• सोमबार ७-१-२०७८/Monday 10-18-2021
विचार

धर्ममा बली रूपी कुप्रथा

मान्छेले समाजमा बस्न थालेदेखि नै इश्वरको कल्पना गर्न थाल्यो। गुफामा बस्ने आदिम मानिसहरुले समेत हाम्रो पृथ्वी बाहिर अन्तरिक्षबाट यहाँ बेला बेलामा उत्रेका बाहिरी प्राणीहरु र तीनका अन्तरिक्ष यानहरुका तस्वीरहरु दक्षिण अमेरिका र अन्य ठाउँहरुका गुफाहरुमा कुँदेको पाइन्छ। फिरन्ते युगबाट समाजमा बस्न थालेपछि मानव जातिले खोलानाला र वनजङ्गलको नजिक पर्ने खेतीयोग्य जमिनहरु रोजेर बस्न थालेको तथ्य पनि विभिन्न पुराना सभ्यताहरुबाट प्रष्ट हुन्छ । मानव जाति एक्लै बस्न सक्ने प्राणी होइनन् । यिनीहरु आफ्नो प्रादुर्भावदेखि नै समूहमा नै बस्दै आएका कुराहरु विभिन्न सभ्यताहरुबाट र यिनका पुर्खा मानिएका बाँदर समुदायको समूहमा बस्ने बानीबाट पनि प्रष्ट हुन्छ। अन्तरिक्षबाट आउने प्राणीहरु, आकाशमा खासगरी राती देखिने ग्रह, तारा तथा शुन्यता र उल्का झरी, पुछ्रेतारा, सूर्य, विभिन्न मुद्राका चन्द्रमा, रातको समयमा जङ्गली जनावरहरुको चित्कार, निष्पट्ट अँध्यारो, आफु जस्ता मानवहरु दिउँसोको समयमा पनि आफ्नो अगाडि नभएका अवस्था आदिमा मानव जाति निकै भयभित र त्रसित हुन्थे र आजसम्म पनि हुन्छन्। भूत–प्रेत, शुन्यता, डरलाग्दा जनावरहरु र मान्छे स्वयम्बाट तर्सेकाहरु मध्येका अलिक टाठा बाठाहरुले नै इश्वरको अवधारणलाई जन्म दिएको हुन सक्दछ । हाम्रो रक्षा गर्ने इश्वर छ, उसलाई पुज्नु पर्छ भन्ने भावना चेतनशील प्राणी मानवको मनमा विजारोपण गर्न सफल भएपछि नै इश्वर कस्तो हुन्छ त भनेर कल्पना गर्दा विभिन्न समयका इश्वरका रूप, आकृति र आनिबानी बारेका कल्पनाहरु मानवमा आएका हुन सक्छन्। आदिम मानवले कन्दमूल र फलफुल पछि शिकारलाई नै आफ्नो मूल आहार ठानेकाले पशु–पंक्षीको शिकार पश्चात केही अंश इश्वरलाई चढाएर खानुपर्छ भन्ने अवधारणाको विकास हुँदै गएको हुनुपर्दछ । पछि पछि यस्ता पशु–पंक्षीलाई मार्नु अघि यिनलाई इश्वरको सम्झना गरेर मार्ने गरेको र इश्वरका विभिन्न रूपहरु जस्तै वनदेवी, अन्तरिक्षका तारा र ग्रह, अनेक डरलाग्दा इश्वररूपी आकृतिहरु, आगो, पानी आदिलाई रगत चढाएर मासु खाने गरेबाट नै बलीको शुरुवात भएको हुन सक्छ । पछि पछि बली एक नियमित कार्य हुन थाल्यो र दैनिक, साप्ताहिक, मासिक, वार्षिक र केही  निश्चित समयमा एक चोटी गर्ने संस्कार नै बन्न गयो र यी बाहेक विशेष परिस्थितिमा पनि बली दिने गरिन थाल्यो । त्यस्तै देवी–देवता अनुसार बलीको किसिममा पनि स्पष्ट नियमहरु बन्न थाले।

 

एउटै महादेशमा बस्ने विभिन्न आदिवासीहरुको एकापसमा भेट नहुने तथा झनै अन्य महादेशका मानवहरुसँग त केही हजार वर्ष अघि देखि मात्र भेट हुन थालेको भएता पनि सबै ठाउँका मानव जातीहरुले यस्ता विषयहरुमा आआफ्ना किसिमले सोचिनै रहेका हुँदा रहेछन् । विभिन्न ठाउँमा आ-आफ्ना प्रकारका आस्थाका धर्म र इश्वरका अवधारणाहरु बन्न थाले र विभिन्न धर्मका दर्शनहरु पनि मानवले नै प्रतिपादन गरे । एकापसमा भेटघाट र सान्निध्यता बढ्दै गएपछि यिनका इश्वरहरु पनि साझा हुँदै गए। फलस्वरुप इश्वरलाई पुज्ने र बली दिने प्रथामा एकरुपता आउन थाल्यो र यसले व्यापकता पाउन शुरु भयो ।

 

यसरी नै आजका विभिन्न धर्महरु एकापसमा समाहित हुँदै र विशाल हुँदै गए भने साना समूदायहरु समाज र राष्ट्रमा परिणत हुन थाले तथा आफुले जितेका भू-भागहरुमा पनि आफ्ना धर्म र संस्कृति लाद्न थाले । यही प्रकृयाको विकास हुँदै गएर आज विश्वमा एक दर्जन भन्दा बढी धर्महरुले आदिपत्य जमाउन सफल भएका छन् । विश्वका सबै ठाउँहरुमा आजसम्म पनि आदिवासीहरु अल्पसङ्ख्यामा भएपनि रहि नै रहेका छन् र तिनले आफ्ना पुरातन धर्म र विश्वासलाई पनि जोगाएर नै राखेकै छन् । तिनीहरुका संस्कृतिहरुबाट पनि हामी हजारौँ वर्ष अगाडिका धार्मिक र सांस्कृतिक कृयाकलापहरुको बारेमा कल्पना गर्न सक्दछौँ ।

 

आजसम्म पनि पशुबलीले मानव मष्तिष्कमा जरा गाडेर बसेको छ भने आजभन्दा केही दशक अघिसम्म त विश्वका विभिन्न ठाउँहरुमा नरबली दिइने गरेका कुराहरु पनि सुन्नमा आउँथे । आज भने नरबली माथि विश्वभरी नै प्रतिवन्ध लगाइएको छ र यस्तो कार्यलाई हत्याकै सङ्ज्ञा पनि दिइएको छ तर पशुबली भने आज पनि विश्वका धेरै धर्म, संस्कृति र ठाउँहरुमा निकै प्रचलित छ। केही धर्मभिरुहरुले आजपनि विभिन्न गरिव मुलुकहरुबाट श्रम गर्न विदेशिएका मानिसहरुको अपहरण गरेर तिनका घाँटी रेटेर मारेका भिडियोहरु प्रसार गर्ने गरिएका छन् । त्यस्ता अपराधी रराजनीतिक अतिवादीहरुबाट संरक्षित संस्थाहरुले इश्वरको नाममा त्यस्ता कुकृत्य गरेको र आफ्नो धर्म, राष्ट्र र समाजको निम्ति गरिएका जघन्य अपराधबाट आफु स्वर्ग पुग्ने कुराहरु पनि बताउने गर्दछन् । त्यस्तै धर्मकै निम्ति आफ्नो प्राण आहुती दिने काम पनि बली जत्तिकै भयानक कार्य हो। एक पटक पाइने आफ्नै ज्यान धर्मको नाममा फाल्ने मानिसहरु वास्तवमै स्वर्ग पुगे वा तीनले विनासित्ति एक पटक पाएको जीवन खेर फाले, त्यो बुझ्नै कठिन छ ।

 

क्रिश्चियन धर्मकै कुरा गर्दाक्रिश्चियन पादरीहरु जेजस क्राइस्टको शहादतरूपी बली पश्चात यो धर्ममा बली प्रथा अब नरहेको बताउँछन्। पुरातन मेडिटरेनियन, ग्रिक, ल्याटिन र रोमन सभ्यताहरुमा बलीको ठूलो महत्व रहेको कुरा ऐतिहासिक दस्तावेजहरुले समेत प्रस्ट्याउँछन् । यी युरोपेली सभ्यताहरुमा बोका, भेँडा, गोरु, साँढे, घोडा, सबै किसिमका खान हुने चराहरु, जङ्गली जनावरहरु र माछासमेत बलीको निम्ति उपयुक्त ठानिन्थे । क्रिश्चियन धर्मको शुरुवात पश्चात बली दिएर मारिएका जनावरहरुको मासु क्रिश्चियनहरुले वहिस्कार गरेको पाइन्छ । आज अधिकांश पश्चिमा मुलुकहरुमा बली भन्ने शव्द समेत लोप हुन थालिसकेको छ भने बलीको त कुरै छोडौँ ।

 

यहुदीहरुले पनि पशुवली र रगत चढाउने प्रथा छोडिसकेको भएपनि केही कट्टरपन्थीहरुले भने वर्षको एक चोटी भेँडा, बाख्रा र कुखुराको बली चढाउने गरेका छन् । सिरियनहरुको पनि माछाको बली दिने परम्परा निकै पछिसम्म कायम थियो । दक्षिण अमेरिकाका माया, एज्टेक, इन्का आदिवासी र अन्य बासिन्दाहरु पनि बलीमा खुबै विश्वास गर्दथे र यो प्रथा आज पनि कायमै छ । त्यसमाथित्यहाँ करिव चौधौँ शताव्दिसम्म पनि नरबली दिने प्रथा निकै प्रचलित थियो। त्यस्तै प्राचिन चीन र इजिप्ट जस्ता सभ्य भनिएका मुलुकहरुमा राजा र सामन्तहरुका श्रीमती, भित्रिनी, कामदार र सुसारेहरु समेत उनीहरुसँगै जिउँदै गाडिन्थे भने कैयौँ मुलुकहरुमा मानिसहरुलाई इश्वरको नाममा जिउँदै कुवा, समुद्र र नदीमा फ्याँकेर बली दिने निर्मम चलन पनि थियो। भारतमा ब्रिटिश शासन अघिसम्म पनि द्रविडहरुमा नरबली प्रथा कायमै थियो भने हिन्दूहरुमा सती प्रथा पनि निकै पछिसम्म चलिरहेको थियो ।नेपालमा पनि चन्द्रशमशेरले सती प्रथा हटाएका हुन् ।

 

इस्लाम धर्ममा इव्राहिमलाई सपनामा इश्वरले उनको छोराको बली मागे पछि उनले छोरालाई यो कुरा भन्दा उसले पनि इश्वरको आदेश पालना गर्नु पर्ने बताए पछि आफ्ना छोराको बली दिन तयार भएका इव्राहिमलाई इश्वरले भेँडाको बली (कुर्वानी) दिन आदेश दिएको र तत्पश्चात भेँडा वा यसको सट्टा गाई, भैँसी, बोका वा उँटको बली दिन थालेको कथन छ । बली दिएको जनावरको मासु एक तिहाई आफ्नो उपभोगको लागि, एक तिहाई साथिभाईको लागि र एक तिहाई गरिव–गुरुवामा बाँड्नु पर्ने नियम बन्यो । इश्लाम के पनि भन्छ भने कुर्वानी गर्नाले मासु वा रगत केही पनि इश्वरसम्म पुग्दैन तर इश्वर प्रतिको भक्ति भने देखिन्छ।

 

हिन्दूदर्शन र पौराणिक गाथा अनुसार प्राणीको छसायी लाख जुनी हुन्छ । त्यसैले हामीले विभिन्न प्रकारका जनावरहरुलाई इश्वरको बाहुलीमा बली दिँदा तिनीहरुले मोक्ष पाउँछन् र छिटो छिटो मानिसको जुनी पाउँछन् भन्ने कथन छ । वास्तवमा मानव जातिले आपूmलाई सबै प्राणीहरु भन्दा उत्कृष्ठ ठह¥याउन यस्ता अनेक कुराहरु हाम्रा शास्त्रमा उल्लेख गरेका छन् । हाल विभिन्न देवी–देवता हेरी बोका, बाख्रा, भेँडा, च्याङ्ग्रा, राँगा, हाँस, कुखुरा, परेवा आदि बली दिने हिन्दूहरु मध्ये केहीले सुंगुर पनि बली दिन्छन् भने परापुर्वकालमा आर्यन हिन्दूहरुले घोडा पनि बली दिने गर्दथे । यसो हुनुमा उनीहरुको युरोपसँगको पुख्यौली नातोले ठूलो भूमिका खेलेको थियो । विश्व विजय गर्न हिँडेका त्यतिबेलाका राजा–महाराजाहरुले घोडाको बली दिएर अश्वमेध यज्ञ नै गर्दथे ।कालो बोका हिन्दूहरुको लागि राम्रो बली भए झैं ग्रिकहरु पनि कुनै समय कालो बोका र कालो गोरुको बली दिन रुचाउँथे रे।

 

हिन्दू धर्म भित्रैका शैव धर्म र वैश्णवी धर्म मान्नेहरुले प्राणी बलीको साटो वनस्पती, फुल, दूध, मह, दही, पञ्चामृत, अन्न र रक्सी समेत चढाउने प्रेरणा दिए भने पशु बलीलाई कहिल्यै प्रोत्साहन दिएनन् । अरु त अरु, मेक्सिको र अन्य दक्षिण अमेरिकामा चुकन्दरलाई देवता मानेर सूर्यलाई देवताकै बली दिएर चुकन्दरबाट निस्केको रातो तरललाई रगत मानेर सबै भक्तजनहरुले प्रसाद स्वरुप खाने चलन अझ पनि छ। त्यस्तै क्रिश्चियनहरुले पादरीले पुजा गरेर दिएको रोटी र वाइनमा जेजस क्राइस्ट हुन्छन् भन्ने विश्वासका साथ यस्ता प्रसाद ग्रहण गर्ने चलन छ। 

 

वौद्ध धर्म अघिका नरबली र पशुबलीलाई बौद्ध भिक्षुहरुले ठूलो पापको संज्ञा दिएर भक्तजनहरुलाई त्यसको सट्टा पुष्प, फलफुल र बनस्पतिजन्य वस्तु चढाउने प्रेरणा दिए । तर बौद्ध धर्म मान्ने कैयौँ प्रकारका बौद्ध धर्मावलम्बीहरु मासु भने खाने गर्दछन्। स्वयम् गौतम बुद्ध मासु खान्थे र कुनै दाताले बासी मासु–भात खान दिएर पेट खराव भएपछि भारतको कुशीनगरमा उनको ८० वर्षको उमेरमा मृत्यु भएको कथन छ।  

 

विभिन्न धर्म अनुसार बली दिने तरिका पनि फरक हुन्छ । यहुदीहरुको बली दिने प्रथालाई कोशर (जनावरलाई झुण्डाएर छुरीले घाँटी रेट्ने), मुश्लिमहरुको हलाल (अल्लाहको नाम लिएर छुरीले घाँटी रेट्ने), शिखहरुको झट्का (मार हान्ने) र हिन्दूहरुको झट्का र घाँटी रेट्ने दुवै निर्मम चलनहरु छन्। अफ्रिकामा पनि आफ्ना धार्मिक विश्वास अनुसार कुनै समुदायले बली दिँदैनन् भने दिनेहरुले सोही अनुरुप दिन्छन् तर जनावरको घाँटी आधा रेटेर रगत चढाउने प्रचलन नै सबैभन्दा बढी छ। अफ्रिकामा धेरै किसिमका आदिवासीहरुको बसोवास भएकोले तिनका पुरातन संस्कृति र बली प्रथा आजसम्म पनि जिवित छन्।

 

आजको आधुनिक जमानामा विश्वका सबैजसो ठाउँमा बस्ने चेतनशील मानिसहरुमा बिस्तारै बली प्रथा राम्रो नभएको आभाष हुँदै गएको छ। पशुबली विरुद्ध आवाज उठाउने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरु र तिनका अनुयायीहरुको संख्या पनि दिनानुदिन बढ्दै छ। तथापि धार्मिक कट्टरता र भयले गर्दा धेरै मानिसहरु यो विषयमा बोल्न चाहँदैनन्। विकसित राष्ट्रहरुमा बली प्रथा विस्तारै लोप नै हुँदै गइसकेको छ भने अन्य ठाउँहरुमा यसमा कमी आइरहेको छ । हामी केटाकेटी छँदा हाम्रो समाजमा पनि चाडपर्व, खासगरी दशैँमा पशुबली अनिवार्य रूपमा दिने चलन थियो भने आजको नेपालमा यो प्रथामा विस्तारै कमी आउन थालेको छ । शिक्षाको विकास, आधुनिक रहन सहन, धर्ममा लचकता, पशु अधिकारका कुराहरुको उठान र व्यापक जनचेतनाले गर्दा पनि यस्ता कुसंस्कारहरु कम हुँदै गइरहेका छन्। हिन्दू धर्ममा पशुबलीको सट्टा नरिवल, लौका, मुला, कुविण्डो आदिको बली र अण्डा, अन्न, फुल, दुध आदि चढाएर पनि शान्तिपुर्वक पुजा हुन सक्ने व्यवस्था भएकाले पशुवली जस्ता रक्तपातपूर्ण अन्धविश्वासी कुप्रथामा कमी आउन थालेको हो।

 

आफ्नो, परिवार र समुदायको भलोको लागि इश्वरलाई खुशी पार्ने नाममा कुनै प्राणीको निर्मम हत्या गरेर त्यसको रगत चढाउने र खाने, त्यसको हड्डीलाई विभिन्न धार्मिक कार्यहरुमा उपयोग गर्ने, र त्यसको मासु लुछाचुँडी गरेर खाने कार्य न त पहिले नै शोभनीय थियो न आजको आधुनिक वैज्ञानिक युगमा। प्रधानमन्त्री निवास वालुवाटारमा बस्न जाँदा गरिने बोका बली वा पूर्वराजा तथा विभिन्न नेताहरुले गर्ने गरेका पञ्चबली सबै पाखण्ड नै हुन् । त्यस्तै हाम्रो राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवाका जहाजहरु र मोटरगाडीहरुमा दिइने पशुवली पनि पाखण्डका घोर पराकाष्ठापूर्ण उदाहरण हुन्। नेपालले अन्तरिक्षमा रकेट पठाउन सक्यो भने पनि पशुबली दिएर पुजा गरेपश्चात मात्र रकेट पठाउला। हुनत चन्द्रमामा मानिस उतारेका मुलुक र आज निकै नै धेरै विकास गरेका कैयौँ युरोपीय मुलुकहरुले पनि आजको जमानामा पनि विकास अनुदान दिने निहुमा धर्म फैलाउन कति धेरै कुकर्महरु गरिरहेका छन्। यस्तो कार्यले त मानिसमा पाखण्डको मात्रा कति धेरै रहेछ भन्ने कुराको मात्र चित्रण गर्दछ । त्यसैले पनि हामीले सच्चा रूपमा एक्काइसौँ शताव्दिका दयावान, आधुनिक र प्रगतिशील नागरिकको पहिचान दिन यस्तो जघन्य अपराध र हिनता वोध हुने पाखण्डी कुकार्यबाट आफुलाई अलग राख्नु पर्दछ र धर्म तथा संस्कृतिको रक्षा गर्न वैकल्पिक शान्तिप्रिय प्रकृयाहरु अपनाएर रमाइलोसँग चाडवाड मनाउनु पर्छ। आजै हामी प्रण गरौँ कि यसपालीको दशैँदेखि हामी पशुबली रहित चाडपर्व मनाउँछौँ र आफ्नो सुसभ्यताको परिचय दिन्छौँ भनेर । 

 

(लेखक विकास अर्थशास्त्री र पुर्व बैंकर तथा नेपाल एकल व्यक्तित्व समाजका अध्यक्ष समेत हुन् ।)

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार