• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
पत्रपत्रिका

मोबाइल र इन्टरनेट सेवाको गुणस्तर मापन गर्दै प्राधिकरण

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले देशभर मोबाइल तथा इन्टरनेट सेवाको गुणस्तर मापन गर्ने भएको छ । कुल १८ हजार किलोमिटर समेट्ने गरी प्राधिकरणले तीन प्याकेजमा गुणस्तर मापन परियोजना अगाडि बढाउन लागेको हो ।


प्राधिकरणका अनुसार पहिलो प्याकेजमा प्रदेश १ र २, प्याकेज २ मा बागमती र गण्डकी प्रदेश तथा प्याकेज ३ मा लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेश समावेश भएका छन् ।


मोबाइल तथा इन्टरनेट सेवालाई गुणस्तरीय तथा समयसापेक्ष बनाउने उद्देश्यले प्राधिकरणले तेस्रो पक्षबाट यति ठूलो स्केलमा गुणस्तर मापन गर्न लागेको हो । पछिल्लो समय मोबाइल तथा डेटाको गुणस्तरका विषयलाई लिएर धेरै गुनासो आउन थालेको पनि प्राधिकरणले जनाएको छ ।

 

विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीले इन्टरनेट र मोबाइलको प्रयोगलाई व्यापक बनाएको छ । अनलाइन अध्ययन–अध्यापनदेखि ‘वर्क फ्रम होम’को अवधारणामा पनि विकास भएको छ । इन्टरनेट र मोबाइल फोनको प्रयोग बढ्दै गएसँगै गुणस्तरको कुरा पनि उठ्दै आएको छ । कोराना महामारीको तेस्रो लहर पनि आइसकेकोले सचेत रहन तथा भौतिक उपस्थिति भन्दा भर्चुअल माध्यमकै प्रयोग बढाउनुपर्ने अवस्था सिर्जना भएको छ ।


प्राधिकरणले आइतबार परामर्शका लागि आशयपत्र माग गरेको छ । प्राधिकरणका अनुसार मोबाइल सेवा अन्तर्गत सबै सेवाप्रदायकको भ्वाइस, एसएमएस तथा डेटाको गुणस्तर ड्राइभ टेस्टका आधारमा मापन गरिने भएको छ ।

 

जसमा परामर्शदाताले ग्रामीण तथा सहरी भेगका साथै राजमार्ग तथा सहायक राजमार्गमा समेत परीक्षण गर्नुपर्ने जनाइएको छ । त्यसका लागि कम्पनी आफैंले सिस्टम ल्याएर मोबाइल सेवाको गुणस्तर मापन गरी दूरसञ्चार प्राधिकरणलाई प्रतिवेदन बुझाउनुपर्ने जनाइएको छ । कारोबार 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार