• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
विचार

कांग्रेस महाधिवेशन :आत्मबिश्वास भएपछि कसैको हात छोडन र समात्न पर्दैन

अहिलेको सबभन्दा टडकारो राजनीतिक सन्दर्भ भनेको कांग्रेसको चौधौं महाधिवेशन नै हो। तर, महाधिवेशन बिचलनको प्रभावमा छ। पूरै कांग्रेसलाई आफनो कब्जामा लिने नेतृत्वको आशय स्पष्ट भैसकेको छ । लामो समय स्थायी संस्थाको रुपमा बिराटनगरमा रहेको पार्टीको स्थानान्तरणको प्रयत्न हुँदैछ। तर, गर्मीमा हुर्किएकाहरु पश्चिमको चीसो र अध्र्दमुदित ठाउँमा टिक्न सक्दैनन । बिराटनगरपछि कांग्रेसको स्वाभाविक थलो काठमाडौ नै हो। तर, यो पटक त्यसमा असहजता छन थुप्रै। कांग्रेसीहरु संस्थापन र प्रतिपक्षमा बिभाजित छन । संस्थापनमा सभापति शेरबहादुर देउवाको सभापतित्वमा खस तथा आर्यजातिका बलिया बांगा सिपहसालार छन भने प्रतिपक्षमा नेताकै टुंगो छैन। रामचन्द्र पौडेललाई वरियता र उमेरका कारण सबैले मानेका हुन। होइन भने, त्यहाँ कोइराला परिवारका तीनजना सदस्य शशांक, शेखर र सुजाता, डा.रामशरण महत, प्रकाशमान सिंह, अर्जुन नरसिंह केसी, बलबहादुर केसी लगायतका थुप्रै सिताराहरु सक्रिय छन। अहिलेसम्म कसैले कसैको नेतृत्व मानेको छैन ।

 

समूहभन्दा अलग छन – बिमलेन्द्र निधि । उनले शेरबहादुरको क्याम्प छाडेका छन । रामचन्द्रको हात समातेका छैनन। चुनाव आफनो बूताले जित्ने हो भन्ने आत्मबिश्वास भएपछि कसैको हात छोडन र समात्न पर्दैन। चौधौं महाधिवेशनले कांग्रेसको कस्तो स्वरुपको निर्माण गर्दछ ? त्यसैले देशको राजनीतिक र सामाजिक परिवर्तनको बाटो तय गर्नेछ। कांग्रेस अहिलेका कम्युनिष्टहरु जस्तै गुटबन्दीको बाटोमा लम्किइ रहेको देखिन्छ । यो प्रबृत्तिमा अंकुश नलाउने हो भने लोकतन्त्र र समाजवाद बिचलनको बाटोमा जान्छ। पछिल्ला समयहरुमा कांग्रेसले मौका गुमाउँदै गएको छ। यसका नेताहरु जबर्जस्ती नेतृत्वमाथि कब्जा जमाएर बसेका छन । राजनीतिक नैतिकताको कुरागर्ने हो भने पछिल्लो निर्वाचनमा पार्टी पराजित हुनासाथ अधिवेशन बोलाएर पार्टीको नेतृत्व नयाँ मानिसलाई सुम्पिनु पर्दथ्यो । उनी सभापति पदको म्याद थपेर कुर्सीमा बसी रहेका छन । उनका समकालीन टाउके नेताहरु हेरेको हेरेकै छन । झण्डै ६ बर्ष सभापति चलाउँदा देउवाकै आँखा अगाडि कतिबटा गुट बने कांग्रेसको ? सिटौलाको समेत गुट बन्ने भै सक्यो कांग्रेसमा । सन्दर्भमा, राष्ट्रिय जन–आन्दोलन २०४६ को सफलतापछिको परिवेशलाई हेरौं । परिवर्तनपछिदेशको शासन नयाँ राजनीतिक वृत्तको हातमा आयो । नयाँ शासकले संस्थागत बहुदलीय संस्कार स्वीकार गरेपनि ब्यबहारमा निर्दलीय संस्कारलाई नै पछ्याए। निर्दलीय संस्कार भनेको एक माना खाने मानिस छ भनेउसले दुई माना खानपुग्ने, दुई छ भने चार माना खानपुग्नेब्यबस्था हुनुपर्‍यो। अर्थात् नेतादेखि कार्यकर्तासम्म, आफ्नै लिंग र उदरको निरन्तर स्वार्थ र आकांक्षा पूर्तिमा मात्र केन्द्रित हुने । राजनीतिले पनि त्यसैलाई थेग्दै गयो। २०४८ मा जब गिरिजाप्रसाद कोइराला संसदीय व्यवस्थामा निर्वाचित प्रधानमन्त्री भए, उनको राजनीतिक संस्कार र शासकीय यात्रा कमबढी पञ्चायतकै ‘कपी’ थियो । उनले आफना मानिसलाई ‘पिक’ गर्ने र काम लगाउने शैली पन्चायतकै देखियो ।

 

यहाँसम्म कि उनले आफना केही सल्लाहकारमा‘पञ्चायतमा रहेर धेरै अनुभव बटुलेका’ लाई छाने। त्यसो त, प्रजातन्त्र प्राप्तिको भोलिपल्टै कोइरालाले प्रजातन्त्रको जीतलाई पञ्चहरुको पनि जीत भनेका थिए । त्यो परिप्रेक्ष्यमासल्लाहकारहरुको नियुक्ति अनौठो मानिएन पनि। त्यसले कोइराला र कांग्रेसकै राजनीतिमा नराम्रो असर गर्‍यो। कांग्रेसभित्रको झगडामा कोइरालाले जुन किसिमको द्वन्द्व बढाए, त्यसले कांग्रेसका नेतृत्व तहका त्यागी नेताहरु किनारा लागे । त्यो कांग्रेसका लागि आफैमा दुर्भाग्य थियो। कांग्रेसले चुनावमा मजबूत बहुमत पनि पाएको थियो, कांग्रेसमा ‘भिजन’ भएका मानिस पनि थिए । गिरिजाप्रसाद कोइरालाले तिनको ‘भिजन’ सापटी लिनुपर्‍थ्यो, त्यो लिन सकेनन। उनले एकोहोरो शैलीमा सत्ता हाँके। त्यतिखेर प्रत्यक्ष निर्वाचित नभएका महेश आचार्यलाई अर्थराज्यमन्त्री बनाएर उनले पहिले नै प्रतिकूल सन्देश दिए। बहुदलपछि कांग्रेसमा आगामी बीस–तीस वर्ष एकछत्र शासन गर्छाै भन्ने घमण्ड चढ्यो। यो स्वाभाविक र भद्र थिएन । मैले मेरो जीवनकालमै देखें,गोडामा चप्पल पहिरेर सत्तासीन भएका मेरा आफनै साथीहरु कसरी रातारात करोडपति भए । यसो गर्नुहुन्न भनी कराउने मानिसहरु लाञ्छित भए । मलाई के लाग्छ भने त्यसो हुनुमा पञ्चायती संस्कार–संस्कृतिकै निरन्तरता थियो। त्यस्ता विसंगत असंगतिलाई संसदीय संस्कारले बिस्थापित गर्न सकेन। नेपाली राजनीतिमा पञ्चायती शैलीको निर्दलीय चरित्र अझ पनि निरन्तर छ। केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटन निर्दलवादी चरित्रको खुलेआमप्रदर्शन हो। कम्युनिष्ट पार्टी कमरेडहरुको कम्युनिटीका आधारमा चल्नुपर्ने हो। ओलीलेत एक्लै निर्दलवादी शैलीमै पार्टी सिध्याइदिए। नेतृत्व तहमा रहेका केही पात्रहरुको चरित्र हेरेर तिनलाई ‘निर्दलवादमा जाने हो ?’ भनेर सोधियो भने मलाई लाग्छ उनीहरु त्यसमा जान पनि मान्छन् होला । किनभने उनीहरुमासंस्थागत दलीयसोच देखिन्न । उनीहरुलाई सत्तामा पुग्ने भर्‍याङ बनाउने प्रयोजनका लागि मात्रै दल चाहिएकोछ । तिनको क्रियाकलाप र प्रवृत्ति, कांग्रेस हुन् कि कम्युनिष्ट, निर्दलवादी नै छ । प्रधानमन्त्रीका रुपमा २०४७ सालमा किसुनजीले जोशिएर काम गर्नुभयो, संविधान ल्याउनुभयो । तर, उहाँ अन्तरघातमा पर्नुभयो । उहाँलाई राजनीतिको मूलधारबाटै हटाउने प्रयत्न भयो ।

 

उहाँलाई राजनीतिमा शान्तिपूर्वक कामगर्न दिइएन। उहाँको खाँचो त्यतिखेर मात्र पर्‍यो जब २०५६ मा गिरिजा कोइरालालाई लाग्यो कि किशुनजीलाई लौरो नबनाई कांग्रेसले चुनावमा जित्नु सम्भव छैन। चुनावमा किसुनजीको उपस्थितिले कांग्रेसलाई सुविधाजनक बहुमत मिल्यो । प्रधानमन्त्रीका रुपमा उहाँ केही काम गर्न खोज्दै हुनुहुन्थ्यो । नौ महिनामा नै उहाँ हटाइनु भयो । किसुनजीको नाममा चुनाव जित्न गिरिजाप्रसादलाई जति हतार थियो, त्यति नै हतार उहाँलाई हटाउन देखियो । किसुनजीलाई केवल प्रयोगगर्न मात्र खोजियो, काम गर्न दिइएन। गणेशमान सिंहलाई त झन् पहिल्यै अनेक ‘वात’ लगाउँदै पाखा लगाइयो। २०६२/०६३ को आन्दोलनले नेपालबाट राजतन्त्रलाई बिदा गर्यो । जुन दिन राजा वीरेन्द्रको वंश नास भयो, नेपालमा राजतन्त्र त त्यही दिनबाटै सकिएको हो। नेताहरुले राजतन्त्र राख्नुपर्छ भनी जोडतोडमा ज्ञानेन्द्रलाई राजा बनाए। त्यत्रो अपमानपूर्ण अवस्थाबाट गुज्रिएर पनि गिरिजाप्रसाद कोइराला राजाको छेउमा उभिए ।तर, राजाज्ञानेन्द्रकै प्रजातन्त्र बिरोधी क्रियाकलापका कारण उनले बृहत्त राष्ट्रिय आन्दोलनको नेतृत्व गर्नुपर्‍यो र राजतन्त्र फ्याल्नु पर्‍यो। राजतन्त्र हुँदासम्म नेपालमा ‘माथि’ भन्ने ‘सिष्टम’ थियो। ‘माथि’ भन्ने पुरानो संस्कार बहुदलकालमा पनि निरन्तर रह्यो । तै, अहिले लोकतन्त्रमा ‘माथि’ सुनिएको छैन । त्यसकारण पनि राजतन्त्रको पतनसँगै अब देशको उन्नतिका पक्षमा केही हुन्छ भन्ने आशा–अपेक्षा थियो । त्यो आशा सुविचारित पनि थियो । तर दुर्भाग्यवश, माओवादीले आफनो ‘कार्ड’ राम्रोसँग खेल्न सकेन, गिरिजाप्रसाद कोइरालाको लोभले पराकाष्ठा नाघ्यो । उनी राष्ट्रपति पदको लोभमा नपरेर देशको ‘मोरल अथरिटी’ बन्न चाहेको भए हुन्थ्यो । तर, खेलाडी गिरिजाप्रसादले आफनो लोभ संवरणगर्न सकेनन। राजनीतिको गोलचक्करमा ‘संक्रमणकाल’ भद्रगोल भयो । विधिवत प्रधानमन्त्री भएका प्रचण्ड प्रधानमन्त्री भएपछि उनलाई काम गर्न दिनुपर्‍थ्यो।

 

त्यत्रो ‘क्रेज’बाट आएको मानिसलाई कामगर्न दिएको भए, ठीक या बेठीक जे पनि हुन सक्थ्यो। त्यसले कुनै दिशा निर्धारण गर्थ्यो। तर गिरिजाबाबुले राष्ट्रपतिको ‘ब्रेक’ प्रयोग गरे। त्यसपछि सँधैभरि द्वन्द्वको निरन्तरता रह्यो । त्यसले गतिहिनतातिर अघि बढ्यो । सेटिंगको राजनीति बाह्य डिजाइनमा आएको हो भन्ने टिकाटिप्पणी खुब सुनिन्छ। यो ‘डिजाइन’ विदेशी शक्तिहरुले तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको पक्षमा गरिदिएका हुन भन्ने खूब सुनिन्छ। ‘षड्यन्त्रको सिद्धान्तमा विश्वास गर्नेहरु धेरै होलान्। यसमा अनेक तत्वको हात छ भन्ने पनि होलान। म चाहिँ फरक देख्छु। देशमा लोकतन्त्र छ्याप्छ् याप्ती भइसकेपछि बाह्य हस्तक्षेपको सम्भावना साह्रै कम हुन्छ। लोकतन्त्रको खुला परिदृश्यमा बाह्य हस्तक्षेपका कथा– कहानीमा धेरै दम पनि हुँदैन । बाह्य कथा–कहानी ल्याउनु र सुनाउनु भनेको आधारभूत रुपमा मानिसको ध्यान मोड्ने परिपञ्च र उपाय मात्र हो । त्यो सँगै आफ्ना दुस्कर्म ढाकछोप गर्न पाइने उद्देश्यबाटै निर्मित भएको डिजाइन हो त्यो। मानिसलाई बाह्य हस्तक्षेपतिर अल्झाएपछि सजिलै भन्न पाइन्छ, ‘यो त केपीले गरेको होइन रहेछन्, यो त विदेशीले गरेका हुन् ।’ समाजमा त्यो तथ्य स्थापित गरेपछि केपी एन्ड कम्पनीलाई आफ्ना खराब कर्म ढाकछोप गर्ने अवसर मिल्ने नै भयो। होला, भारत–चीनको स्वार्थ होलान्, अमेरिकाको पनि होला । त्यो आफ्नै ठाउँमा हुन्छ । केही पनि नहुने भन्ने हुँदैन। न्यायाधीशहरु ‘ब्रम्हले देख्ने’ न्यायमूर्तिकै रुपमा, सत्य, न्याय र निर्दोष जनताको पक्षमा उभिए र प्रतिनिधि सभाको पुनस्र्थापना गरे। यसबीचमा उत्पन्न भय,संशय र षडयन्त्र आफैं कम हुनथाले। देशको राजनीति वैधानिक संसदीय कोर्समा प्रवेश गर्‍यो। प्रधानमन्त्रीमा शेरबहादुर देउवा आए। तर,प्रतिपक्षमा रहेको एमालेले संविधानको कुनै ख्याल गरेको छैन। उसको नियत प्रतिनिधि सभा बिघटनको औचित्य सावितगर्नु रहेको मात्र देखिन्छ ।यो अवस्था रही रह्यो भने राजनीति विद्रोहकोअवस्थामा प्रवेश गर्छ।

 

चुनाव विद्रोहकै अर्को रुपमा परिणत हुन सक्छ। हरेक नेपालीलाई थाहा छ चुनाव निकट छैन। यो परिस्थितिमा रोष–क्रोधमा आधारित आन्दोलन भएको हामीले देखि सक्यौं। केही अघि मात्रै, कसरी केपी ओली, प्रचण्ड र माधव नेपालले खुला जुवारी खेले त्यो सबैको दिमागमा रहेकोछ। नेपालमा परिवर्तनको इतिहास लामो छैन, कडा छ। राणाकालपछि परिवर्तनको जम्माजम्मी ७० वर्ष भयो। यो अवधि भनेको कुनै पनि देशको आयुमा ठूलो समय होइन। भारतमै हेर्ने हो भने तिनले लामो समय संघर्ष गरेका छन्। चीन होस् या अमेरिका, तिनको पनि इतिहास त्यही हो। यो मामलामा नेपालीले आफूलाई भाग्यमानी ठान्नुपर्छ कि हामीले यति थोरै समयमा यति धेरै राजनीतिक प्रयोग भोगिसकेका छौं। राणाकालपछि संक्रमणकाल बेहोर्‍यौं । त्यसपछि अठार महिने संसदीयकालमा मख्ख पर्‍यौ । त्यसपछि तीस वर्षे निर्दलीय पञ्चायतकाल भोग्यौं । फेरि तीस वर्ष बहुदलीय व्यवस्थाका ‘बेबकुफी’ भोग्दैछौं । हाम्रो भोगाइ निरन्तर छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार