• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
पत्रपत्रिका

स्वास्थ्यकर्मी संक्रमित हुने दर बढेसँगै सेवा प्रभावित

काठमाडौं । पछिल्लो समय कोरोना संक्रमणको दर उच्च गतिमा बढेसँगै अस्पतालका स्वास्थ्यकर्मीहरू संक्रमित हुने दर पनि दैनिक बढिरहेको छ । विशेषगरी काठमाडौं, ललितपुर र भक्तपुर क्षेत्रमा रहेका अस्पतालमा स्वास्थ्यकर्मी संक्रमित हुने दर बढेको पाइएको छ ।

 

उपत्यकाका तीन जिल्लामा हालसम्म ३ सय ५० भन्दा बढी स्वास्थ्यकर्मी संक्रमण देखिएको छ भने केही आइसोलेसनमा रहेका छन् । स्वास्थ्यकर्मी धमाधम संक्रमित हुन थालेपछि अस्पतालले स्वास्थ्य सेवामा संकुचन ल्याउने तयारीमा छन् । हालसम्म देशभर १ सय ३० बढी चिकित्सक र २ सयभन्दा बढी नर्सहरू संक्रमित भइसकेका छन् ।

 

अबको केही दिनमै चिकित्सकमा संक्रमण दर बढ्न सक्ने देखिएको कोभिड–१९ विज्ञ तथा भाइरोलोजिस्ट डा. रमेशकुमार आचार्यले बताए । उनका अनुसार अब सरकारले अस्पतालमा चिकित्सक र नर्सलाई सिफ्टअनुसार काम लगाउनुपर्ने बताए । ‘चिकित्सक र नर्सलाई जगेडामा राखेर पनि काम गर्नुपर्नेहुन्छ, डा. आचार्यले भने, अस्पतालका सबै चिकित्सकको पीसीआर टेस्ट गरिनुपर्छ ।’

 

अहिलेको यथास्थितिमा संक्रमण बढे अबको एक÷दुई हप्तामा अस्पतालमा उपचार गराउने चिकित्सक अभाव हुन सक्ने स्थिति आउने डा. आचार्यको भनाइ छ । हाल वीर अस्पतालमा १४ डाक्टरसहित ४८ स्वास्थ्यकर्मी संक्रमित भएका छन् । अस्पतालको ल्याब टेक्निसियन संक्रमित भएपछि ल्याबको काम प्रभावित बनेको छ । यस्तै, ललितपुरमा रहेको पाटन अस्पतालमा ३० जना नर्स र २० डाक्टर होम आइसोलेसनमा छन् ।

 

बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल पनि तीन डाक्टरसहित १४ स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका ६ स्वास्थ्यकर्मी संक्रमित भएका छन् । त्यस्तै, स्त्री तथा प्रसूति रोग केन्द्र थापाथलीमा २८ जना चिकित्सक २० जना नर्ससहित ६३ जना संक्रमित भएका छन् । सो अस्पतालमा प्रसूतिसम्बन्धी काम प्रभावित भएको छ । त्यस्तै, मनमोहन कार्डडियोलोजीमा सात जना चिकित्सकसहित ३५ जना संक्रमित छन् ।

 

यस्तै, कान्ति बाल अस्पतालमा १० जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् । राष्ट्रिय ट्रमा सेन्टरमा एक दर्जन बढी स्वास्थ्यकर्मी र पाँच जना ल्याब टेक्निसियन संक्रमित भएका छन् ।नेपाल प्रहरी अस्पतालमा दुई जना चिकित्सक र १२ जना नर्स संक्रमित भएका छन् । संक्रमण हुने दर दैनिक बढ्दो क्रममा रहेको छ ।निराजन पौडेल /राजधानी 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार