालू खर्चसमेत बढ्ने देखिएको छ ।कारोबार

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार