• सोमबार ७-१-२०७८/Monday 10-18-2021
डबली

दशैं लाग्यो !

बुढी : “सामान नहालौं भनेकै हो ।”

 

बुढा : “भनेर हुन्छ ब्यापार त गर्नै पर्‍यो नि !”

 

बुढी : “दिउँसभरी पसल कुर्नु मात्र । ”

 

बुढा : “अलिअलि मान्छे आएकै छन् त। यस्तो बेलामा पनि घ्याप्प नाफा खोजेर हुन्छ ।”

 

बुढी : “सौ दुई सौ फाइदा लिएर बेच्नै पर्‍यो । सटरको भाडा तिर्न पनि पुग्दैन।

 

पोहोर पसल बेचौं भनेको टेरेनन् । दशैंमा पनि बेपार छैन । यसपाली बेपार –सेपार चौपट । ”

 

पसलमा देवताको तस्विर राखेकै छन्। अबिर केशरी पोतेकै छन् । जौ तिल नैबेद चढाएकै छन्। यसरी पूजाआजा गर्दा त मान्छे भए, उहिल्यै प्रशन्न भइसक्थ्यो । पोहोर परार त बिक्री राम्रै थियो । यसपटक समय परिस्थिति बेग्लै भयो। पहिले दशैं आउनुभन्दा महिनौं अगाडि पसलमा मान्छेको घुईँचो हुन्थ्यो । एउटै कपडामा हजार दुईहजार नाफा हुन्थ्यो। पसल धान्न बुढा बुढीलाई भ्याई नभ्याई हुन्थ्यो। चाडबाडको समयमा छोरा बुहारीले समेत सघाउँदा पनि भ्याइन्नथ्यो । महेश्वरले सटरको भाडा नतिरेको पनि तीन महिना भयो । यस अघि पनि बल्ल बल्ल गरेर तिरेको थियो । ब्यापार न्यून छ । मान्छेहरुमा त्रास छ । दशैंको रौनक पहिले जस्तो छैन । एकदिन अलिकति नाफा बढायो । अर्को दिन छैन । 


ग्राहकहरु आउँछन् र जान्छन् । उतिसारो समय दिएर कपडा छान्न पनि मन पराउँदैनन्। भाउ घटाउँछन्। उनीहरुले भनेको दाममा दिने हो भने साँवा पनि उठ्दैन । 

 

महेश्वरको कपडा पसलमा विभिन्न डिजाइन र साइजका रेडिमेड कपडाहरु बिक्रीका लागि राखिएका छन्। 

 

एउटा मानिस पसलमा छिर्यो र झुण्ड्याई रहेको टिसर्टको मूल्य सोध्यो। 

 

“ दाइ यो टिसर्टको कति हो ?”

 

“मूल्य त्यहीँ टाँसेको छ । हेर्नुस् न ।”, महेश्वरले जवाफ फर्कायो । 


“ह्याँ ... हजार पो लेख्या रैछ।”, कस्तो महङ्गो। उसले मुख बिगार्‍यो र हिँड्यो । त्यसको दुई घण्टासम्म पसल भित्र कोही छिरेनन् । दुईघण्टा पछि भने एउटी महिला देखा परिन्।    उनले  झुण्ड्याईरहेको कुर्थातिर नजर लगाइन् । 

 

“यसको सल कस्तो छ दाइ रु कुन कुन कलरमा छ ? ”

 

महेश्वरकी बुढीले रातो र नीलो रङ्गको कुर्था सुरुवाल निकालिन्। सलहरु पनि निकालिन्। अलि टाडैबाट देखाइन् । ती महिलाले अरु पनि देखाउनुस् न भनिन् पन्ध्रवटा जति कुर्थासुरुवालका सेटहरु फिजारिइसकेका थिए । कम्तिमा पनि एउटा पिस त बिक्री होला भन्ने आश थियो तर अहँ एउटा पनि बिक्री भएन ।

 

बिक्री गर्न ग्राहकको चित्त बुझाउनै पर्‍यो । तर चित्त बुझाउन पनि गाह्रो छ। चित्त बुझाईहाले पनि बार्गेनिङ्ग गर्छन् । फिक्सड् रेट हो भन्दा पनि आधा मूल्य घटाउन खोज्छन्। दिउँसभरी पसल कुर्दा पनि एकजोर जिन्स पाइन्ट र दुई जोर लेहेङ्गा मात्र बिक्यो । 

 

“ पसल बेच्न पाए पनि हुनी । महेश्वरकी बुढीले भनिन् ।”

 

“ बिक्री भए पो बेच्नु । यस्तो महामारी छ । राम्रो ब्यापार छैन । कसले दाम हाल्ने । ”, बुढो चाहिँले भन्यो । 

 

“ कत्ति भाडा मात्र तिर्नु ।”, बुढी फत्फताई । 

 

भाडा महिनै पिच्छे खप्टिँदै गईरहेको छ । ब्यापार राम्ररी नभएपछि  खल्तिको पैसा हालेर भएपनि भाडा तिर्नै पर्छ।

 

घरबेटी आइपुगिन् । उनलाई देखेपछि महेश्वर आत्तियो । बुढी चाहिँ सम्यमित भइन् ।

 

“ब्यापार छैन ।”, महेश्वरकी बुढीले भनिन् । यसो भनिरहँदा उनको अनुहार कालो निलो थियो । 

 

“कपडा हेरौं कि भनेर आको । दशैं लागिसक्यो ।”, घरबेटीले कुरा मोडिन् ।

 

“हुन्छ हेर्नुस् न ।”, महेश्वरकी बुढीले जवाफ फर्काइन् । उनले दश हजार मूल्य जतिका कपडा छानिन् । 

 

“भाडामा मिलाउँला नि है ।”, घरबेटीले भनिन् । 

 

“ हेर्नुस् न ब्यापार नै छैन। दशैं मनाउने खर्च पनि नहुने भयो ।”, महेश्वरले भन्यो । 

 

महेश्वरकी बुढीले पनि बिन्तिभाउ गरिन् । त्यसपछि बल्लबल्ल घरबेटीले दश हजार तिरिन् र आफ्नो बाटो लागिन् । 

 

धन्न धन्न यसपटक घरभाडा तिर्नु परेन । दशैंलाई खर्च गर्न अलिकति पैसा हुने भयो।

 

फोन आयो । होलसेलवालाले फोन गरेको थियो । “महेश्वरजी पैसा कहिले तिर्ने हो । डेढ लाख भइसक्यो । ”

 

“अहिले त ब्यापार छैन हजूर ।”, उसले भन्यो ।

 

होलसेलवालाले ठूलो – ठूलो स्वरले थर्काउन थाल्यो । निकैबेर बिन्तिभाउ गरेपछि उसले फोन राख्यो ।

 

यसपटक ब्यापार धानेर कमाई गर्न मुस्किल भयो । चाडबाड आयो भन्नु मात्र । देशभरी कोरोनाको त्रास छ ।  

 

होलसेलवाला अएर सोकेश, दराज र अरु सामान उठाएर लाने हो कि ? महेश्वरलाई यस्तै यस्तै कुराको चिन्ता छ । तैपनि उसले सटर बन्द गरेन। ग्राहकको प्रतिक्षा गरिरह्यो ।
                      

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार