• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
पत्रपत्रिका

दसैंका सामान बोकेका १२ सय कन्टेनर नाकामै रोकिए

काठमाडौं । व्यवसायीले दसैंलाई लक्षित गरेर ल्याएका एक हजार २ सय कन्टेनर सामान नाकामै रोकिएका छन् । समयमा भन्सार पास नहुँदा रसुवाको केरुङ र सिन्धुपाल्चोकको तातोपानी नाकामा कन्टेनर रोकिएका हुन् ।


व्यवसायीले दसैंलाई लक्षित गरेर सामान अर्डर गरेका थिए । भन्सार कार्यालयले कोभिडका कारण कर्मचारी अभाव देखाउँदै १० दिन सामानको भन्सार पास नगर्दा ती सामान नाकामै रोकिएको राष्ट्रिय व्यवसायी महासंघले जानकारी दिएको छ ।


महासंघका अध्यक्ष नरेश कटुवालले दसैंलाई लक्षित गरेर ल्याएका सामान नाकामा रोकिँदा व्यवसायीले बिक्री गर्न नपाएको बताए । दसैंलाई भनेर ल्याएका लत्ताकपडा, जुत्ताचप्पल, कस्मेटिक, बिजुली बत्ती गरेर झण्डै १२ सय वटा कन्टेनर केरुङ र तातोपानी नाकामा रोकिएको उनले जानकारी दिए ।


“व्यवसायीले वर्षभरीमा व्यापार गर्ने सिजन भनेको दसैं मा हो,” उनले भने, “बिक्री गर्ने समयमा सामान नआउँदा व्यवसायीले करोडांै रुपैयाँ घाटा बेहोर्नुपरेको छ ।” चाडपर्वको बेला व्यवसायीले दोब्बर–तेब्बर कारोबार गर्ने गरेका छन् । चाडपर्वमा सबैले सामान खरिद गर्ने भएकाले पनि वर्षभरीको व्यापार दसैंको बेला हुने व्यवसायीको भनाइ छ । भूकम्पको कारण तातोपानी नाका लामो समय बन्द भएको थियो । सामान आउन ढिला भएपछि नेपाली व्यवसायीहरूले करोडौं रुपैयाँ घाटा बेहोर्नुपर्ने अवस्था सिर्जना भएको अध्यक्ष कटुवाल बताउँछन् ।


भन्सारका कर्मचारी सरुवा भएको तथा कोरोना पोजेटिभ भएका कारण मात्रै नभएर नाकामा पहिलेदेखि नै समस्या आएकाले हरेक वर्षजसो सामान आयातमा समस्या हुँदै आएको उनको भनाइ छ । तातोपानी र रसुवा स्थलमार्गबाट हुँदै आएको व्यापार ६ वर्षदेखि पूर्ण रूपमा बन्द छ । भूकम्पपछि लामो समयसम्म बन्द तातोपानी नाका चार वर्षपछि खुले पनि दैनिक १० कन्टेनरभन्दा बढी सामान आयात गर्न बन्देज लगाइएको छ ।

 


चीनले रसुवा नाकाबाट पनि दैनिक ९ कन्टेनर मात्र आयात गर्ने अनुमति दिएको छ । नेपालीले चीनमा खरिद गरेको सामान ल्याउन पाएपनि यताको व्यापारिक वस्तु उता बेच्न भने पाइँदैन । दुवै नाकाबाट नेपालीको आवतजावत ‘अघोषित प्रतिबन्ध’ छ । नाकाको सडक वर्षौंदेखि जीर्ण भएपनि यसको निर्माण र मर्मत सरकारको प्राथमिकतामा नपरेको व्यवसायीको गुनासो छ ।


चीनसँग जोडिएका यी दुई नाकालाई असजिलो पर्दा सघाउने वैकल्पिक मार्गका रूपमा हेरिने गरेपनि आयात–निर्यातमा देखिएको समस्या हल गर्न दुवै मुलुकको अग्रसरता नदेखिएको व्यवसायीको भनाइ छ ।
उत्तरी नाकामा रहेका भन्सारका कर्मचारीहरू केहीलाई कोरोना पोजेटिभ भएको र केही कर्मचारीहरू सरुवा भएका कारण जाँचपास नहुँदा समस्या आएको भन्सार विभागले जानकारी दिएको छ । दसैंका बेला समान समयमा नआइपुग्दा समस्या हुनु स्वभाविक भएको भन्दै नाकामा रोकिएका सामानको जाँचपास सुरु गरिएको विभागले जनाएको छ ।लक्ष्मी सापकोटा /कारोबार

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार