• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
विचार

संगठन र शक्तिशाली नेताहरु

नेपालको संविधानको अपचलन गरेको आरोपमा प्रधानमन्त्रीको पदबाट हटाइएका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीको ‘मनको ताप’ अझै सेलाएको छैन। उनले नेपाली जनताको समृद्धिको खाका खिंचेका थिए। चुच्चे रेल र बुच्चे पानी जहाजको कुरा गरेका थिए। बेला बेलामा राम र हनुमानको कुरा पनि गर्दथे। प्रधानमन्त्री छउन्जेल मोजमज्जा गरे। गीत गाए। आफु नाचे। अरुलाई नचाए। अहिले आएर पो, ‘मुख हेर्नेका…’ उखानले संकेत गरेजस्तै, जसको निनान्तरमा कोही भएन। यो हो अध्यक्ष खडगप्रसाद शर्मा ओली नामको एक मनोरोगी शासकको दुर्भाग्य । हाम्रो देशमा सत्ता भनेको शासन र शक्तिको संयुक्त योग हो । मानिसहरुमा सत्तामा रहेकै अवस्थामा आफनो मृत्यु होस भन्ने चाहना रहेको हुन्छ शायद। बाजा–गाजा र सिपाहीहरुको गर्जन सहित चितामा चढने इच्छाले धेरैलाई स्वार्थको गुलाम बनाएको असत्य होइन। कुरा राजनीतिज्ञको मात्रै होइन, देशका ठूला पद ओगटने कर्मचारीवर्ग समेत जीवन–पर्यन्त पद कसरी ओगटने भन्ने फिराकमा रहन्छन ।

 

यस्तो गजबको मनोबिज्ञान छ हाम्रो देशमा। एकपटक श्री बिश्वबन्धु थापाले बताउनुभएको थियो ; २०१७ सालमा राजा महेन्द्रले प्रजातन्त्रका बिरुद्ध सैनिक षडयन्त्र गरेपछि त्यो षडयन्त्रलाई साथ दिने केही महानुभावले महाराजसंग सैनिक पोशाक लगाउने सुहाउँदो पद पाउन बिन्ती चढाएका थिए। ती महानुभावलाई महाराजले ‘ब्रिगेडियर जेनरल’ को पदले सुशोभित गरेका थिए। प्रजातन्त्रका बिरुद्ध राजालाई सहयोग गरेका मानिसहरुलाई मरेपछि मलामी पनि नपाउने त्राश थियो मनमा ।

 

ब्रिगेडियर जनरलको पदवी पाएपछि त्यस अनुसारको सैनिक सम्मान पाइने हुनाले मरे पछिका मलामीको चिन्ता हुँदैनथ्यो । यस्ता धेरै मानिसको नाम संझनामा थियो। तर, अहिले बिस्मृतीमा गएको छ। एमालेका सांसद महेश बस्नेत अहिले खड्गप्रसाद शर्मा ओलीका सहारा भएका छन। हिजो आज महेशले बाक्यै पिच्छे भन्ने गरेका छन: सरकारले यसो गर्यो भने आगो बाल्छौं । सरकारले उसो गर यो भने आगो बाल्छौं। महेश बस्नेतले बालेको आगो तापेर अध्यक्ष खड्गप्रसाद शर्मा ओली पक्कै रमाउलान। किनभने, बस्नेतको आगो त्यतिबेला बल्नेछ जतिबेला बर्तमान सरकारले टुक्रा टुक्रामा बिभाजित भैसकेको एमालेलाई बिभाजित गर्न अध्यादेश ल्याउने छ। पाँचदलीय गठबन्धनका नेता र प्रधानमन्त्री शेरबहादुर देउवा त्यति बेबकूफ छन भन्ने महेश बाबुले सोचेका छन भने राजनीति छाडेर लैनो र दुधारु भैंसीको ब्यापार गर्न गए राम्रो होला।

 

निश्चय पनि, खडगप्रसाद शर्मा ओलीको राजनीतिक पुनरागमन त्यतिबेला सहज र सुरक्षित होला जब अहिले सरकारमा रहेका पाँचदलीय गठबन्धनले बेकायदा गर्न लाग्लान। तर, त्यस्ता अवस्था देखिएको छैन। यिनीहरु संविधानको अपचलनगर्ने मनस्थिति राख्दैनन। प्रधानमन्त्रीले सर्वोपरि संविधान, संसद र सरकारमाथि बलात्कारगर्ने जुन परिपाटीको प्रारम्भ खड्गप्रसाद शर्मा ओलीले गरेका हुन त्यसका बिरुद्ध आएको गठबन्धनले, कम्तीमा पनि, न्यायको ढोका पूरै खुला राख्ने कुरामा भर पर्न सकिन्छ। यो गठबन्धनमा शक्तिशाली संगठन र शक्तिशाली नेताहरु छन । नेपाली कांग्रेसको ऐतिहासिक भूमिका यो देशको राजनीतिले स्थायित्व नपाएसम्म रही रहनेछ । यसका नेताहरु यतिबेला परस्परमा बिमत देखिएका छन। तर, परेको बेलामा बिबेक गुमाउने खालका कोही छैनन। माओवादीका अध्यक्ष प्रचण्डको कुरै भएन। गणतन्त्रको स्थापना र प्रचण्डको प्रधानमन्त्रीकालको बिसर्जन पछिको समयमा उनका बारेमा मैले लेखेको थिए, प्रचण्ड नहल्लिएसम्म नेपाली राजनीतिको पात पनि हल्लिदैन। यो कुरा अहिले पनि उत्तिकै सत्य छ। एमाले अध्यक्ष ओलीको वर्तमान राजनीतिलाई सही संबैधानिक परिप्रेक्ष्यमा उभ्याउने काम उनैले गरेका छन । एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले अपनाएको साहसपूर्ण राजनीतिब बाटोमा अध्यक्ष प्रचण्डको साथ सहयोग र सदभाव अविस्मरणीय छ ।

 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई गठबन्धनको नेतृत्वलिन तयार गराउनुमा प्रचण्डको प्रयत्न थियो। मुखमा आइसकेको महाधिवेशनका बीचमा नयाँ सरकारको नेतृत्व लिनु त्यति सहज थिएन। तर, त्यो पनि सहज बन्यो। गठबन्धन सरकारलाई समर्थन गर्ने कुरामा दोमन र व्दिविधामा रहेका सांसदहरुलाई जसरी समर्थनको बाटोमा ल्याए त्यो बरिष्ठ नेता माधवकुमार नेपालको नैतिक बिजय थियो। प्रधानमन्त्री तथा एमाले अध्यक्षका हैसियतमा खडगप्रसाद शर्मा ओलीले खेलेको पूरै खेलमा बरिष्ठ नेता नेपाल नै तारो बनाइएका थिए। तर, जसरी माधवजीले प्रधानमन्त्रीलाई पुनस्र्थापित प्रतिनिधिसभा पटलमा त्रिसट्ठी मतमा सीमित राखे त्यसैमा राजनीतिक कारिगरी छ। जनता समाजवादी पार्टीले आफनो मत गठबन्धनका लागि छुट्याउने बित्तिकै उसको मत पनि बढ्यो। जनमोर्चाको समर्थन स्वाभाविक थियो। यो खेलबाट पार पाउन सकेनन खडगप्रसाद शर्मा ओलीले। उनी आफैंमात्र एक्लै डुबेनन। उनले आफुसँगै राष्ट्रपति बिद्यादेवी भण्डारीलाई पनि डुबाए। राष्ट्रपति भण्डारीलाई खड्गप्रसाद शर्मा ओलीले डुबाए भन्दा पनि उनी आफनै आनन्द र आल्हादका कारण डुबिन। गठबन्धनका नेताहरुले उनका बिरुध्द महाभियोग लगाएर हटाएनन भने यो नेपालको राजनीतिक र संबैधानिक इतिहासको स्थायी कलंक हुनेछ। यो कुरा पाँचदलीय गठबन्धनका नेताहरुले पक्कै बुझेका होलान। संबैधानिक पद्धती र परम्परालाई निष्कलंक राख्ने हो भने अहिलेकी राष्ट्रपति बिद्या भण्डारीको निर्गम अनिवार्य छ। यसमा गठबन्धनका कुनैपनि नेताले मत बझाउन मिल्दैन ।

 

अहिलेको राजनीतिलाई सूक्ष्म रुपले हेर्ने हो भने खडगप्रसाद शर्मा ओलीको प्रत्यागमनका सम्भावना क्षीण छन। उनलाई निरस्त गर्नका लागि राष्ट्रपति भण्डारीको निर्गम चाहिएको होइन। उनको निर्गम नभएसम्म संवैधानिक मर्यादा कायमराख्न कठिन छ। पाँचदलीय गठबन्धनले एक सातासम्म मन्त्रिपरिषदलाई पूर्णता दिन नसक्नु राम्रो कुरा होइन। सुनिए अनुसार, सबै ‘बडका’ र ‘कद्दावर’ नेताहरुलाई खँदिलो मन्त्रालय चाहिएकोछ। यसैबीच माओवादी अध्यक्ष प्रचण्डको गुनासो बाहिर आएकोछ । माओवादीका ४९ सांसद सबै मन्त्री बन्न चाहन्छन । मन्त्री बन्न पाएनन भने प्रचण्डजीकै सत्तोसरापगर्दै हिडछन । भनेपछि, यो समस्याबाट प्रधानमन्त्री शेरबहादुर देउवा, बरिष्ठ नेता माधवकुमार नेपाल, अध्यक्ष उपेन्द्र यादव सबै पीडित छन । यस्तोमा उपेन्द्रजीले परराष्ट्र मन्त्री नताकेर मन्त्री परिषदभन्दा बाहिर रहेर काम गरे उहाँको छवि र प्रतिभा दुबै उज्ज्वल हुने हो। यतिबेला, यो संकटको मझधारमा सबैलाई मन्त्री नै बन्नु हो भने खडगप्रसाद शर्मा ओलीको चुच्चे रेलमा चढेर उनैको भजन गाएको भए भै हाल्ने थियो । उनको प्रधानमन्त्रीत्व खारेज नै किन गर्नु परेको थियो र ?

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार