• बुधबार १-५-२०८१/Wednesday 04-17-2024
खेलकुद

नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा

काठमाडौं । बंगलादेशविरुद्ध बराबरी खेल्दै नेपालले साफ च्याम्पियनसीपको फाइनलमा स्थान बनाएको छ । नेपाल पहिलोपटक साफ च्याम्पियनसीपको फाइनलमा पुगेको हो । खेलको ८६ औं मिनेटमा अन्जन विष्टले पेनाल्टीमा गोल गर्दै नेपालको फाइनल यात्रा पक्का गरेका थिए।

 

यस बराबरीले नेपालको ४ खेलमा ७ अंक भएको छ । बंगलादेश भने ४ खेलमा ५ अंक जोड्दै लिग चरणबाटै बाहिरिएको छ । आज हुने दोस्रो खेलमा माल्दिभ्स र भारत खेल्नेछन् । उक्त खेलको विजेताले फाइनलमा स्थान बनाउनेछ । बराबरीले भने माल्दिभ्स फाइनलमा पुग्नेछ ।

 

खेलको दोस्रो मिनेटमा नै बंगलादेशका टोपु बर्मनले नवयुग श्रेष्ठलाई पेनाल्टी क्षेत्रको ठिक बाहिर लडाएपछि नेपालले फ्रिकिकको अवसर पाएको थियो । उक्त फ्रिकिकमा सुजल श्रेष्ठले पोस्टतर्फ प्रहार गर्न सकेनन् । लगत्तै दुवै टोलीले आक्रामक प्रस्तुति गरेपनि गोलरक्षकलाई समस्या दिन सकेनन् ।

 

खेलको आठौं मिनेटमा बंगलादेशले खेलमा अग्रता लियो । सुमन रेजाले हेडरमार्फत गोल गर्दै टोलीलाई अघि बढाए । जमाल भुयाँले बायाँ विंगबाट प्रहार गरेको फ्रिकिक वालमा लाग्दै ६ यार्ड बक्सभित्र अनमार्क रहेका सुमनले गोल गरेका थिए ।

 

१५ औं मिनेटमा नेपालले खेल बराबरीमा ल्याउने सुन्दर अवसर खेर फाल्यो । गौतम श्रेष्ठले पेनाल्टी क्षेत्रको दायाँ भागबाट कटब्याक गर्दै ६ यार्ड बक्सनजिक रोहित चन्दलाई पास दिएका थिए । तर अनमार्क रहेका रोहितले बललाई पोस्टको दिशा दिन सकेनन् ।

 

३२ औं मिनेटमा अन्जन विष्टको क्रसमा आयुष घलानको प्रहारलाई डिफेन्डर टोपुले क्लियर गर्दै खतरा टारेका थिए । ४२ औं मिनेटमा रोहितको क्रसमा दिनेशको हेडरलाई बंगलादेशका अनिसुर रहमानले सहजै बचाए । इन्ज्युरी समयमा रोहिकै क्रसमा आयुषको हेडरले पोस्टको दिशा लिन सकेन ।

 

निरन्तर बंगलादेशको पोलमा दबाब दिइरहेको नेपालले खेलको ८८ औ मिनेट पाएको पेनाल्टीलाई सदुपयोग गर्दै खेल बराबरी गरेको हो । पेनाल्टीलाई अञ्जन विष्टले सुन्दर ढंगले गोलमा परिणत गरेका थिए ।

 

यसअघि पाँच पटक नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको थियो । आजको खेलमा अधिकांश समय गोल नियन्त्रणमा लिए पनि नेपाली खेलाडी बारम्बार चुक्दै आएका थिए । प्रशिक्षक अब्दुल्ला अल्मुतारीले सुरुदेखि नै आक्रमक खेल खेलाएका थिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार