• मंगलबार १२-६-२०८०/Tuesday 03-19-2024
अर्थ

वन्यजन्तु पालन, प्रजनन्, अनुसन्धान र उपयोग किन ?

परापूर्वकालमा, करिव दश हजार वर्ष अघिसम्म केवल सिकारी रूपमा मानिसहरू रहेका थिए। त्यस कालखण्डमा बलिया–बाङ्गा, हृष्टपुष्ठ, सक्नेहरू तथा सिपालुहरू वन्यजन्तुको सिकारमा दिन विताउँथे भने अन्य सदस्यहरू फलफूल खोज्ने र जम्मा गर्ने गर्थे । त्यसै क्रममा अनुभवको आधारमा र स्वादकालागि पनि विभिन्न वनष्पतिजन्य जडिबुटी तथा बास्नादार मसलाहरुको ज्ञान पनि भएको होला । मासुजन्य बस्तुमा समेत त्यस्ता मरमसला मिसाएर खाने कुरापनि अघिबढ्यो होला । हिमयुग पश्चात् आजसम्म निरन्तररूपमा त्यस युगका कैयौँ गुणहरू मानव जातिले पच्छ्याउँदै आएको छ। एक्काइसौं शताब्दीमा आईपुग्दा पनि मानिसहरूले खानामा तागतिलो परिकार रोज्नुपरेमा जनावरको मासु र मरमसला नै पर्दछ । मासु नखानेले दुध, भूत्ला, उन र छालाका लागि पनि जनावर पालिएका छन्। कृषिमा आधारीत समाज व्यवस्थाभएको मानव समाजमा उपयुक्त जनावरहरू जैविकमल र इन्धनका लागि, खेतीपाती खनजोत गर्न, सामान ओसारपसार गर्न तथा मानिसकै यातायातका लागि पनि बृहत रूपमा प्रयोग भएका छन् । जनावरहरू प्रयोग गर्ने क्रममा मानिस र जनावरको बिच अन्यान्योस्रित सम्बन्ध विकास भएको छ। विकासबादी सिद्धान्त अनुसार जीवित प्राणिहरूमा सबैभन्दा पछि अस्तित्वमा आएको प्राणी मानिसले अन्य सम्पूर्ण प्राणीहरूलाई आफ्नो हितमा मात्र होइन, उनीहरूको उचित व्यवस्थापन तथा सदियौँ यस पृथ्वीमा निरन्तरताका लागि समेत बुद्धिमत्तापूर्ण जुक्ति र प्रयास गरिरहेको छ। यसरी, मानव जातिको उत्थानसँगसँगै अन्य वन्यजन्तुको सामीप्यतामा झन बढी विकास भएको छ। त्यसैको प्रतिफल नै वन्यजन्तुको ठाडो छुन समेत नहुने सोचाइमा परिवर्तन आई तिनको दिगो संरक्षणको प्रयास भएको छ ।

 

पूर्व इतिहास
पछिल्लो हिमयुग छेउछाउ तिर मानिस जातिले आगो बाल्न र औजारहरू प्रयोग गर्न थालेपछि आफ्नो आबश्यक्ता पुरा गर्न वन्यजन्तुहरू कज्याउँन सुरुगरेको भनाई धेरै इतिहासविदहरूको रहेको पाइन्छ। त्यस कालखण्डमा अत्यधिक मात्रामा वन्यजन्तुको मासु खानु विकल्परहित आवश्यक्ता थियो। सिकारका लागि आवश्यक हतियार त्यति धेरै विकसित नभईसकेकाले कैयौँ पटक आफ्ना अथक प्रयासहरू विफल भएपछि मानिसले सिकार गर्न अति सहयोगी प्राणी ब्वाँसो जातिसँग निकटता बढायो र त्यसलाई रत्याउन थाल्यो। दुवैले सिकारी दाउपेच उस्तै लगाई स्याउलापात खाने र तृणहारी बनैया प्राणीलाई मारी खानुपर्ने भएकाले नै कुकुरका पुर्खाहरूलाई मानिसले उपयोग गर्न थालेको हुनु पर्छ। मानिसको संख्या बढ्दै जाने क्रममा सजिलै उपलब्ध हुने वनैया फलफूलमा कमि आउन थालेपछि र सिकारमा हुने असफलता र विभिन्न कारणले ति प्राणि सिमित हुन जाँदा चाहिँदो  मात्रामा खाना नपुग्ने भएपछि सघन खेतिको सुरुआत भएको हुनु पर्छ। निरन्तर मासु र अन्य वस्तुको उपयोगिताको लागि मानिसले आवश्यक पर्ने सबै जनावर तथा चराचुरुङ्गीलाई आफ्नो पहुँचमा सिमित पारी वन्यजन्तु पालनको सुरुआत भएको होला। वन्यजन्तुलाई पालन गर्ने क्रममा चौपाया, दुधालु तथा घाँसपातमा निर्भर प्राणीहरू नै मानिसले प्राथमिकतासाथ पाल्न सुरुगरेको पाइन्छ । सुरुसुरुमा ससाना प्राणीहरूबाट वन्यजन्तु पालन भएको देखिन्छ। इसापूर्व सातहजार वर्षको हाराहारीमा अफ्रिकाको नाइल नदी (मिश्र देश र दक्षिणतिर) आसपास, पश्चिम एसियाका टाइग्रिस र युफ्रिटिस नदी किनार (हालको इराक क्षेत्र) तथा सिन्धु नदी (हालको चिन, पाकिस्तान र भारतका क्षेत्र) उपत्यकामा बाख्रा जातिको पालन सुरु भएथ्यो । तीनै पालनबाट छनौट हुँदै र असल बिऊ छान्दै आजका विकासे बाख्राहरू– जमुनापारी, बारबारी, विताल, सानन् आदि नस्लहरू तयार भएका छन् भने विभिन्न हावापानीमा पाइएका नेपाली च्याङ्ग्रा, सिंहाल, खरी (औले) र तराई भेगमा पाइने बाख्राहरू पनि अस्थित्वमा छन् । त्यस्तै प्रायः चिसो बढी हुने ठाउँमा भेडाका विभिन्न नश्ल विकसित भईरहेका छन् । अचेलका विकासे भनिने लाम्पुछ्रे वरुवाल आदि जातका भेडाहरू नश्ल सुधार गर्दैजाँदा अस्तित्वमा आएका छन् । भेडा–बाख्राका पुर्खा र नातेदारहरू अझै पनि वन, जंगल, भिर, पहाडमा जंगली अवस्थामै छन् ।
 

नयाँ ढुङ्गे युगसँगै, यसरी खेतीपाती र पशुपालनको क्रम अघि बढ्दै जाँदा मानिस जातिले खेतीका लागि उपयुक्त गाई–भैंसीको पालन सुरु गरेको थियो । खासगरी ठूला चौपाया मासुका लागि र काम सघाउनका लागि पाल्नथालेको हुनु पर्छ । घरपालुवा गरिएका बनैयाजन्तुहरूमा गाई, भैंसी, उँट, घोडा, गधा, हात्ति आदि प्रमुख छन् । चौपाया यी जनावरहरू हाल वन्य क्षेत्रमै रहेका जुरो भएका र नभएकामाहरूकै विकसित सन्तानकोरुपमा हाम्रा गाइभैसी, हामीलाई अझै निकै काम लाग्ने प्राणी हुन् । त्यस्तै, जंगली याकका घरपालुवा याक, नाक, झोक्प्याबाट हाम्रा हिमाली क्षेत्र लाभान्वित छन् भने गाईकै विभिन्न नश्लको रूपमा मिथुन, गायल, वेन्टाङ गाई अझै पनि नेपाल, भारत र इण्डोनेसियातिर पाइन्छन् ।

 

जंगली घोडा जातिबाट विभिन्न नश्लका घोडाहरू तथा गधाले परापूर्व काल देखि नै मानव जातिको हितमा काम गर्दै आएको छ । यिनको प्राकृतिक वा कृतिम तरिकाबाट खच्चड निकाली अझ बढी काम लिइएको छ । उष्ण सुखा भूभागतिर प्रजनन् भएका खच्चड उच्च हिमाली भागसम्म पनि मानिसका सहयोगी तथा बलिया प्राणि साबित भएका छन् । त्यसैले नै खच्चडहरू सर्बसाधारणलाई मात्र होईन सैनिक क्रियाकलापमा समेत सहयोग पु¥याउन ब्यापक प्रयोग भएको पाईन्छ । त्यस्तै, जाडो र गर्मी दुवै ठाउँमा पाइने फरक जातका उँटहरूलाई समेत मानिसले दुध खान मात्र होईन उराठ लाग्दो तातो र चिसो दुवै मरुभूमिमा आवागमन, चाडबाड र उत्सबमा सहयोगीको रुपमा प्रयोगमा ल्याएको पाइन्छ । 

 

विभिन्न कारणले क्रमश सुँगुर, खरायो, मुसा, बिराला, लुइँचे, हाँस, बट्टाईँ, च्याखुरा, लौकाट, टर्की, तित्रा आदि वन्यजन्तु र चराहरू पनि घरपालुवा बनाउँदै व्यापक प्रयोगमा ल्याइएको छ । मानिसहरूले वनैया प्राणीहरूलाई विभिन्न कारण र आधारमा पाल्ने गरेका छन् :

 

पालन र प्रजननका आधारहरू
मानिसले मासु खान वा छाला, भूत्ला, हाड, सिङ तथा बोसो उपयोगगर्नका साथै औषधी र विभिन्न औषधीजन्य विश्वासका लागि पनि वन्यजन्तु पालन गर्दछन्। आफ्ना विभिन्न क्रियाकलापमा सहयोग लिन पनि जन्तुहरू पालिन्छन्।

 

१.सहनसक्नेः घरपालुवा गर्ने जन्तु वा प्राणी विभिन्न समस्याहरू खप्न सक्ने खालको हुनुपर्छ। आफ्नो समूह वा आमासँग छुट्टीँदा आफै पहिल्याई खाना खान सक्ने, नयाँ वातावरण वा हावापानी साथै विभिन्न रोग–व्याध खप्न सक्ने खालको हुनुपर्छ।

 

२.मानिससँग मिल्न सक्नेः घरपालुवा जन्तुहरू सामाजिक समूहमा वस्ने प्राणी हुनुपर्छ । त्यसो भए मानिसहरू जस्तै र मानिसको सहवास मनपराउने हुन्छ । समूहमा बस्ने प्राणीहरू चाँडै रत्तिन्छन् भने तृणहारी वा सर्बभक्षि प्राणी पनि मान्छेसँग बसोबास गरी मानिसको इसारा र व्यवस्थापनमा रहन सक्छ ।
 
३.चाँडो प्रतिक्रिया नदेखाउनेः हरेक कुरामा चाँडो प्रतिक्रिया देखाई समस्याबाट तर्किने प्राणी पालन गर्न गाह्रो हुन्छ । त्यस्ताले सन्तान उत्पादन गर्न पनि घर पालुवा हुँदा गाहारो हुन्छ। त्यसैले द्रुत प्रतिक्रिया नदेखाउने प्राणि पालिन्छन् ।
 

४.मानिसलाई फाइदा हुनेः विभिन्न किसिमले मानिसलाई फाइदा दिने बनैया प्राणी नै पालिने गरिन्छ । पालन–पोषणगर्ने तर फाइदा नहुने हो भने त्यस्ता प्राणीमा मानिसले श्रम, शक्ति र समय लगानी गर्दैनन् । 


५.छिटो–छिटो ब्याउनेः छिटो–छिटो प्रजनन हुने क्षमता भएका प्राणीहरू मानिसले आफ्नो फाइदाकोलागि पाल्दछन् । किनकि यस्ता प्राणीबाट छिटो सङ्ख्यात्मक वृद्धिभई पालनकर्तालाई फाइदा पुग्दछ। 

 

६.अध्ययन र अनुसन्धान गर्न सकिनेः प्रारम्भमा विभिन्न कारणले पालिएका वन्यजन्तु मानव सभ्यताको विकाससँगसँगै विभिन्न प्राविधिक ज्ञान, रोग–व्याधको परिक्षण, मनोरञ्जन तथा अंग प्रत्यारोपणकालागि पनि पालन–प्रजनन गरिँदै आएका छन् । त्यसकालागि मानवीय–सामाजिक प्रणाली तथा व्यहोरा, आनीबानी मिल्ने र मनोवैज्ञानिक हिसावले मिल्दोजुल्दो साथै माथिका कतिपय बुँदामा सामिप्यता राख्ने प्राणीहरू नै पर्दछन् ।

 

वर्तमानमा पालनको महत्व
दशौं हजार वर्षदेखि मानव जातिले आफूलाई विभिन्न कारणले फाइदा दिने वन्यजन्तु र चराचुरुङ्गी पाल्दै, हुर्काउँदै, नश्ल सुधारगर्दै बढी भन्दा बढी फाइदालिँदै आए । यसरी पालन प्रजनन गर्ने मानवीय स्वभावकै कारण कैयौं वन्यजन्तु प्रकृतिमा समूल नास हुनबाट जोगिएका छन्।

 

१.लोप हुनबाट जोगिनु
मानिसको परम्परागत चलन तथा वैज्ञानिक पालन, प्रजनन तथा अनुसन्धानले गर्दा संसारमा धेरै अघिनै लोप भइसक्ने वन्यजन्तुहरू पनि सङ्ख्यात्मक बृद्धिभई प्रकृतिमा चलखेल गर्दैछन् । यसको सबभन्दा महत्वपूर्ण तथा विशिष्ट उदाहरण ‘पेरे डेभिड्स मृग’ हो । करिब दुई हजार वर्ष पहिले प्रशस्त मात्रामा पाइने त्यो प्रजातिको मृग उत्तर–पूर्वी एसियाको विभिन्न पहाडी भू–भागमा पाइन्थ्यो । त्यो मृग अन्य मृगभन्दा ठूलो खालको थियो । यसको लामो पुच्छर थियो भने अनौठो किसिमले पछाडी टुप्पा फर्केका सिङ हुन्थे । यसका खुरहरू चौडा–फाटेका हिमाली भू–भागमा चलखेल गर्नसक्ने खालका थिए । 

 

 

चिनियाँ भाषामा मि–लोउ भनिने त्यो मृग बारेमा १८६५ मा एक फ्रेन्च नागरिक आर्मान्ड डेभिडले पेकिङको दक्षिणमा अवस्थित नान हाएत्सेको शाही सिकार आरक्षमा देखेपछि प्रचार भयो । त्यो अनौठो मृगबारे डयूक अफ बेडफोर्ड सारै आकर्षित भई, बेलायतमा रहेको आफ्नो ओबर्न स्थित सानो पालन केन्द्रमा झिकाई प्रजनन गराए । प्रकृतिमा थोरै सङ्ख्यामा रहेका ती मृगहरू १८९४ को भिषण बाढीले गर्दा चिनको शिकार आरक्षमा मरे र बाँचेका लाखा–पाखा लागे । तर बाढीसँगसँगै त्यस क्षेत्रमा अकाल भएकोले चिनियाँहरूले बाँचेकालाई पनि मारेर खाए । यसरी त्यो मृग ई.सं. १९०० सम्ममा चिनबाट लोप भयो । उता बेलायतमा डयूकले पालेका ति प्रजातिका मृग भने प्रजनन् भई सङ्ख्यात्मक बृद्धि भइरहेथे । आज चिनले आप्mनो हक दाबीगरेर उक्त मृग ल्याई पुनः प्रकृतिमा छाडेको छ भने संसारभरिका चिडियाखानामा पहिलो अनुसन्धानकर्ताको सम्मानमा नामाकरण गरिएको उक्त डेभिड्स मृग एक आकर्षक जन्तु भएको छ । 

 

यस्तै, वन्यजन्तु पालन, प्रजनन तथा अनुसन्धानका अन्य विशिष्ट उपलब्धीहरू पनि छन् । ओर्‍याक्स जातको सेतो बाख्रो जस्तो बराँठ मृग एन्टिलोप परिवारमा पर्दछ अर्थात नेपालको कृष्णसार जस्तै प्रजाति हो । यसको थुतुनो र आँखा वरपर कालो पाटा हुन्छ भने सिङ लामो, सोझो, पछाडी तिर ढल्केको हुन्छ । विश्व संरक्षण संघले यसको चित्र अङ्कित व्याच १९९९ मा प्रचारमा ल्याई पचासौँ वर्षगाँठ मनाएथ्यो । करिव प्राकृतिक अवस्थामा लोपभएका यी प्राणीहरू पालन गरी प्रजनन मार्फत अनुसन्धान पश्चात पुनः प्राकृतिक वासस्थानमा रमाइरहेका छन् ।

 

 

त्यस्तै, ईल्याण्ड भनिने अर्को थरी खैरा–पाटे ओर्‍याक्सहरू १८९२ मा प्रकृतिबाट ल्याई पालन–प्रजनन गरिएका चार जोडी भाले–पोथीका सन्तान १९६८ सम्ममा ४०८ वटा भई प्राकृतिक वासस्थानमा समेत छोडिए । 

 

हिमयुगको पछिल्लो कालखण्डमा छिटो हिंड्न र सामान बोकाउन सजिलो प्राणी घोडा– सिकार तथा मानव समूहहरू बिच हमलाकालागि पनि धेरै प्रयोग भयो। संसारका चिसा-ताता दुवै खालका घाँसे मैदानमा पाइने विभिन्न आठ थरिका घोडा जव निख्रदै गए आधुनिक युगमा मंगोलियातिर भएका प्रेजवालीस्की घोडालाई पालन, प्रजनन तथा अनुसन्धान गरी सङ्ख्यात्मक वृद्धि गरियो र प्राकृतिक बासस्थानमा पुनः पुर्‍याइयो । मानिसहरूले सुद्ध घोडा र गधाबाट खच्चड उत्पादनगरी आफूलाई फाइदा पुग्ने प्राणी पनि बनाए र प्राकृतिक घोडा र गधा जातिलाई बचाउने काम पनि गरे ।

 

 

आफ्नो वृद्धि र बर्कतले मानिसले खतरामा परिसकेका कृष्णसारलाई हजारौंको सङ्ख्यामा उत्पादन गरिसकेका छन् । भारत र नेपालमा पाइने पुड्के खरायो र पुड्के बँदेललाई लोप हुनबाट जोगाउन व्यापक अध्ययन र अनुसन्धान गरिएको छ । भारतको आसाममा यसको अनुसन्धान केन्द्र छ । लोप हुन लागेका घडियाल गोही (नेपालमा पनि), तालुखुइले गिद्ध, पाण्डा (रातो र सेतो) तथा हिउँ चितुवाको पालन, प्रजनन र अनुसन्धानले आशालाग्दो प्रगति गरेको छ । कस्तुरी मृगको ‘बिना’ को महत्वलाई ध्यान दिँदै चिनमा बृहत कार्यक्रम अघि बढेको छ भने नेपालमा समेत प्रयास भएको थियो ।

 

यसरी उपरोक्त केही उदाहरणहरूबाट पनि वन्यजन्तु पालन, प्रजनन तथा अनुसन्धान बनैया प्राणीहरूकै हितका साथै संरक्षणमा अति महत्वपूर्ण भूमिका निर्वाह गर्दछ भन्ने प्रमाणित हुन्छ ।

 

२. बुद्धिमत्तापूर्ण प्रयोग
परापूर्व कालदेखि आफ्नो जातिको फाइदामा वन्यजन्तुलाई सखापै हुनेगरी प्रयोग गरी आएको प्राणी– मानिसले अन्य प्राणीलाई समूल नास नगरी पुर्‍याई–पुर्‍याई प्रयोग गर्न पनि थाल्यो। व्याज खाने साउँ नमास्ने सिद्धान्तबाट प्रभावित भएर प्रजातिय लोप नपार्ने चेतले मानिसले वन्यजन्तुको पालन–प्रजननबाट उत्पादित सन्तान–दरसन्तानको प्रयोग गर्ने बानी बसाले। त्यसैले, बनैया गाईवस्तु, भेडा–बाख्रा, विराला, घोडा, सुँगुर, खच्चड साथै विभिन्न चराहरूका परिवर्तित रूप र नश्ल अस्तित्वमा आए । यसले मानव सभ्यता र विकासमा महत्वपूर्ण योगदान दियो । त्यस्तै, वनैया प्राणीलाई वीउ प्राणीको रूपमा प्रयोग गरी तिनका सन्तान उपभोग गर्ने संरक्षणपरक नीतिहरू व्यवहारमा आए । नेपालमा पनि त्यसैगर्ने सरकारी कानुनी प्रावधान व्यवस्थित हुँदैछ ।

 

मानिसले सोझै प्रयोग गर्नु बाहेक अप्रत्यक्षरूपमा रोग–व्याधको निराकरण, निरोपण र रोकथाममा विभिन्न प्राणीहरूलाई प्रयोग गर्न थाल्यो । हस्तीहाड, हात्तीरौ., चौँरीका चमर, चितुवाका दाह्रा, भालुको रौं र पित्त, भेडाको उन र बोसो, मृगको छाला र सिङ, ओँतको बोसो र छाला, सिंहको जगर र जुँघा, बाँदरको मुटृ, लिङ्ग, खप्पर आदि वस्तुहरूको प्रयोग पछिल्लो कालखण्डमा बढेको छ । स्यालको सिङ र मासुको रक्सी, मजुरको प्वाँख र तित्रा, बट्टाई, कालिज, च्याखुराको मासु, फुल(अण्डा) तथा प्वाँखको उपभोग र तिनबाट लिइने मनोरञ्जन पनि मानिसको एक पक्ष बनेको छ । 

 

समुल प्रयोग गर्ने, सिध्याउने भन्दा विभिन्न कामकालागि क्रमैसँग लामो अवधि अनुसन्धान गर्नकालागि प्रयोग गर्ने प्रविधिहरू विकास भई मानव सभ्यता, मानव जातिको उत्थान र रोग–व्याध मुक्तबनाउन अन्य जनावरहरूलाई प्रयोग गरिने प्रचलन सबभन्दा हितकारी देखिएको छ । मानिसमा हुने र हुनसक्ने विभिन्न रोग–व्याधको उन्मूलनकालागि धेरै अघिदेखि मुसा, खरायो, घोडा, बाँदर आदि जातिलाई प्रयोग गरिंदै आईएको छ । बानी–व्यहोरा तथा शारीरिक प्रणाली उस्तै खालको भएकाले रोगको पहिचान, निदान तथा औषधीको फाप–अफाप र मात्रा निर्धारण गर्न सारै उपयुक्त प्राणी बाँदर प्रजाति भएकाले औषधी विज्ञानमा सबैखालका बाँदर र विशेषगरी राता बाँदरहरू प्रयोग गरिन्छ । यसको फलस्वरूप आज जघन्य रोगहरूको खोप, औषधी तथा निदानका प्रक्रियाहरू अगाडि बढेका छन् र मानव जाति समुल विनास हुनबाट जोगिएको छ । बाँदर लगायत अन्य वन्यजन्तुमा गरिएको लामो अध्ययन, अनुसन्धान र औषधीहरूको प्रयोगबाट मानिसहरूमा फैलिएको र हुनसक्ने असाध्य रोगहरू विरुद्ध निदान गर्ने, कम गर्ने वा रोग बढ्न नदिने औषधीहरू र खोप आदि उत्पादन भएका छन् । क्रमश
  
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार