• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
पत्रपत्रिका

यस वर्ष औसतभन्दा ८ प्रतिशत बढी वर्षा

काठमाडौं । मनसुनी प्रणाली बाहिरिन अझै करिव १२ दिन बाँकी रहे पनि यस वर्ष नेपालमा औसतमा भन्दा ८.५ प्रतिशतले बढी पानी परेको छ । मौसम विश्लेषण शाखाका प्रमुख इन्दिरा कँडेलका अनुसार शुक्रबार विहानसम्म १५२१.८ मिलिमिटर पानी परेको छ ।

 

मनसुनी समयमा औसतमा १४०२.९ मिलिमिटर पानी पर्नुपर्ने भए पनि मनसुन बाँकी छँदै १०८.९ मिलिमिटर बढी पानी परेको उहाँले बताउनुभयो। यता धेरै पानी परिसकेकाले शुक्रबारदेखि ठूलो पानी पर्ने सम्भावना नभएको मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो। भारी वर्षाको अवधि लगभग सकिएको छ, अव देशका केही भागहरुमा सामान्य वर्षा मात्र हुने पौडेलले जानकारी दिनुभयो ।

 

जल तथा मौसम विज्ञान विभागले देशभरका क्षेत्रगत रुपमा समेटिएका मुख्य मुख्य २० वटा स्टेशनबाट ३० वर्षको अवधिलाई तुलना गरेर औसत वर्षाको मापन गर्दै आएको जनाएको छ । यस वर्ष २० स्टेशन मध्य धरान, लुम्ले र दाङमा औसत वर्षा हुन सकेको छैन भने अन्य १७ वटा स्टेशनमा भने औसत भन्दा बढी वर्षा भएको विभागले जनाएको छ ।

 

औसत रुपमा सेप्टेम्बर २३ अर्थात असोज ७ गते सम्मलाई मनसुन अवधि मान्ने गरिन्छ । यो साता काठमाडौंमा पाँच वर्ष यताकै सबैभन्दा धेरै पानी परेको महाशाखाले जनाएको छ । यस वर्ष जेठ २८ गतेबाट मनसुनी प्रणाली भित्रिएको थियो । यो अघिल्लो वर्षभन्दा दुई दिन अघि हो । गोरखापत्र

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार