• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
पत्रपत्रिका

एकै महिनामा ७७ हजारले लिए श्रमस्वीकृति

काठमाडौं । पुस महिनामा वैदेशिक रोजगारीका लागि श्रमस्वीकृति लिने युवाको संख्या हालसम्मकै उच्च देखिएको छ । विगत दुई वर्षदेखि न्यून रहेको वैदेशिक रोजगारीको श्रमस्वीकृति संख्या पुस महिनामा सबैभन्दा बढी देखिएको हो ।


वैदेशिक रोजगार विभाग ताहाचल कार्यालयका कम्प्युटर इन्जिनियर अर्जुन यादवका अनुसार चालु आर्थिक वर्षको साउन महिनामा २३ हजार ३७ ले विदेश जान श्रमस्वीकृति लिएकोमा यो संख्या पुस महिनामा ७७ हजार पुगेको छ । यसैगरी अघिल्लो वर्षको पुसमा भने १४ हजार ७५३ जनाले मात्र श्रमस्वीकृति लिएका थिए ।

 


२७ पुससम्मको तथ्यांक हेर्ने हो भने सरदर दैनिक साढे २८ सयले श्रमस्वीकृति लिएका छन् । विगतको तुलनामा श्रमस्वीकृति लिनेको संख्या यो उच्च हो । गत आवको पहिलो ६ महिनाको तुलनामा चालु आवको सोही अवधिमा वैदेशिक रोजगारीमा जान श्रमस्वीकृति लिने श्रमिकको संख्या साढे ५ गुणाले बढेको छ ।

 

कोरोनाविरुद्धको खोप सहज भएपछि नेपालबाट रोजगारीका लागि जान श्रमस्वीकृति लिने युवाको संख्या बढेको हो । तर, पुनः कोरोनाको तेस्रो लहर सुरु भएका कारण श्रमस्वीकृति लिनेको संख्या घट्न सक्ने विज्ञको भनाइ छ । कतिपय रोजगारदाताले नेपाल पठाएको मागपत्र रद्द गरिरहेको व्यवसायीले जनाएका छन् ।

 

गत वर्षको ६ महिनामा ४७ हजार ७ सय ५५ युवाले मात्र विदेश जान श्रमस्वीकृति लिएकोमा यो संख्या चालु आवको २७ पुससम्म २ लाख ६९ हजार पुगेको छ । कोरोना संक्रमणअघिको सामान्य अवस्थामा मासिक ४० हजार युवा वैदेशिक रोजगारीमा जाने गरेका थिए ।गोपाल संग्रौला/ कारोबार

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार