• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
प्रवास

कुल आचार्यलाई एनआरएनए अध्यक्ष बनाउन कांग्रेस र माओवादी केन्द्रको परिपत्र, एनआरएन भित्र हलचल

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न १०औं विश्व सम्मेलन थप रोचक बन्ने देखिएको छ । सत्तारुढ गठबन्धन आबद्ध दलहरुले प्रवासस्थित आफ्ना भातृ र शुभेच्छुक संगठनहरुलाई आन्तरिक सर्कुलर गरेर गठबन्धन समर्थित उम्मेदवारलाई विजयी गराउन निर्देशन दिएका छन् । 

 

विशेष गरी नेपाली कांग्रेस र माओवादी केन्द्रले यही अक्टोबर २० तारिखदेखि तीन दिनसम्म चल्ने एनआरएनएको चुनावलाई लिएर खुलेरै परिपत्र जारी गरेका हुन्। तर उक्त परिपत्रको केही एनआरएनए अभियन्ताहरुले विरोध जनाएका छन् ।

 

अध्यक्षका प्रत्यासी कुल आचार्यको पक्षमा कांग्रेस र माओवादीले खुलेरै परिपत्र जारी गरेपछि एआरएनए भित्र हलचल मच्चाएको छ । ती पार्टीहरुले लोकतान्त्रिक धारका आचार्यको प्यानललाई विजयी गराउन आग्रह गरेका छन्। जसका कारण चुनावी माहोल तातेको छ। एनआरएनएमा आचार्यसँगै डा.बद्री केसी र रविना थापा चुनावी मैदानमा छन् । डा।केसीले चुनावी प्यानलनै घोषणा गरिसकेका छन् ।

 

नेपालमा भएको सत्ता गठबन्धनअनुसार नै एनआरएनएमा पनि गठबन्धन गर्नुपर्ने नीतिका साथ कांग्रेस र माओवादी एक ठाउँमा उभिँदै आन्तरिक सर्कुलर गरेर चुनाव आफू अनुकुल बनाउने योजनामा देखिएका छन । यो भन्दा पहिले नेपाली कांग्रेस केन्द्रीय कार्यालयले असोज १५ गते नै विदेशस्थित सबै जनसम्पर्क समितिका अध्यक्ष तथा संयोजकलाई आन्तरिक सर्कुलर पठाएर लोकतन्त्रवादी समूहलाई विजयी गराउन परिपत्र जारी गरेको थियो ।

 

लोकतन्त्रवादी समूहलाई विजयी गराउन तथा आवश्यक समन्वय गर्नका लागि कांग्रेसका तर्फबाट गठित पूर्णबहादुर खड्का नेतृत्वको समितिको बैठकको निर्णयअनुसार सर्कुलर गरिएको छ । सो सर्कुलरमा आचार्य नेतृत्वको प्यानललाई जिताउन आ–आफ्नो देशभित्र रहेका साथीहरुसँग आवश्यक समन्वय र सहयोग गर्नका लागि अपिल समेत गरिएको छ। साथै युरोप, एसिया, अमेरिका, अफ्रिका, मध्यपूर्व र ओशिनिया क्षेत्रका देशहरुमा पार्टीका तर्फबाट आवश्यक समन्वय गर्नका लागि केन्द्रीय नेताहरुलाई जिम्मेवारी दिईएको छ ।

 

युरोप क्षेत्रका लागि प्रकाशशरण महत र गगन थापा, एशिया क्षेत्रका लागि अर्जुन नरसिंह केसी र अर्जुन जोशी,अमेरिका क्षेत्रका लागि मिनेन्द्र रिजाल, अफ्रिका, मध्यपूर्व क्षेत्रका लागि गोविन्द भट्टराई र विश्वप्रकाश शर्मा, ओसेनिया क्षेत्रका लागि सुरेन्द्रराज पाण्डेलाई जिम्मेवारी प्रदान गरिएको छ।

 

यस्तै नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकको निर्णयले पनि नेपालकै सरकारमा जसरी गठबन्धन बनाएर एनआरएनएमा कुल आचार्य समूहलाई जिताउन प्रवासका कमिटीहरूलाई आन्तरिक सर्कुलर गरेको छ। नेकपा माओवादी केन्द्रको असोज ६ गते बसेको स्थायी कमिटीको बैठकको निर्णय अनुसार माओवादीको प्रवास समन्वय कमिटीलाई सो आन्तरिक सर्कुलर जारी गरेको थियो ।

 

सोहीअनुसार विदेशमा रहेका माओवादी निकट नेपाली जनप्रगतिशील मन्चहरुले उम्मेदवार तय गर्नेदेखि आचार्यको पक्षमा माहोल बनाउनेसम्मका अभियान गरिरहेका छन। माओवादी अध्यक्ष प्रचण्डले असोज ७ गते प्रवास सम्पर्क समन्वय समितिका इन्चार्ज नारायणकाजी श्रेष्ठलाई यसबारे आवश्यक निर्देशन समेत दिएका थिए।

 

प्रचण्डले ‘एनआरएनएको सम्मेलनलाई विधिसम्मत र उद्देश्यमूलक ढंगले सफल पार्न प्रवास समन्वय समिति र त्यसमार्फत संगठनहरुले सकारात्मक भूमिका खेल्न निर्देशन दिएका छन । यसको नेतृत्व निर्माणको सन्दर्भमा वर्तमान सरकारमा रहेका राजनैतिक दलहरूको गठबन्धनसँगको एकता र सहकार्यको नीति लिइएको जनाईएको छ।

 

पार्टी केन्द्रसँगको समन्वयमा यसबारेमा ठोस निर्णय लिने जिम्मेवारी प्रवास समन्वय समितिलाई दिइएको बताइएको छ । माओवादीले संघको भूमिका एवं महत्वलाई दृष्टिगत गरी सदस्य बन्न योग्यता पुगेका संगठनका सदस्यहरुलाई एनआरएनएको सदस्य लिन पनि अनुरोध गरेको छ ।

 

एनआरएनएमा आधिकारिक रुपमा दलीय प्यानल बनाएर चुनाव लड्न नपाइने व्यवस्था भएपनि राजनीतिक प्रभाव भने हरेक निर्बाचनमा हावी हुने गरेको छ।आचार्यका मुख्य प्रतिस्पर्धीका रुपमा देखिएका डा।केसी भने एमालेको उम्मेदवारका रुपमा प्रचार गरिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले केसीको प्यानललाई समर्थन गरेको बताइए पनि आधिकारिक रुपमा पार्टीले धारणा सार्वजनिक गरेको छैन् । सत्तारुढ दलकै नेताहरु आचार्यको पक्षमा देखिएपछि केसीको प्यानलमा हलचल आएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार