• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
रंगमञ्च

अनुपस्थित तीन : पाखण्डविरुद्ध प्रहार गर्ने नाटक

तस्वीर : जीवन आले

००००

 

‘शिल्पी थिएटर’ मा मञ्चन भएको नाटक ‘अनुपस्थित तीन’ मौलिक नेपाली नाटक होइन। यद्यपी यसले उठाएको विषय भने सबै मानिसको जीवनसँग मेल खानेछ। जीवनभर स्व-अस्तित्वको लडाइँ लडिरहेका मानिस निधनपछि पनि अस्तित्वको चिन्तामा रहन्छ। फेरि जन्म र मृत्युबीचको जीवनमा पनि मानिस सधैं आफ्नै दुनो सोझ्याउन व्यस्त रहन्छ। आफूलाई ढाकछोप गरेर अब्बल देखाउने होडमा तल्लीन हुन्छ ।

 

यही कटु सत्य फ्रान्सेली लेखक जँ पल सात्र (१९०५–१९८०) को नाटक ‘नो इक्जिट’ले बोलेको छ। जसको नेपालीमा अनुवाद भई शिल्पी थिएटरले मञ्चन गरेको छ। सात्रले बीसौं शताब्दीको फ्रान्सेली समाज र त्यहाँको मनोविज्ञानमाथि सन् १९४४ मा यो नाटक लेखेका थिए तर यसको सान्दर्भीकता अहिले पनि उत्तिकै छ । 

 

नाटकका निर्देशक घिमिरे युवराज हुन् भने मुख्य चारजना पात्रमा आजाद (विपीन कार्की), इच्छा (उषा रजक), अभिलाषा (पवित्रा खड्का) र मेनेजर(मानहाङ लावती) रहेका छन् । तीन पात्र आजाद, इच्छा, अभिलाषाको नर्क (हेल) मा भेट हुन्छ । उनीहरू पृथ्वीबाट अनुपस्थित छन् । वास्तविक नर्क यी पात्रहरूले कल्पना गरेभन्दा विल्कुल फरक हुन्छ। त्यहाँ रात कहिल्यै पर्दैन, बत्ती कहिल्यै निभ्दैन। यो सानो सीमाभित्र उनीहरूले बाँकी समय काट्नुपर्ने हुन्छ। तिनैजना फरक स्वभावका हुन्छन्। उनीहरू तिनैजना एक अर्कासँग मिल्नै नसक्ने हुन्छन्। 

 

यी पात्रहरुले केही न केही अपराध गरेर आएका हुन्छन्। सुरुमा उनीहरु त्यो अपराध लुकाउन खोज्छन्। जीवनकालमा आजादले पत्नीलाई यातना दिएको हुन्छ। पत्नीलाई धोका दिएर परस्त्रीगमनमा संलग्न हुन्छ। तर उ खुंखार क्रान्तिकारी लेखक हुन्छ। यता अभिलाषा लेस्बियन हुन्छे। उसको युवतीसँग आकर्षण हुन्छ । उसले एउटा पुरुषको हत्या गरेकी हुन्छे। ऊ आ–आफ्नो अस्तित्व मानिसले नस्वीकारेको मनस्थितिमा छे। उ कठोर छे। 


इच्छा एउटी युवती हुन्छे। उसले धनी पुरुषसँग पैसाकै लागि विवाह गरेकी हुन्छे । तर उसको अन्य पुरुषसँग हिमचिम हुन्छ। उसले बच्चालाई मारेर श्रीमानलाई धोका दिएकी हुन्छे।यी पात्रहरू तल (पृथ्वी) मा आफूलाई के सोचिरहेका छन् भन्ने चिन्तामा छन्। उनीहरूलाई आफ्नो गोप्यता भंग होला भन्ने डर छ । नाटको जग अस्तित्ववाद हो । सात्रले जीवनभर गरेको अस्तित्वबोधको वकालत यस नाटकमा पनि झल्किन्छ। नारीवादी दृष्टिकोणबाट हेर्दा नाटकले महिला पक्षमा वकालत गरेको भेट्न सकिन्छ।

 

सिनेमामा जमेका कलाकार विपिन कार्कीले यस नाटकमा अभिनय गरेकाले पनि यो चर्चाको विषय बनेको छ। यस्तै पवित्रा खड्काको बोल्ड अभिनयले दर्शकको मन जितेको आभास हुन्छ। यसो त कार्कीले चार वर्षअघि नाटक ‘हरियो ढुंगा’ मा मुख्य भूमिका निर्वाह गरेका थिए। रंगमञ्चबाट चलचित्रमा प्रवेश गरेका उनी चलचित्रतिर नै बढी व्यस्त हुनथाले। लकडाउनका काराण फुर्सदिला बनेका कार्की अनुपस्थित तीनमार्फत् फेरि मञ्चमा देखिए ।

 

करिब एक घण्टा दश मिनेटको नाटकमा पात्रहरूको संवादले नै धेरै समय लिन्छ। चहकिला लुगा लगाएका पात्रहरू कुन भूगोलका हुन् छुट्याउन गाह्रो पर्छ । जुन भूगोल वा स्थानका भएपनि उनीहरू नर्क पुगेका हुन्छन् । नाटकलाई रंग संयोजनले विशिष्ट बनाएको छ । यद्यपि फरक भूगोल र भाषाको नाटकलाई नेपालीकरण गर्दा मौलिक नेपाली स्वाद नपाउँदा कोरोनाकालमा रंगमञ्चबाट वञ्चित नेपाली दर्शकलाई खल्लो लाग्न सक्छ । नाटक भौतिक उपस्थिति  र भर्चुअल दुवै माध्यमबाट दर्शकलाई देखाइएको थियो । 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार