• सोमबार ७-१-२०७८/Monday 10-18-2021
देश/प्रदेश

मुगु बस दुर्घटना : टायर पङ्चर हुँदा दुर्घटना

काठमाडौं । नेपालगञ्जबाट मुगु आउँदै गरेको छायाँनाथ रारा यातायात प्रालिको भे १ ख ३१६७ नं को यात्रुवाहक बसको टायर पञ्चर भई दुर्घटना भएको खुलेको छ । मङ्गलबार भएको सो दुर्घटनामा परी ३२ जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

 

नेपालञ्जबाट मुगु आउँदै गरेको छायाँनाथ रारा यातायात प्रालिको यो यात्रुवाहक बस मङ्गलबार दिउँसो १ बजे छायाँनाथ रारा नगरपालिका—७ पिना गाउँको तपने खोलामा दुर्घटनामा परेको थियो । उक्त बसमा ४६ जना यात्रु रहेका थिए । दुर्घटना भएको बसको चालक बस्ने साइडतिरको टायर पङ्चर भई बस अनियन्त्रित हुँदा पाँच सय मिटर जति तल खसेको छ । यस दुर्घटनमा परेर १३ जना घाइते भएको प्रहरीले बताएकोे हो ।

 

दुर्घटनास्थल पिना गाउँमा रहेको प्रहरी चौकीबाट दुई मिनेट टाढा भिरालो मोड रहेको छ । दुर्घटना समयमा पिना चौकीको प्रहरी गस्ती घटनास्थल मुनि रहेको थियो । प्रहरी गस्तीले ठूलो आवाज आएको सुन्ने बित्तिकै बस भिरबाट खसेको देखेका र बसको अवस्था हेर्दा चालकतिरको टायर च्यातिएको देख्दा दुर्घटना अन्य कारण नभई टायर पङ्चर भएका कारण भएको अनुमान गरिएको छ ।

 

सोही मोडमा बस अनियन्त्रित भई भिरबाट खस्दा ३२ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चित्रबहादुर भट्टराईले जानकारी दिए । दुर्घटनामा परी मृत्यु र घाइते हुनेहरु दसैँ बिदामा घर आएका काठमाडौंलगायत अन्य सहरका कलेजमा अध्ययन गर्ने अधिकांश विद्यार्थी रहेका बताइएको छ । मृत्यु हुनेमा १८ पुरुष र आठ महिला र दुई नबालक रहेका छन् भने चारजनाको सनाखत हुन बाँकी रहेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार