• मंगलबार १-४-२०८१/Tuesday 04-16-2024
देश/प्रदेश

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा कायमै, विद्यालयले भौतिक उपस्थितिमा पठनपाठन गर्न नपाउने

काठमाडौं । काठमाडौँ उपत्यकामा यसअघि (भदौ १७ मा) जारी निषेधाज्ञालाई असोज १ पछि पनि कायमै राखिएको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले अर्को आदेश जारी नभएसम्मका लागि आज नयाँ आदेश जारी गरेका हुन् ।

 

जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयहरूले भौतिक उपस्थितिमा पठन पाठन गर्न नपाउने आदेश जारी गरेको छ। यदि पठन पाठन गर्नैपर्ने भएमा महानगरपालिका तथा नगरपालिकाहरुले विद्यालय सञ्चालनपूर्व आ–आफ्नो पालिकास्तरमा कोभिड–१९ संक्रमणको अवस्था विश्लेषण गर्नुपर्नेछ ।

 

विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी, सवारी चालक तथा सहचालक, क्यान्टिन सञ्चालक र सञ्चालन समितिका पदाधिकारी सबैले कोरोनाविरुद्धको खोप लगाएको हुनुपर्ने प्रशासनले असोज १ गतेदेखि अर्को व्यवस्था नभएसम्मका लागि जारी गरेको आदेशमा भनिएको छ। तोकिएका मापदण्ड पूरा नगरी कतिपय विद्यालयहरुले भोलिदेखि विद्यालय सञ्चालनको तयारी गरेको सन्दर्भमा प्रशासनले यस्तो आदेश जारी गरेको हो। 

 

यस्तै सभा, जुलुस, जात्रा, महोत्सव, भोज भतेर गर्न पनि प्रशासनले रोक लगाएको छ भने चाडपर्वहरू सांकेतिक रुपमा मात्रै मनाउन भनिएको छ । स्थानीय ढुवानी बिहान ९ देखि ११ बजेसम्म र अपरान्ह ४ बजेदेखि ७ बजेसम्म गर्न नपाउने पनि प्रशासनले जारी गरेको आदेशमा उल्लेख छ। यसबाहेक निर्माण सामग्री ढुवानी बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न पाइने छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार