सङ्क्रान्ति
समय
एउटा प्रवाह
न आदि, न अन्त्य
अविभाजित
अपराजित
असीमित
त्यो निरन्तरता !
म बाँचेको समय
हिजो बुबाले औंला समातेर
हिँडाएको समय
त्योभन्दा, अझ त्योभन्दा अगाडि
यस प्रवाहमा चोपलिएका
मान्छेहरूको कल्पना
मुटु र गिदीको संयोजनले
खण्डै खण्डका पत्रहरूमा
बेरिएको त्यो समय
दिन, रात
महिना, वर्ष बनेर
बर्षौ वर्षपछि
मलाई छुन आएको छ
म यसको ताल र सुरमा
आफ्नो भाखा खोजिरहेको छु
पछि मेरो गीतले
केही बेर मलाई खोज्ने छ
म हराएको प्रवाह
अलिक पर पुगेपछि
त्यो पनि रोकिने छ ।
यस्तै प्रवाह-स्थिति
मेरो बुबाबाट ममा
र, मबाट मेरा पुत्रमा
सर्दै जाने स्थिति
प्रत्येक महिनाको पहिलो दिन
यस्तै क्रान्ति वृत्तमा
घुमिरहेको त्यो दिन
त्यो सड्क्रान्तिमा
मेरी सहयात्री
नारायणको पूजा गर्छिन्
पुर्खाको त्यो निरन्तरता राख्न
जहाँ म रहिरहने छैन
एउटा अर्को गमन
शुरु भइसक्नेछ !!
प्रतिकृया दिनुहोस