• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
डबली

‘नबिल किताब जात्रा २०७८’ संस्कृतिविद् सत्यमोहन जोशीलाई सम्मान,बेस्ट सेलर अवार्ड’ जीवा लामिछानेलाई

काठमाडौं । किताब यात्रा फाउन्डेसनको आयोजनामा हरेक वर्ष हुने ‘किताब जात्रा’ आइतबारबाट सुरु भएको छ। एपी वान टेलिभिजनमा एक सातासम्म प्रशारण हुने ‘नबिल किताब जात्रा २०७८’ को पहिलो दिन संस्कृतिविद् सत्यमोहन जोशीलाई सम्मान गरियो ।

 

जोशीलाई नेपाली वाङ्मय क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने व्यक्तित्वलाई हरेक वर्ष प्रदान गरिने ‘प्रेम साहित्य सम्मान’ प्रदान गरिएको किताब जात्राको फेस्टिभल डाइरेक्टर ऋषिराम अधिकारीले बताए ।  एक लाख एघार हजार एक सय एघार रूपैयाँ राशी रहेको सम्मान सर्लाही जिल्लाका शिक्षासेवी स्व. प्रेमप्रसाद अधिकारीको स्मृतिमा स्थापना गरिएको हो । उक्त सम्मान यसअघि साहित्यकार सरुभक्त र कवि जसराज किराँतीले प्राप्त गरिसकेका छन् ।

 

त्यसैगरी, जात्राकै अवसरमा प्रदान गरिने ‘किताब यात्रा बेस्ट सेलर अवार्ड’ जीवा लामिछानेको कृति ‘देश देशावर’ले प्राप्त गरेको छ। ‘किताब यात्रा डटकम’ले वर्ष दिनको अवधिमा आफ्नो प्ल्याटफर्मबाट सर्वाधिक बिक्री भएको पुस्तकलाई यो अवार्ड प्रदान गर्ने गरेको छ। आख्यानकार अमर न्यौपानेलिखित ‘गुलाबी उमेर’ र विजयकुमारलिखित ‘सम्बन्धहरू’ले यसअघि उक्त अवार्ड प्राप्त गरिसकेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले पठाएको सफलताको शुभकामना सन्देश वाचनबाट सुरु भएको जात्रामा हास्यकलाकार हरिवंश आचार्यले ‘कि नोट स्पिच’ राखेका थिए ।

 

जात्राको पहिलो छलफल सेसनको रूपमा ‘कथा लेखनको कथा’ शीर्षकमा आख्यानकार नयनराज पाण्डे र अमर न्यौपानेसँग शोभिता सिंखडाले अन्तरक्रिया गरिन् । त्यसैगरी गायक अमृत गुरुङसँगको अन्तरंग संवादलाई टीकाराम यात्रीले ‘नेपथ्यका सारथीः अमृतका अन्तर कुन्तर’ शीर्षकमा प्रस्तुत गरे ।

 

किताब यात्रा फाउन्डेसन’ले हरेक वर्ष आयोजना गर्ने ‘किताब जात्रा’ अबको एक सातासम्म एपीवान टेलिभिजनबाट बेलुकी ६ बजेदेखि ७ बजेसम्म र किताब जात्रा युट्युब च्यानलबाट हेर्न सकिनेछ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार