• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
देश/प्रदेश

गण्डकी प्रदेश सरकारले दर्ता गराएको विधेयकमा प्रेसविरोधी प्रावधान,विधेयक तत्काल फिर्ता लिन महासंघको माग

 

काठमाडौं । गण्डकी प्रदेश सरकारले हालै संसदमा दर्ता गरेको सञ्चार माध्यम सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा रहेका कतिपय प्रावधान प्रेस स्वतन्त्रतामैत्री नभएको र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता एवं स्वतन्त्र पत्रकारिताको मान्यताविपरीत रहेकाले उक्त विधेयकप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको  जनाएको छ।


 
महासंघले विधेयकमा रहेका कतिपय प्रावधानहरू प्रेस स्वतन्त्रताविरोधी रहेको भन्दै त्यसप्रति गम्भीर असहमति राख्दै आएको थियो । त्यसलाई बेवास्ता गर्दै प्रदेश सरकारले विधेयकलाई संसद्मा दर्ता गरिनु अत्यन्त दुःखद् पक्ष हो । यो कार्यले प्रदेश सरकार प्रेसप्रति उदार नभई प्रेसलाई नियन्त्रण र अंकुश लगाउन उद्धत रहेको महासंघद्वारा जारी  विज्ञप्तिमा उल्लेख छ ।


 
महासंघको असहमति रहेका बुँदाहरूलाई यसअघि पनि अन्य प्रदेश सरकारबाट संसद्मा दर्ता भएपछि महासंघको केन्द्रीय समिति, प्रदेश समिति र जिल्ला शाखाले पनि तत्काल विधेयक फिर्ताको माग गरिरहँदा सरकारका जिम्मेवार निकायमा बस्नेहरूले विधेयकको पक्षमा गरेको वकालतलाई महासंघले गम्भीर रूपमा लिएको  जाएको छ ।


 
'विधेयकमा भएका प्रावधान नेपालको संविधान, संघीय कानुन, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्धमा रहेका छन् । प्रदेश सरकारले तयार गरेको मस्यौदा श्रमजीवी पत्रकारको हक हित सुरक्षित गर्न असम्भव हुने, सञ्चार गृहको दर्ता खारेजको व्यवस्था संविधानको प्रतिकूल रहेको, पत्रकारलाई जेल हाल्ने प्रावधान फौजदारी प्रकृतिको र संघीय कानुनविरुद्ध रहेको कुरामा महासंघ प्रष्ट छ। प्रदेश सरकारले दर्ता गराएको विधेयकमा प्रेसलाई नियन्त्रण गर्ने, प्रेस स्वतन्त्रतालाई संकुचन गर्ने, दर्ता खारेजीलगायत पत्रकारलाई जेल सजायजस्ता प्रेसविरोधी प्रावधान रहेकोले यो विधेयक आपत्तिजनक हुनुका साथै संविधानको मर्म र भावनाविपरीत रहेको महासंघ ठहर छ ।


 
महासंघ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता एवं संविधानको मर्म र भावनाविरुद्ध रहेको यो विधेयक संसद्बाट तत्काल फिर्ता गरी महासंघसहित सरोकारवालको सहभागितामा व्यावसायिक पत्रकारिता र प्रेस स्वतन्त्रतामैत्री हुनेगरी पुनर्लेखन गर्न सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँदछ ।' विज्ञप्तिमा उल्लेख छ ।
 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार