• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

कांग्रेस १४औं महाधिवेशन : प्रारम्भिक परिणाममा देउवा अगाडि,६ जिल्लामा देउवा पक्षका सभापति निर्वाचित

काठमाडौं । सात जिल्लाको मत परिणाम आउँदा ६ जिल्लामा देउवा पक्षका सभापति निर्वाचित भएका छन । काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको वर्चश्व रहेको कर्णाली प्रदेशमा यो पटक भने पार्टी सभापति शेरबहादुर देउवा पक्षले बाजी  मारेको छ ।


नेपाली कांग्रेसको १४ औं महाधिवेशन छिन्नभिन्न अवस्थामा रहेको रामचन्द्र पौडेल गुटका लागि निकै चुनौतिपूर्ण देखिएको छ । प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनबाट निर्वाचित महाधिवेशन प्रतिनिधिमा सभापति शेरबहादुर देउवा निकै अगाडि देखिएपछि पौडेल पक्ष तिल्मिलाएको छ ।

 

हालसम्म ७ मध्ये प्रदेश २ बाहेकका ६ वटा प्रदेशका प्रारम्भिक परिणाम आइरहेका छन् । जसमध्ये सुर्खेत, डोल्पा,  म्याग्दी लगायतका जिल्लामा पौडेल पक्ष शून्य भएको छ भने सुदुरपश्चिमसहितका प्रदेशमा देउवा पक्ष निकै बेलियो देखिएको छ ।


पौडेलको गृह जिल्लामै देउवा समर्थित प्रतिनिधिहरुको संख्या बढेको छ । पौडेलले जित निश्चित भएको भनिएको जुम्लामै देउवा समर्थित नेता सभापतिमा विजयी भएका छन् ।


सुर्खेतमा पौडेल पक्षले हार ब्यहोरेको छ । पौडेल निकट पूर्व मन्त्री शिवराज जोशी र पूर्व राज्यमन्त्री खड्गबहादुर बस्याल महाधिवेशन प्रतिनिधिमा नराम्ररी हारेका छन् । सुर्खेतका दुबै निर्वाचन क्षेत्रको कार्यसमिति र महाधिवेशन प्रतिनिधिमा देउवा पक्षले प्यानलै जितेको छ । उसो त पौडेलको दाहिने हात मानिएका हृदयराम थानीले कर्णाली पौडेल पक्षको भोट बैंक भन्ने गरे पनि परिणाम त्यस्तो नआएको बताएको छ ।


लुम्विनी प्रदेशमा पनि ५५ प्रतिशतको हाराहारीमा महाधिवेशन प्रतिनिधि जितेको दावी गरेको छ । लुम्बिनी प्रदेशका रुकुम पूर्व, रोल्पा, दाङ, प्यूठान, रुपन्देही, पाल्पा, अर्घाखाँची, कपिलवस्तु र नवलपरासी पश्चिममा देउवा पक्षले महाधिवेशन प्रतिनिधिमा बाजी मारेको छ ।


गण्डकी प्रदेशमा वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा.शशाकं कोइरालाको गठबन्धनबीच नवलपुर, गोरखा, लमजुङ, मुस्ताङ, तनहुँ , लमजुङ र कास्कीमा देउवा पक्ष निकै बलियो बनेर आएको छ । पौडेलकै प्रदेश गण्डकीको म्याग्दीलगायतका जिल्लामा पौडेल पक्ष शून्यमा झरेको छ ।


बागमती प्रदेशका अधिकांश जिल्लामा देउवा पक्ष नै बलियो देखिएको छ । काठमाडौं, चितवन, धादिङ लगायतका जिल्लामा महाधिवेशन प्रतिनिधिमा देउवा निकटले जीत निकालेका छन् । मकवानपुर र ललितपुरमा त देउवा पक्षले कब्जा नै जमाएको छ ।


प्रदेश २ मा क्षेत्रीय अधिवेशन सुरु नभए पनि देउवा पक्ष निकै बलियो रहेको विश्लेषण गर्न थालिएको छ । सभापति उम्मेदवार बन्छु भनिरहेका विमलेन्द्र निधिले रामचन्द्र पौडेलसँग गठबन्धन बनाउन खोजे पनि त्यो सम्भव नभएपछि प्रदेश २ मा देउवा पक्ष नै बलियो हुने  देखिएको छ । प्रदेश १ मा  देउवा पक्ष हावी भएको छ । देउवापछि कोइराला र कृष्णप्रसाद सिटौलाको मत बराबरी अवस्थामा देखिएको छ ।


देउवाको सचिवालयले तयार पारेको विवरणमा अहिलेसम्मको नजिता हेर्दा देउवाले पहिलो चरणमै ५१ प्रतिशत भन्दा बढी मत ल्याएर सभापति जित्ने उल्लेख छ । सचिवालयका एक सदस्यका अनुसार यस पटक देउवा पक्षका ५५ प्रतिशत महाधिवेशन प्रतिनिधि आउने विश्लेषण गरिएको छ ।

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार