• सोमबार ७-१-२०७८/Monday 10-18-2021
डबली

शिलाजित जस्तै हो आँखाबाट बग्ने आँसु !

आँसु के हो ? 
आँसु के हो भनेर अहिले सम्म घोत्लिएर, गहिरिएर चिन्तन मनन गरेको छैन रहेछु । तपाईँको प्रश्नले यही महसुस गरायो। मनको कुन खोपामा यसको मुहान हुन्छ या आसन हुन्छ त्यो त जान्दिनँ, तर जीबनको सौन्दर्यसँग यसको सम्बन्ध छ होला जस्तो लाग्छ। खुशी, हाँसो, दुख, रमाइलो, उत्सव, आगमन, बहिर्गमन, प्रेम आदि हरेक परिवेशमा आँसु सञ्चित हुन्छ। कहाँ, कहिले, कसरी, कति रसाउने र बग्ने, फरक यति हो। अर्को तरिकाले हेर्दा लाग्छ प्रकृतिको पञ्चतत्व मध्येको एक तत्व हो आँसु । र, मेरो निम्ति ढुङ्गाको काप रसाएर शिलाजित बनेजस्तै हो आँखाबाट बग्ने आँसु ।

 

पहिलो पटक आँसु आएको कुनै सम्झना छ ?
कस्तो फसाद पार्ने प्रश्न हौ ? अहँ, पहिलो पटक आँसु आएको अवस्था सम्झिन सकिनँ । पछिको कुरा गर्ने हो भने निकै वर्षदेखि म तपोबन जान्छु । त्यहाँ बिहान ध्यानको एउटा सेसन हुन्छ– डायनामिक सेसन । त्यो सेसन नै रुने सेसन हो । त्यहाँ म रुन्छु, आएजति आँसु बगाईदिन्छु ।

 

रोइसकेपछि कस्तो महसुस हुन्छ ?
व्यथाको असरले रोइसकेपछि मन हलुका, शरिर फुर्तिलो, टाउको सिमलको भुवा हुन्छ मेरो हकमा र हृदयले कावा खान्छ । एक प्रकारले तनमनको शुद्धि हुन्छ।

 

आँसु झर्न सघाउने कुनै बिशेष परिवेश वा कारण ? 
आँसु झर्न सघाउने त प्याज हो नि । यो त ठट्टा थियो । आँसु झर्न सघाउने परिवेश वा कारण भन्दा पनि ब्यक्तिको हृदय कत्तिको कोमल र संवेदनशील छ भन्ने कुरा महत्वपूर्ण हुन्छ। रुने मान्छेलाई कुनै बिषयले छुनु पर्छ । कुनै एउटा कुराले एउटा मान्छेलाई जति असर गर्छ अर्कोलाई नगर्न सक्छ । त्यसैले आँसु झर्न सघाउने परिवेश वा कारण सहायक मात्रै हो। प्रमुख विषय मनभित्र रहेको संवेदना हो ।

 

सबैभन्दा धेरै रोएको कुन घटना हो ?
सगरमाथा आरोहणको क्रममा ८,००० हजार मिटर उचाइमा पुग्दा मेरो अक्सिजन सिद्धियो। त्यो पल म ट्राफिक जाममा फँसेको थिए। अक्सिजन अभावले गर्दा हिंड्न त के उभिन, बोल्न र आँखाको ढकनी समेत खोल्न नसक्ने अवस्थामा पुगेको थिएँ । हिउँमै सुतेँ । सास फेर्न एकदमै कठिन भयो। टाउको बडेमाको भएको महसुस भयो । शिरदेखि पाइतालासम्म करेन्टको झड्का लागेजस्तो भईरहेको थियो । मेरो जिब्रो, घाँटी चैतको खेत पटपटी फुटे जस्तो भयो । म अघि थिएँ, मेरा सहयोगी दाई ल्हाक्पा नुरु शेर्पा पछि हुनुहुन्थ्यो । हामी छुट्टिसकेका थियौँ । म अब मर्दैछु भन्ने मलाई महसुस भयो । म सँग मृत्यूवरण नगर्ने विकल्प पनि थिएन। तर, ल्हाक्पा दाईले आफ्नो ज्यान बाजी राखेर मलाई आफूले लिईरहेको अक्सिजन दिनुभयो । यस्तो दया आरोहणका क्रममा दुर्लभ हुन्छ । जतिसुकै दयालुले पनि त्यो काम गर्दैन । त्यो समय म एकदमै धेरै रोएको थिएँ, ल्हाक्पा दाईको मानवता, स्नेह र करुणा देखेर । म धेरैबेर रोएकाले मेरा आरोही साथी र गाईडहरुले बारबार नरुनु भनेर सम्झाउनु भएको थियो । त्यो क्षण सम्झ्यो भने अझै पनि आँसु आईहाल्छ। अर्को घटना चाहिँ यस्तो छ– हामी सगरमाथा आरोहण गर्न जाँदा आधीउधी उधारोमा गएका थियौँ । सगरमाथा त चढ्यौँ, सकुशल पनि फक्र्यौँ तर कम्पनी र शेर्पालाई तिर्नु पर्ने बाँकी रकम तिर्न सकेको थिएनौ। भाकामा बुझाउन नसकेकोमा ग्लानि थियो । त्यही बेला ल्हाक्पा दाईको बुवा बिरामी हुनुभयो । सहयोग गर्न आफूसँग सुको पैसा नभएको लाचार अवस्था थियो । ल्हाक्पा दाई जसोतसो गाउँ पुग्नु भयो । त्यही बेला उहाँको सद्दे आमा पो बित्नुभयो । त्यस्तो दुःखद घडीमा आफूलाई अक्सिजन दिएर बचाउने मान्छेलाई सहयोग गर्न नपाउँदा र उहाँहरुको कमाइको पारिश्रमिक समेत दिन नसक्दा चित्त असाध्यै नै अमिलिएर रोएकी छु । यी दुई घटनामा रोएको सम्झना म जिन्दगीभर भुल्न सक्दिनँ ।

 

किन आउँछ होला आँसु ?
आँसु किन आउँछ भन्ने कुरा शरिरको ईन्द्रियहरुलाई मात्र थाहा हुन्छ जस्तो लाग्छ । मान्छेले त आआफ्नो अनुमानका भरमा भन्ने हो । 

 

आँसु आएको बेला जोसुकै किन नहोस् बिसाउने काँध चाहिन्छ भन्छन्, चाहिन्छ ?
आफ्नो हृदयको अन्र्तकुनामा के के कुराले के के बिषयबाट प्रभाव परेर त्यो आँसुको रसायन जन्मियो, त्यसलाई निकास दिन किन अरुको काँध चाहिन्छ ? रुन मन लाग्यो, रुन आयो भने कसैले आफ्नो आँसुको कुलेसोलाई कुनै बाँध नबाँधि बग्न दिने किम्मती मोती हो आँसु । कसैकसैलाई आफ्नो मनले खाएको व्यक्तिसामु आफ्नो पीडा पोख्दै रुने ईच्छा हुन सक्छ। म चाहिँ मेरो आँखाको डीलसम्म आएको आँसुलाई रोक्ने कोशिश गर्दिनँ । निकास दिन्छु बरु । 

 

आँसु र खुशीमा के फरक  छ ?
घाम र जुनमा भएको भिन्नता जस्तै हो आँसु र खुशीमा फरक । जसरी घाम र जुनको आआफ्नो विशेषता, गुण र सौन्दर्य हुन्छ त्यस्तै आँसु र खुशीको पनि हुन्छ । जुनकुरा सामान्य तरिकाले मानिसलाई बुझाउन सम्भव छैन । 

 

आँसुको बाँध भत्किएपछि कतिन्जेल झरिरहन्छ आँसु ?
हिउँचुलिको हिउँ फुत्त फुत्केर बग्दा कतिन्जेल हिउँ पानी बनेर बग्छ त्यो कस्ले भन्न सक्छ ? त्यसैले आँसुको बाँध भत्किएपछि त्यसको परिमाणको कुनै लेखाजोखा हुँदैन।

 

माया प्रेमको प्रसङ्गमा कतिपटक आँसु आयो ?
ब्रम्हाण्डको रचनाकार को हो थाहा छैन, तर उसले ब्रम्हाण्डको रचना गर्दा नै प्रेम र स्नेहलाई साँधेर गरेको छ । त्यसैकारण पञ्चतत्वमा नै स्नेह र प्रेम छ। त्यो स्नेह र प्रेममा नरुने को छ र ? मिलनमा खुशीको आँसु र बिछोडमा दुःखको आँसु । तर, कुनै बिछोड अन्तिम हुँदैन, जसरी कुनै मिलन पनि अन्तिम हुँदैन । म मिलन र बिछोडमा भेद भेट्दिनँ, त्यसैले मसँग न हर्षाश्रु छ न दुःखको आँसु । र, मलाई याद छैन प्रेमप्रसङ्गमा आँसु आयो, या आएन ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार