मेरो चालिस बर्ष कसले खोस्यो
एक्कासि धरपकड गरि, ज्यानमुद्दाको अभियोग थोपरे
कैदीहरूको थुनाघरमा ल्याई, हत्याराको आरोपमा थचारे
खाँदे चार दीवारीभित्र, बाँधे हात खुट्टामा साङ्लो
कोचे कालकोठरीभित्र, भोगें चरम यातना सास्ती
चालिस बर्ष जेलखानाले, अपराधी कैदी बनायो मलाई
कालो कोटको बन्द आंखाले, सेतो पोशाकमा सजायो मलाई
कस्तो यो सन्जोग, चालीस नम्बरकै बिल्ला भिडायो मलाई
न्यायालयमा बल्लतल्ल पालो पायो आज, कुरेर चालिस बर्ष
न्यायमूर्तिहरू बल्ल निर्णय सुनाउंछन, पल्टाउंदै फिरिस्त ।
कैदमुक्त हुन चालिस बर्ष नै सही, भलै निसाफ त भो
मेरो पुकार छ, कोही नबनोस कैदी यहां, निर्दोष छ जो
यो चिसो छिँडी – भोक, निन्द्रा, शान्तिको मरनघाट हो
बर्षौंपछि आज यो कैदखानामा, मेरो अन्तिम रात हो
जांदैछु भोलिदेखी आफ्नो बसाइँतिर, बन्दै अजनबी
हुनेछन गल्ली, बाटो, घर, शहर, मान्छे, सब परचक्री
अनि मेटिनेछन ’कैदी दुर्गा’ अगाडीको त्यो शब्द ’कैदी’।
सोध्छु आफैंलाई, कसले खोस्यो मेरो यो शान्ति र हर्ष
किन खोस्यो कारागारले मेरो यो चालिस बर्ष
म जस्तै कत्ति निरपराधको यहां जीवन हरण नै भएको छ
म स्वयं नाजवाफ छु, यहां यो सब के कारणले भएको छ
अनि आफैले आफैलाई भन्छु, सम्झाउँछु
कि त यो कर्मफल हो, कि त प्रारब्ध हो
जगतपिता भगवान कृष्णकै जन्म त कैदखानामा भो
अनि म पनि उनकै लीलामय जगतको एक पात्र न हो
सब उन्कै लीला मात्र न हो, सब उनकै लीला मात्र त हो ।
प्रतिकृया दिनुहोस