• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
डबली

नयाँ नेपाल बनाउँ 

अंग्रेजी राम्रो आउँदैन, 
किनभने नेपालमा पढेको
नेपाली राम्रो आउँदैन, 
किनभने बोर्डिङ्ग स्कुलमा पढेको।

 

न नेपालमा काम गर्न सक्ने भयो
न अमेरिकामा काम गर्न सक्ने भयो
प्रमाणपत्र स्नातकोत्तर छ
जीवनको प्रश्न निरन्तर नै रह्यो।

 

बुझौँ न - 
यो वर्ष मलेसियाबाट घरेलु कामदारको कोटा 
कति आउने भयो ?
कि कुनै पार्टीले फेरि अर्को नयाँ नेपाल बनाउने भयो ?
अमेरिकाले डी भी खोल्ने भयो ?
कि ब्रिटिस आर्मीले भर्ना लिने भयो ?
कि भारतले दरवान दिने भयो ?
कतै केही नहुने नै भयो भने
ल आउनुहोस्, आउनुहोस 
अब नयाँ क्रान्ति गर्ने बेला भयो। 

 

पढाइमा राम्रो स्तर भएकाहरु 
छात्रवृत्तीमा पढ्न विदेश जाउँ 
शरीर बलियो हुनेहरु 
बिदेशी सेनामा भर्ती होउँ 
जाँगर हुनेहरु खाडी मुलुकमा जाउँ 
पैसा हुनेहरु बिदेशमा व्यापार गरौँ 
न बुद्धि, न बल, न जागर न पैसा हुनेहरु 
ल आउनुहोस आउनुहोस 
नया क्रान्ति शुरु गरौँ 
फेरी नयाँ नेपाल बनाउँ 

 

स्वदेशी भन्दा बिदेशी मृत कुनै नेता पत्ता लगाउँ
उसको नामको बाद बनाउँ 
एउटा गजबको नारा जन्माउँ  
त्यसकै सपना जिउँदा नेपालीलाई सुनाउँ 
'गाउँछ नेपाली नाच्छ नेपाल' घन्काउँ 
सडकमा आउँ नाचू नचाउँ 
हाम्रा विरोधीको ढाड सेकाउँ 
चन्दा असुलौं फिरौती मागौं 
हामी पनि टन्न कमाउँ 
अनि नयाँ नेपाल बनाउँ 
आउनुहोस नयाँ नेपाल बनाउँ 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार