• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
देश/प्रदेश

मुख्यमन्त्री पोखरेल र इयु राजदूत नोना बीच भेट,आपसी सहकार्यका विषयमा छलफल

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र युरोपियनका तर्फबाट नेपालका लागि राजदूत नोना डेप्रेबीच आइतबार मुख्यमन्त्री कार्यालयमा औपचारिक भेटवार्ता भएको छ। उक्त अवसरमा मुख्यमन्त्री नेपालीले युरोपियन युनियनमा आवद्ध मुलुकहरुसँगको नेपालको मित्रता र नेपालको विकासमा ती मुलुकहरुको पुर्‍याएको योगदानको स्मरण गर्दै आगामी दिनमा समेत निरन्तरता पाउने विश्वास व्यक्त गरे । 

 

२०७२ मा गोरखालाई केन्द्रबिन्दु बनाएर गएको विनाशकारी भूकम्प पश्चात्को पुनर्निमाणमा युरोपियन युनियनको सहयोग अतुलनीय रहेको मुख्यमन्त्री पोखरेलले बताए। उनले नेपालको अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धन र प्रतिस्पर्धात्मक क्षमता बृद्धि, विद्यालय क्षेत्र विकास योजना अन्तर्गत शिक्षा क्षेत्रको सुधार,बहुक्षेत्रीय पोषणमा रहेको सहयोगले नेपालको विकासमा धेरै फड्को मारेको भनाइ राखे। उनले भने, ‘दिगो विकास लक्ष्य प्राप्तिका लागि उपलब्ध गराएको सहयोग हाम्रा लागि अत्यन्त महत्वपूर्ण छन् ।’ 


अहिलेको महामारिको बिरुद्ध विश्वलाई एकजुट बनाउन र स्वास्थ्य उपचार तथा भ्याक्सिनमा सबैको पहुँच पु¥याउन इयुको योगदान ठूलो रहेको भन्दै मुख्यमन्त्री नेपालीले यी सहयोगका लागि युरोपियन युनियन र त्यहाँका जनताप्रति आभार व्यक्त गरे । 


प्रदेश सरकार कोभिड महामारिले थला परेको आर्थिक क्षेत्रको पुनरुत्थान र शिक्षा, स्वास्थ्य र पोषणजस्ता सामाजिक क्षेत्रको पुनर्जीवनका लागि उच्च प्राथमिकताका साथ काम गरिरहेको जानकारी उनले गराए । मुख्यमन्त्री पोखरेलले यसको क्षति आँकलन र समस्यामा परेका क्षेत्रको पुनरुत्थानका लागि योजनाबद्ध रुपमा अघि बढने प्रयत्न भइरहेको बताए । 


गण्डकी प्रदेशको तीनवटा अन्तर्राष्ट्रिय नाका भएता पनि अन्तर्राष्ट्रिय व्यापार विस्तार गर्न नसकिएको मुख्यमन्त्री पोखरेलले बताए । ‘एकातिर व्यापार विस्तारका लागि उपयुक्त पूर्वाधार विकास गर्न बाँकी छ भने अर्कोतर्फ निर्यात योग्य वस्तुको उत्पानदमा ध्यान दिनु आवश्यक छ,’ उनले भने । 


गण्डकी प्रदेशमा उच्च प्रतिफल दिने, प्रतिस्पर्धात्मक क्षमता भएका उच्च मूल्यका कृषि, जडिवुटी आदिको उत्पादन, प्रशोधन, प्याकेजिङ र ब्रान्डिङ गरी विश्व बजारमा पुग्न सक्ने बनाउनु थप काम गर्नु पर्ने देखिएको उनको भनाइ थियो । मुख्यमन्त्री पोखरेलले सबै विद्यालयलाई डिजिटाइज गर्ने, सामुदायिक विद्यालयको पूर्वाधार सुधार गर्ने, व्यावसायिक शिक्षा तथा तालिमका कार्यक्रहरुलाई प्रत्येक स्थानीय तहमा विस्तार गर्ने सम्बन्धमा धेरै काम गर्न बाँकी नै रहेको भनाइ राखे । 


दिगो विकास लक्ष्य हासिल गर्नका लागि एकीकृत प्रादेशिक तथ्यांक तयार पार्ने, स्थानीय तहलाई सूचक तथा प्राथमिकता तय गर्न सघाउने, अनुगमनले कमजोर देखिएका क्षेत्रमा सुधारका लागि लगानी गर्नु पर्ने अवस्था रहेको उनले बताए । उनले भने, ‘वातावरणीय सन्तुलन र गरिबी निवारणको साझा मुद्दा पेचिलो बन्दै गएको छ ।’ 

 

भेटवार्तामा रानदूत नोना डेप्रेले नेपालको संघयिता सुदृढीकरण लगायतका क्षेत्रमा इयुले सहयोग गर्दै आएको र आगामी दिनमा समेत यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाइन्। शासकीय सुधार, न्यायमा पहुँच, कानुनी शासन, मानव अधिकारका क्षेत्रमा समेत आफूहरुले काम गर्दै आएको स्मरण गराइन्। उनले भनिन्, ‘गरिबी निवारण, वहुक्षेत्रीय पोषण कार्यक्रम हाम्रो प्राथमिकतामा छ।’ अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धनमा सघाउन इयु तयार रहेको भन्दै राजदूत नोनाले हातहतियारवाहेकका सामग्रीको व्यापार बढाउन सकिने भनाइ राखिन् । 


कोभिड- १९ विरुद्धको अभियानमा औषधि, उपकरण सहयोग गरेको भन्दै उनले ती सहयोगको प्रभावकारिताका बारेमा इयुले अनुगमन पनि गरिरहेको बताइन् । यसका साथै शिक्षा क्षेत्रको स्तरोन्नतिका लागि पनि इयुले लगानी गरेको भन्दै प्रदेशमा के गर्न सकिन्छ भन्ने बारेमा काठमाडौं फर्केपछि छलफल गर्ने भनाए राखिन् । भेटवार्तामा नीति तथा योजना आयोगका उपाध्यक्ष डा. रघुराज काफ्ले, प्रमुख सचिव डा. दामोदर रेग्मी सहभागी थिए । राजदूत नोनाले आइतबार नै शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठ, योजना आयोगका उपाध्यक्ष डा. काफ्लेसँग अलगअलग भेट गरेकी छन् । 

 

तस्बिर : मुख्यमन्त्री सचिवालय 


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार