• सोमबार २-२-२०७९/Monday 05-16-2022
स्वास्थ्य

फेरी कोभिड आतंक !

सन् १९१८ को स्पेनिस फ्लुले विश्वभरी करिव ५० करोड मानिसहरूलाई थला पार्नुका साथै झण्डै ५ करोड मानिसहरूको ज्यान लिएको थियो। मर्नेहरू मध्ये अधिकांश अमेरिकीहरू थिए। नाम स्पेनिस फ्लु भएपनि यसको उद्गमस्थल अमेरिका नै थियो। तर प्रथम विश्वयुद्धको बेला परेकोले अमेरिकी सेनाहरूका युद्धपोतहरू जहाँ जहाँ पुगे त्यहाँ पनि यो महामारी फैलियो । त्यतिबेला मानिसहरूको ओहोर दोहोर अन्तर–महादेशीय स्तरमा त्यति धेरै नहुने भएको भएता पनि विश्वभरका ब्रिटिस साम्राज्यमा काम गर्ने अङ्ग्रेज र उनका सेना तथा अन्य साम्राज्यवादी मुलुकहरूका सेना तथा अन्य अधिकारीहरूसँगै स्पेनिस फ्लुले विश्वभर पुग्ने सौभाग्य पायो। फलस्वरुप यो महामारी भारत र नेपालसम्म पनि आइपुगेको थियो । त्यतिबेला हालको जस्तो रोगसँग लड्न सक्ने खोपको समेत विकास भइसकेको थिएन। अरु त अरु, त्यतिबेलाको विश्वको कुनै पनि मुलुकमा स्वास्थ्य मन्त्रालय नै थिएनन् र त्यतिबेला सम्म जनस्वास्थ्य त्यति विधि चासोको विषय नै थिएन । यस्ता मन्त्रालय र जनस्वास्थ्यका निकायहरू खोल्नु पर्ने आवश्यकताको पनि स्पेनिस फ्लु पछि नै महसुस गरिएको हो । विश्वमा महामारीको इतिहास हजारौँ वर्ष अघि देखि या भन्नै पर्दा मानव र सबै जीवहरूको उत्पत्तिदेखि कै पुरानो हो भने ती सबै महामारीहरूबाट जोगिन घरबाट बाहिर कम निस्कने र नाक, मुख छोपेर हिँड्ने र केही जडिबुटी खाने र धामी–झाँक्रीको सहारा लिने वाहेकको अरू उपाय अवलम्बन हुन सकेका थिएन ।

 

विज्ञानले फड्को मार्न थालेको पनि धेरै भएको छैन। अठारौँ शताव्दितिर देखि विभिन्न किसिमका आविश्कारहरूले गति लिए पश्चात विश्वले नयाँ युगमा प्रवेश गर्न थालेको थियो भने चिकित्सा क्षेत्रमा नै ठूलो फड्को मार्न थालेको चाहिँ उन्नाइसौँ शताव्दिको मध्यतिर देखि मात्र हो । स्पेनिस फ्लु भन्दा पहिले यस्तै समयतिर देखि मास्क र स्यानिटाइजरहरूको अवधारणा आउन थालेको भएपनि स्पेनिस फ्लुकै कारण जनमानसमा र त्यतिबेलाका सरकारहरूमा जनस्वास्थ्यको विषयमा गाम्भिर्यता आउन थालेको हो । त्यतिबेला आजको जस्तो यातायातको र त्यसमा पनि खासगरी नागरिक उड्डयनको विकास नभएकोले मानिसहरु टाढा टाढासम्मको ओहोर दोहोर त्यति गर्दैनथे र जे जति मानिसहरूलाई टाढा टाढासम्म यात्रा गर्नु पर्दथ्यो, उनीहरू पानीजहाजबाट लामो र पट्यार लाग्दो यात्रा गर्दथे । त्यसैले पनि छब्बिस महिनासम्म चार वटा लहरका साथ चलेको विश्वको त्यतिबेलाको सबैभन्दा घातक महामारी आखिर विस्तारै पातलिँदै गएर सन् १९२० को मध्यतिर विश्वबाट हरायो पनि ।

 

हालको कोभिड–१९ को महामारी त्यसपछिको सबैभन्दा घातक र ठूलो महामारी हो। हालसम्म यो महामारीको चपेटामा विश्वभर ३१ करोड ५४ लाख मानिस परिसकेका छन् भने ५५ लाखले ज्यान पनि गुमाइसकेका छन् । यसको पनि विकसित मुलुकहरुमा तीनवटा लहरहरू आएर हाल चौथो लहर चलिरहेको छ भने हाम्रो जस्तो मुलुकमा भने तेश्रो लहरको शुरुवात हुन थालेका छ। स्पेनिस फ्लुको चौथो संस्करण जस्तै हालको ओमिक्रोन भेरिएन्ट पनि केही कमजोर किसिमको मानिए पनि यसको संक्रमण फैलाउन सक्ने शक्ति भने अन्य भेरिएन्टहरूको भन्दा धेरै गुणा बढी छ । भारतमा डेल्टा भेरिएन्ट संक्रमणको शिखरमा पुग्दा दिनमा ४ लाख जनामा संक्रमण हुने गरेकोमा यो भेरिएन्टले आगामी केही हप्ता सम्ममा दिनमा १४ लाखसम्म संक्रमित पैदा गर्न सक्ने आंकडा चिकित्सकहरूको छ। त्यस्तै अबको एकाध हप्तामा नै आधा युरोप संक्रमित हुन सक्ने कुराको पनि विश्व स्वास्थ्य संगठनले खुलासा गरेको छ। तर यो भेरिएन्टको हालसम्मको अध्ययनले अस्पताल जानु पर्ने बिरामी र ज्यानै जाने बिरामीको संख्या भने नगण्य नै देखिएको छ। त्यसो भन्दैमा यसको रोकथाम र सामना गर्ने तयारीमा कमी गर्नु भनेको ठूलो भूल हुन जान सक्छ । 

 

कोभिड–१९ को महामारी शुरु भएको पनि करिव २५ महिना भइसक्यो। स्पेनिस फ्लुको समयमा भन्दा आज विश्वमा चिकित्सा विज्ञानले निकै धेरै प्रगति गरिसकेको छ। कोभिड–१९ को खोप पनि यो महामारी शुरु भएको एक वर्षभित्र नै अमेरिका, वेलायत, रूस, चीन र भारत जस्ता मुलुकहरूले तयार गरेर करोडौँ मानिसलाई खोप लगाउँदै आएका पनि छन्। त्यस्तै अन्य औषधीहरू र प्रभावकारी मास्क, स्यानीटाइजर तथा जीवन बचाउने उपकरणहरू तथा दक्ष चिकित्साकर्मी जनशक्ति पनि आजको विश्वमा उपलब्ध छ। तैपनि यो महामारीको रोकथाम हुन नसक्नुको कारण के होला त ?

 

पहिलो कारण त आज विश्व एक निकै सानो समुदाय भइसकेको छ । आजको विश्वमा सबै ठाउँका मानिस अन्य सबै ठाउँमा बसोबास गर्ने, काम गर्ने तथा घुमफिर गर्ने भएका छन्। करिव ६० लाख नेपाली विश्वका विभिन्न मुलुकहरूमा कामको सिलसिलामा पुगेका छन् भने अन्य देशहरूको तथ्याड्ड्कले पनि उनीहरूका नागरिकहरू यसै गरी ठूलो संख्यामा विभिन्न ठाउँमा भएको नै देखाउँछ। विश्वभर यस्ता कामको सिलसिलामा अन्य ठाउँमा बसोबास गर्नुपर्ने तथा यात्रा गर्नुपर्ने मानिसहरू, व्यापारको सिलसिलामा यात्रा गर्नेहरू तथा पर्यटकहरू नै पनि करोडौँको संख्यामा दिनहुँ विश्वका विभिन्न ठाउँमा यात्रा गरिरहेका हुन्छन् । त्यसमाथि निकै छिटो र सुरक्षित यातायातको माध्यमको रूपमा व्यावसायिक जेट विमानहरूले लामा लामा दुरीहरू पार गरेर यात्रुहरूलाई निकै ठूलो र सहज सेवा प्रदान गरिरहेका छन् । यस्तो अवस्थामा हाम्रो आँखाले त के लर्तरो माइक्रोस्कोपले समेत देख्न नभ्याउने भाइरस र व्याक्टेरिया रूपी जिवाणुहरूलाई मानव जातीको नाक, मुख, हात र अन्य बाटो गरेर विश्वभर यात्रा गर्दै महामारी फैलाउन निकै सजिलो भएको छ।

 

दोश्रो कुरा, विश्वमा कुनै पनि यस्ता ठाउँ रहेनछन् जहाँका बासिन्दाहरूलाई आफ्नो ज्यान भन्दा पनि प्यारा त्यहाँ हुने धार्मिक भेला, चाडबाड, मेला, जात्रा र खेलकुद आदि नहोउन्। यस्ता अवसरमा उनिहरू संक्रमणलाई वेवास्ता गरेर भएपनि यी सबै पर्वहरू निकै जोड तोडका साथ मनाएर नै छोड्दछन् । चाहे त्यो क्रिसमस होस्, चाहे नयाँ साल होस्, या ईद, दशैँ, तिहार, कुम्भको मेला, अक्टोवर फेस्ट, फुटबल या क्रिकेट र बेसबल म्याच होस् या छठ, माघी या बिस्केट जात्रा, घोडे जात्रा र मछिन्द्रनाथ तथा कृष्ण, गणेश र कुमारीको रथयात्रा नै किन नहोउन्, मानिसहरू भिडभाडका साथ यी सबै अवसरहरूलाई मनाउन चुक्दैनन्।

 

तेश्रो कुरा, वैज्ञानिकहरूको त्यति धेरै मेहनत र ठूलो धनराशीको कारण तयार भएका खोपहरू लगाउन नमान्ने मानिसहरू पनि विश्वमा करोडौँको संख्यामा रहेछन्। खोप नलगाउनु र मास्क नलगाउनु पनि आफ्नो अधिकारको विषय भएको कुराको बखान गरेर हिँड्ने यी जनताहरूको पक्षमा बोल्ने अधिकारकर्मीहरू, वकिलहरू र राजनीतिक नेता तथा पार्टीहरू पनि प्रसस्त हुँदा रहेछन् । एकाध जनाको अटेरीपनाले समुदायमा नै संक्रमण फैलिन सक्ने र यसबाट करोडौँ मानिसको ज्यान खतरामा पर्न सक्ने कुरा पनि मानव अधिकार भित्र पारेर लाभ लिने अधिकारकर्मीहरू देख्दा प्रजातन्त्र जस्तो आजको विश्वको सर्वोत्तम मानिएको व्यवस्थामा पनि निकै धेरै कमजोरी भएको कुरा सावित हुन जान्छ। बरु आज विकसित मुलुकहरू र भारतमा जस्तो राम्रो प्रजातन्त्र नभएका धेरै मुलुकहरूमा कडाईका साथ संक्रमणको खतरा नियन्त्रण भित्र राखिएको तथ्य पाइन्छ ।

 

चौथौं, अति कम विकसित, विकासशील वा विकसित जुनै पनि मुलुकका राजनैतिक पार्टी र अधिकांश नेताहरूलाई मुलुकमा जति नै विपद्को अवस्था छाएपनि भाँडभैलो गर्न छुट हुँदो रहेछ। गत वर्षको अमेरिकी चुनावले हामीलाई यही कुराको उदाहरण दियो भने युरोप, अफ्रिका र भारतमा पनि हालका दिनहरूमा भइरहेका चुनावी भेला र राजनीतिक सरगर्मीहरूले पनि यस्तै सन्देश दिइरहेका छन् । हालै मात्र नेपालमा पनि विभिन्न पार्टीहरूका महाधिवेशनहरूमा विना कुनै सामाजिक दुरी गरिएका भेला र भिडभाडले गर्दा आज कैयन् नेताहरू आफै पनि महामारीको चपेटामा परेका छन् भने नेपालमा पनि पछिल्लो एक हप्तामा नै ह्वात्तै संक्रमणको दर १० गुणा भन्दा पनि माथि बढेर खतराको घण्टी बजि नै सकेको छ। उता सरकार भने ९२ लाख मात्रा खोप सञ्चय गरेर मात्र बसिरहेको थियो र हाल संक्रमण पुनः आकाशिन थाले पछि भने बल्ल विशाल भिडका बिच खोप लगाउन थालेको छ।

 

धनी–गरीव सबै देशका बासिन्दाहरूमा जस्तो परिस्थितिमा पनि खुला र छाडा ढंगले हिँडडुल गर्ने र घुम्ने स्वतन्त्रता हुनुपर्छ भन्ने स्वार्थी, गैर जिम्मेवारी र छाडापन वा अर्को अर्थमा अटेरीपना हुँदोरहेछ । यही कारणले गर्दा नै आज विभिन्न उपाय अवलम्बन गर्दा र विज्ञान र प्रविधिको सक्दो उपयोग गर्दा पनि यो महामारीलाई काबुमा ल्याउन नसकिएको हो।

 

विगत दुई वर्षमा आम जनता बाहेक समाजका विभिन्न पाटाका महत्वपूर्ण धेरै व्यक्तित्वहरूले यो महामारीको कारण ज्यान गुमाउनु पर्‍यो र अझैं कति ज्यानहरू जाने हुन् भन्नै नसकिने अवस्था छ । तर यस्तो बेलामा पनि मानिसलाई धन आर्जन र भ्रष्टाचार तथा कुकार्यमा लाग्न कुनै संकोच लाग्दैन रहेछ। उच्च ओहदामा आसिन व्यक्तिहरूले नै भ्रष्टाचारलाई वैधता प्रदान गर्ने, अनुसन्धान सकिएर मुद्दा चलाउन सिफारिस भइसकेका संगिन अपराधहरूका मुद्दा दायर नै नगर्ने, नारायणहिटी राजदरवार जस्तो ऐतिहासिक धरोहरलाई पनि मदभट्टीमा रुपान्तरण गर्ने र खरिद–विक्रीको साधन बनाउने र उल्टै एक थरी मौन भएर बस्ने र अर्को तत्व डर र लाज पचाएर टेलिभिजनमा ठूला ठूला स्वरमा कुर्लिने, नेपाल राष्ट्रको एकिकरण र निर्माण गर्ने महान व्यक्तित्व पृथ्वीनारायण शाहको तौहिन गर्ने, आयोजनाको टुङ्गो लाग्नु अघि नै वन–जङ्गल फँडानी गरेर धन कुम्ल्याउन तम्सिने, कोभिड जस्तो भयानक महामारी नियन्त्रण गर्ने विषयलाई पनि द्रव्य छाप्ने टक्सारको रूपमा लिने आदि इत्यादी विकृतिहरूले गर्दा यो मुलुक कुन दिशामा जान लागेको हो बुझ्न सकिएको छैन। जन्मे पछि मर्नु पर्छ, जसरी आएको त्यसैगरी खाली हात जानुपर्छ र यस्ता महामारीको शिकार भएर अकालमा पनि ज्यान गुमाउनु पर्ने परिस्थिति आउन सक्छ भन्ने कुराहरू बुझेर पनि हामी किन नादानीमा समय बिताउँछौँ बुझ्नै गाह्रो।

 

युरोपमा आधा जनसंख्यालाई नै संक्रमण हुने आशंका भए पनि एक अध्ययनले त्यहाँ महामारी विरुद्धको खोप अधिकांशले लगाएकोले खोप लगाएका जतिलाई यो भेरिएन्टले त्यति नराम्रो असर गर्न नसकेको ठम्याई गरेको छ भने अति कम विकसित मुलुक तथा विकासोन्मुख मुलुकहरूमा खोपको पहुँच सबै वर्ग र उमेरमा अझैं पनि नपुगेकोले यो भेरिएन्टले केही बढी नै आतंक मच्चाउने हो की भन्ने भय पैदा गरेको छ । त्यसैले पनि हामीले अहिलेको बेलामा सुरक्षाका सबै बाटाहरू अपनाएर बिना काम लखर लखर बाहिर नहिँडेर र विभिन्न समारोह, जात्रा, भोज र भिडभाडलाई केही समय त्याग्न सकेमा यो भेरिएन्टले पनि हार खाएर हामीबाट टाढा हुने थियो । विश्वमा जति नै प्रविधि र औषधीको विकास भएपनि यस्ता महामारीहरुलाई परास्त गर्न मानवजातीले आफैं प्रयत्न गर्नुपर्ने र केही साधारण मान्यताहरूलाई अवलम्वन गर्दा पनि जित हात लाग्न सक्दो रहेछ। त्यसैले प्रत्येक व्यक्तिले सुरक्षाका उपायहरू अवलम्वन गरेर आफु, आफ्नो परिवार र पुरै समुदायलाई महामारी मुक्त बनाउन सकेमात्र जीवनको वास्तविक सौन्दयको आनन्द लिन सबैले पाउने थिए । त्यस्तै यही महामारीबाट पाठ सिकेर मुलुकका सबै तप्काका व्यक्तिहरूले लोभ, लालच, रिस, राग, घृणा, षडयन्त्र सबै त्यागेर मानव, प्राणी, वनस्पती, प्रकृति, वातावरण र पुरै विश्वकै हितमा लाग्न सके कति राम्रो हुने थियो। आशा गरौँ यस्तै नै हुनेछ ।

 

(लेखक विकास अर्थशास्त्री र पुर्वबैंकर तथा नेपाल एकल व्यक्तित्व समाजका अध्यक्ष समेत हुन्)

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार