• शनिबार १-८-२०८१/Saturday 04-20-2024
राजनीति

सभापति देउवा कांग्रेसको साझा नेता बन्न सक्नुभएन : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले सभापतिले आफुखुशी गर्न खोजे पार्टीले चुनावमा हारको सामना गर्नसक्ने बताएका छन्। सुनसरीको इनरुवामा सञ्चारकर्मीसँगको कुराकानीमा नेता कोइरालाले पार्टी सभापति शेरबहादुर देउवा कांग्रेसको साझा नेता बन्न नसकेको टिप्पणी गरे ।

 

उनले केन्द्रीय सदस्य मनोनयनमा विधानको व्यवस्थाको गलत प्रयोग गरिएको दाबी पनि गरे । नेता कोइरालाले सभापति देउवाले विधि र प्रक्रिया मिच्दै गए स्थानीय, प्रदेश र केन्द्रीय निर्वाचनमा कांग्रेसले जित्न नसक्ने बताए । एक फरक प्रसंगमा नेता कोइरालाले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका अस्तव्यस्त रहेको भन्दै अवरुद्ध संसद सञ्चालन गर्न कांग्रेस र एमाले सहमत बन्नुपर्ने बताए ।

 

नेता कोइरालाले भने, ‘अब हुने स्थानीय, प्रदेश र सङ्घीय निर्वाचनमा कुनै पनि राजनीतिक दलसँग कांग्रेसको गठबन्धन हुदैन। अब कांग्रेस एक्लै चुनाव लड्छ। कांग्रेसका नेता तथा कार्यकर्ताले अबको निर्वाचनमा आफ्नै पार्टीको चुनाव चिन्ह रुखबाहेक अन्य चिन्हमा मत नहाल्ने आशय व्यक्त गरिसकेको छ । त्यसैले आगामी निर्वाचनमा कांग्रेसले एक्लै चुनाव लडेर पनि बहुमत ल्याउँछ ।’

 

उनले आउने निर्वाचनमा १५ देखि २० लाख मानिसलाई पार्टीमा आबद्ध गराउन सकेमा निर्वाचन जित्नेमा कुनै दुविधा नरहेको पनि बताए। 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार