• शुक्रबार ६-१-२०७८/Friday 09-17-2021
डबली

चुँडिएको सपना

०००

 

राजधानीको छिमेकी जिल्ला सिन्धुपाल्चोक भोटेचौर निवासी केदारनाथ उपाध्याय पाँच भाइ छोरा थिए। बनारसबाट संस्कृतमा ‘मध्यमा’ पढेका केदारनाथको पेशा पुरेत्याइ भएकाले तीन गाउँभरी धर्मकर्ममा कट्टर कहलिएका थिए । उनका चारभाइ छोराहरू पढाइमा खासै रत्तिएनन् तर कान्छा गोबिन्द भने दाजुहरू भन्दा फरक निस्किए ।

 

एक कक्षादेखि नै प्रथम हुँदै आएका गोबिन्दले एसएलसीमा त जिल्लाकै उत्कृष्ट बन्न पुगे। कान्छा छोराको कारण केदारनाथको नाक निकै फुलेको थियो। पुर्ख्यौली जेथा खासै नभएपनि केदारनाथले जजमानी पेशाबाटै व्यवहार राम्रैसँग धानेका थिए। गोबिन्दका दाजुहरू भएको खेतीबाली लगाई सकेर कमाउन कोहि पशुपतितिर लाग्थे भने कोहि शहरतिरै सानोतिनो नोकरी गर्थे ।

 

गोबिन्द भने अन्य दाजुहरू भन्दा फरकमात्र हैन गाउँ समाजमै फरक खालका थिए । उनलाई बा को पेशाप्रति कहिल्यै झुकाव आएन। जात, धर्म र संस्कारको नाममा भएको विभेद र थिचोमिचो मन पर्दैनथ्यो उनलाई। जुन कुरा परिवार तथा गाउँ समाज सह्य हुदैनथ्यो । तै पनि गोबिन्द आफै पढे लेखेका बुझने भएकाले यस्ता कुरामा कसैको सुन्दैनथे । उनीमा क्रान्तिकारी सोचले जरा गाडेको थियो । 

 

जातभातबारे समाजमा ब्यप्त रूढीलाई अन्त्य गर्न आफैंबाट परिवर्तन गर्ने दृढ निश्चयका साथ समकक्षी जान्दवी मगरसँग प्रेम–विबाह गर्ने निधो गरे। परिवारले स्वीकार गर्ने त कुरै थिएन र पनि उनी रोकिएनन्। उनले बेसीको गोठमै जान्दवीलाई भित्र्याए । 

 

समय परिस्थितीदेखि परिवार, समाज तथा कुटुम्ब समेतको तिरस्कारबाट जान्दवी त्रसीत थिइन । आफन्त भनेकै कटु शत्रु पनि हुन् । ‘के तिमीले अहिल्यै हार खाएकी ? जीवनमा केहि गर्छु भनेर लागेकाले आउने उतारचाढावको सामना गर्न सक्नुपर्छ । के यहि गोठमै निर्वाह गर्न तिमीलाई अपनाएको सोचेकी तिमीले ? हामी दुबै धेरथोर पढेका छौ। राजधानी पसे केहि न केहि काम पाइहालिन्छ। म तिमीलाई भोकै र नाङ्गै राख्ने छैन ।’

 

गोबिन्दमा आँट थियो त्यैसे गोठको बसाई त्यागी राजधानी होमिए। तर गोबिन्दले सोचेजस्तो सहज पनि कहाँ छ र राजधानी ? एक्लो बेरोजगारले त दुर्दसाको पराकाष्ट भोग्नु पर्छ यहाँ उनीहरू त झन दुईजना छन् । भएको पैसा बालाजुटारको कोठामा सामान जोड्दैमा सक्किने अवस्था पुगिसकेको थियो। ओत लाग्ने ठाउँको जोहो भएपनि महिनौंसम्म कमाईको बाटो नखुल्दा हात मुख जोड्ने समस्याले निकै अत्यायो । तै पनि दुबैले आइपरेको समस्याबाट बिचल्लीत नभई एकअर्कालाई ढाडस दिँदै साथ दिदै रहे । 

 

निकैपछि गोबिन्दको कामको मेसो जुर्लाजस्तो भएको छ। कलंकीमा रहेको बोडिङ्ग स्कुलले अन्तरर्वार्ताका लागी बोलाएका कारण उनी हतासिँदै स्कुल पुग्छन्। उनी पुग्दा बिद्यार्थीहरू लामबद्ध भइ बिहानको प्रार्थना गर्दै थिए । केहिबेरको प्रतिक्षामा पछि उनको अन्तरर्वार्ता पनि भयो। ‘गोबिन्दजी तपाई सेलेक्ट हुनुभयो बधाई छ’ प्रिन्सिपलले के भनेका थिए गोबिन्दको आँखाबाट बर्खेभेल छुट्यो। टेक्ने लौरो न समाउने हाँगोको अवस्थामा पुगेका उनलाई स्कुलको चारहजारको जागिरले पनि ठुलै भरथेग गर्ने देखियो। हतपत आँसु पुछि आभार ब्यक्त गर्दै निस्किए गोबिन्द। उनलाई कुनबेला डेरा पुगी जान्दवीलाई यो कुरा सुनाउँ भएको थियो पुग्ने बित्तीकै सुनाई पनि हाले। बिना तिथीको ब्रत बस्ने दिन सकिएको महसुसले जान्दवी पनि हर्षित भइन् । 

 

गोबिन्दले  पहिलो महिनाको तलबबाट महिना दिनको कोठा भाडा, रासन र एक जोर स्कुलको ड्रेस किने अनि महिना दिनको भैपरी खर्च कट्टा गरी जान्दवीलाई एक जोर म्याक्सी र चोलो पनि किनीदिए । श्रीमानको पहिलो कमाइबाट पाएको म्याक्सी चोलो पनि जान्दवीको लागी दुपट्टासरह नै भयो। यसरी आधारभूत आवश्यक्ता मात्रको परीपुर्तीमै पनि उनीहरू दाम्पत्य सुख खोजी रहे । मागेको भिख बाटैमा ठिक भने जस्तो भएकाले गोबिन्द यो कमाइमा सन्तुष्ट थिएनन् र बचेको समयमा टिउसन पढाउने निधो गर्छन् ।

 

उनले टिउसन पढाउन सुरु गरेपछि आर्थिक रूपमा केहि हल्का सुविस्था भएपनि जान्दवीलाई ब्यवहारी रूपमा कठिनाई थपिएको थियो । पुरानो घरको डेरा कुन्त सानो त्यसमा पनि एउटो खाट हालेपछि कोठै ढाकिएला जस्तो चौको जती मात्र रहेको ठाउँमा भान्छाको व्यवस्था मिलाउनु पर्ने । त्यै माथी त्यै कोठामा टिउसन कक्षा सुरू गरेपछि जान्दवीलाई बच्चा पढ्न आउनु पहिला नै भान्छाको काम सक्नुपर्ने बाध्यता । कति खेर टिउसन कक्षा सकिएला र कोठा मिलाउँला जस्तो हुन्थ्यो । यो बाहेक अर्को बिकल्प खोज्नु भनेको अर्को आर्थिक भार थप्नु हो भन्ने ठानी येनकेन प्रकारेण त्यही कोठामा निर्वाह गरिरहे ।

 

गोबिन्द एकबहानै देखि खाटमा उपरखुट्टी लगाई कुन्नी के सोचीरहेका थिए। जान्दवी सबेरै देखि भान्छामा व्यस्त थिइन । तरकारी छड्की सके पछि भातको डेक्ची तातदै मात्रै थियो भ्यार्ररर गरी बल्दाबल्दैको स्टोभ एक्कासी ठुस्स गर्र्दै निभ्यो। के भो फेरी ? जान्दवी स्टोभ नियाल्दै फत्फताईन ए .....मट्टीतेल पो सकिएछ लौ अब परेन फसाद भुरा पढ्न आउने बेला भईसक्यो। यसपाली त कत्ति फारू भएन झोल पनि। एकपटक पुलुक्क गोबिन्द तिर हेरी अब के गर्ने ? गोबिन्दका हात अनायसै गोजी छाम्मन पुग्छ तर उनको गोजीले कौडी नदेखेको निकै भईसकेको थियो। जाउन खुइलेकोबाट उधारो ल्याउ। जान्दवी खुइइय सुस्केरासँग एकै सासमा बोली हिजै जाबो नुन पनि उधारो खोज्छन् भन्दै थियो। गोबिन्द अनाहकमा झोक्किए पछि लुरूक्क परेर ग्यालीन बोकेर हिडिन् । 

 

गोबिन्द कोल्टे फेरी खाटमै थिए बच्चाहरू हुरुरु कोठा भित्र छिरे। आफु पढन बस्ने ठाउँको अवस्था देखि मुखामुख गर्छन्। गोबिन्द असजिलो मान्दै भाँडाकुँडा तह लगाउन थाले। जान्दवी रित्तो ग्यालीन बोकी फर्किइन। गोबिन्दले खाउला झै आँखा तरेपछि बिहान बिहानै उधारो मिल्दैन भनेर बम्कियो काँठे मैले के पो गर्नु ? बोली नसकिदै झम्टीहाले गोबिन्दले काँचै खाने, गोबिन्द राँक्कीदा छेउको बिद्यार्थी केटो तर्सियो। पहिले भात बसालेको भए कमसेकम निस्तो भएपनि सीतो त मुखमा पर्थ्यो । जान्दवी न्याउरो अनुहार लगाई कोठाबाट बाहिरिन । 


बिचरी डेक्चीको भात कचल्टीनुमा उनको के दोष थियो र ! गोबिन्दलाई खासै पढाउन मन भएन त्यसैले समय छदै होमवर्क दिइ छुट्टी दिए भुराहरू दङ्ग पर्दै हुरूरू निस्किए। गोबिन्द मन मनै कुरा खेलाउन थाले खुइलेको कुराले मेरो त रगत यसरी उम्लीयो ,सन्मुखै परेकी उनको के हालत भो होला ? त्यै माथी म पनि उनीमाथी नै खनिए। जान्दवी सुक्सुकाउँदै भित्र पसिन र गोबिन्दको काँधमा टाउको राखी रून थालीन। ए के गरेकी तिमीले, के भएको छ र हामीलाई जाबो एक छाक न हो । यस्तो त हामीले कति ब्यहोरी सक्यौं यसरी बिचल्लित नहौन। गोबिन्दको कुराले जान्दवीको पीडा केहि हदसम्म शान्त भयो र बिस्तारै बोलिन भोक भनेको त अन्न पाउँदा मेटिन्छ, माँया बिनाको अघाईको कुनै अर्थ हुँदैन । त्यसैले हामी सधैभरी यसरी साथै रहन पाए सम्पुर्ण रहर, इच्छा चाहना पुर्ती भईहाल्छ नी। आङ्ग ढाक्न पाए कै छु के खोजेकी छु र यो भन्दा। 

 

अचेल गोबिन्द धेरै घोत्लिन थालेका छन्। उनको चिन्ताको बिषय अचेल बद्लीएको छ। हिजोसम्म सामान्य जीवनयापन र दैनिक हात मुख जोड्ने चिन्ता हुन्थ्यो। आज कसरी अमेरिका उड्ने र संसारकै प्रख्यात शहरमा स्थापीत हुने भन्नेमा पुगेको छ। कल्पनामा अमेरिकी जीवनशैली सम्झी फुरूङ्ग हुन्छन् फेरी झसङ्ग हुन्छन् आफनो हालको अवस्था सम्झन्छन्। शारदा सरबाट दुईलाख बाहेक अरू खर्च जोहोको कुनै बाटो नखुलेकाले पनि होला उनको यो हबीगत भएको। डिभीका कारण आफना पतिको यो हबिगत सहनै सकेकी छैनन् जान्दवीले र त अमेरिकाको सपना नदेख्न सुझाएको सुझाइ छिन्। उनले पनि यो भन्दा के नै पो गर्न सक्थीन । 

 

निकैबेरको घोत्ल्याइपछि आवाज निकाल्छन् गोबिन्द म भोली बिहानै गाउँ जान्छु। आफनो भागको जेथोबाट के कति आउँछ ? अनि पुग नपुग सोचौला। जान्दवीले यती सजिलै आफना ससुरा लगायत जेठाजुहरू जेथो सुम्पन तयार होलान भन्ने कुरामा संका ब्यक्त गरिन् । तर गोबिन्दमा भने बिश्वास थियो हुन त यो बाहेक उनीसँग अर्को आधार नभएर नी होला बिश्वास बढेको । जान्दवी अनेक तगारो देखाउँदा पनि पछि हटेनन् गोबिन्द र गाउँ जाने नै भए ।

 

झोला भिर कोठाबाट निस्कदै थिए गोबिन्द, ज्यानको तलमाथी पर्ला जोड जबरजस्ती नगर्नु, घरमा कुरो मिलेन भने माइती तिर पो निस्किएर कुरा राख्ने की ? जान्दवीले चिन्ता व्यक्त गरिन । ल ल धेरै चिन्ता नगर त्यती त म पनि बुझ्छु नी ल म लागे। गोबिन्द पर सम्म नपुगुन्जेर हेरी रहिन जान्दवीले । गोबिन्द आफनो कुरा खुलस्त राख्दा कसो नमान्लान्त भन्ने दृढ बिश्वास बोकी गाउँको उकालोबाटो चढ्दै थिए ।

 

शहरमा दुध पुर्‍याएर फर्कदै गरेको गाउँको उनकै उमेरको केटोसँग जम्का भेट भयो। गोबिन्दले जान्दवी ल्याएपछि गाउँ निकाला गर्नु पर्छ भन्ने केटाहरू मध्येका एक थियो ऊ। गोबिन्द तर्कीएर हिड्न खोजे त्यो देखेर केटो आफैले बोलायो आउँदै हो की के हो गोबिन्द ? तिमीलाई त अमेरिकाको डिभी पर्‍यो रे हैन कैले जाने भयौ त ? तिमी त सारै भाग्यमानी। केटोले यती बोलीसक्दा गाउँ समाज अब आफनो लागी सोचे खतरा नरहेको अनुमान लगाए। नत्र हिजो यो तिर पाईला फर्काउँदै सोचेस भन्नेहरू आज स्वगत गर्दै छन् झै लाग्यो उनलाई र मन मनै डिभी चिठ्ठालाई धन्यवाद दिए । उनी घर पुग्दा केदारनाथ फलैचामा बसी तमाखु तान्दै थिए। गोबिन्दको मन ढक्क फुलेर आयो र पनि पाईला फलैचातीरै बढाए। बाउको खुट्टा ढोग्न मुन्टो निहुर्याए तर केदारनाथ वास्तै नगरी एक तमास हुक्का तान्मै ब्यस्थ भए ।

 

बुढाको मन अझै फर्केको रहेन छ मनमा यस्तै कुरा खेलाउँदै थिए भित्रबाट आमा बाहिर निस्कीइन । उनले पुन टाउको झुकाए आमाले हतपत हात काँधमा राखिन अनि पो थाहा पाए बाउको आँखामा पोहरको बर्खा देखि जालोलागेको कुरा। उनलाई बाउ नजिक जान मनलाग्यो केदारनाथले बल्ल चाल पाए उनी आएको । अन्य कुरा नसोधि सिधै आउनुको कारण सोधे गोबिन्दले पनि यथार्थ बताए । 

 

दाजुहरू घर नभएकोले सल्लाहको लागी साँझसम्म कुर्नुपर्ने भयो । बेलुका खाना खाई सबै दाजुहरू जेटे पछि आफनो कुरा नघुमाई राखे मेरो भागमा जे जति आउँछ त्यसैको पैसा मिलाई दिनु मलाई अरू केहि चाहिदैन । उनको कुरामा सहमती भन्दा पनि अड्को थाप्ने काम मात्रै भो । रात छिप्पी नलाग्दा बल्ल जेठा दाजु बोले अब तँ उता गएपछि खेती घर भनेर फर्कने होइनस्, बाउ बाजेको छाला बेच्न दिदै दिदैनो, यही जेथो गाउँको सहकारीमा राख तेरै नाममा ऋण काढेर लैजा र तिर । 

 

आउँदो हिउँदामा बा को सप्ताह लगाउने इच्छा पुरा गर्दे । तेरो मन फर्कियो भने हाम्रो बासका लागि पनि केहि सोची देलास कमाउने ठाउँमा तै जाँदैछस् । रतिभर अफठ्यारो नमानी जेठाले खुरूखुरू प्रस्ताव राखे मानौ गोबिन्द अमेरीका पैसा टिप्न जाँदै छन्। गोबिन्दसँग यी सर्तमा सहमती नजाई सुखै थिएन र सहमतीको मुन्टो हल्लाए। भोलिपल्टै पैसाको जोहो मिलाई दियो सहकारीले र हलुको मन लिई बिदावारी भै हिने गोबिन्द।

 

अब भने गोबिन्द साचै अमेरिका उड्ने भए । अचेल उनको व्यस्तता पनि बढेको छ। घरी भिसा, घरी टिकट, बिदाई भोज यस्तै यस्तै। अचेल गोबिन्दको जीवनशैली पनि फेरिएको छ। हिजोसम्म हात मुख जोड्ने समस्यामा केन्द्रित हुने उनको सोचाई एक्काएक उच्च जीवनशैलीमा पुगेको छ । 

 

कोठा, भाँडा, थोत्त्रा झिटीगुन्टाले गिज्याएझै लाग्छ उन्लाई त्यसैले ती सबैलाई हुत्याएर कंलकींमा नयाँ कोठा सहित सबै नयाँ जोडजम गर्छन् । जान्दवी पनि हिजो सम्मको दरिद्ता र गरिबी पुराना लुगा फाटासँगै फालेको सम्झी दङ्ग छिन्। हिजोसम्म आङ्ग ढाक्न र छाक टार्न पाएकोमा खुसी हुने जान्दवीको जीवनमा श्रीमानलाई परेको डिभीले चमत्कारी परिवर्तन ल्याइ दियो । गोबिन्दमा पनि डिभीले गर्दा अहमंत बढेको प्रष्टै देखिन्थ्यो। हिजो छाक टार्न नसकि बिना तिथिको ब्रत बस्न बाध्य यो जो अचेल होटेल र रेष्टुरेन्टको खाना खाजामा रमाउन थालेका छन् मानै हिजोका दिन बिर्सीसके यी जोडीले । एबवं रीतले दिन बिते । गोबिन्दको उडने दिन पनि नजिकिदै थियो । 

 

जान्दवीको मनमा भने बिछोडको खिचडी पक्दै थियो । जो भनेर सारा छोडेर आइन उही बिरानो ठाउँमा एक्लै छाडी पर्देसीन लाग्दा कसको मन रमाउँला र। गोबिन्दले डिभी भर्दा बिवाह दर्ताको कागज नभएकाले अबिवाहित राखेकाले उनीसँगै अमेरिका जानपाउने अवश्था पनि रहेन। अब जन्दावीले अमेरिका टेक्न केहि समय त कुर्नैपर्ने देखिन्थ्यो। त्यसैले बेचैन थिइन । गोबिन्दका अगि पनि श्रीमतीसँगको बिछोड कहिल्यै नटेकेको ठाउँमा आफुलाई स्थापीत गर्नु अनि घर परिवारमा गरेका बाचा पनि यी सब तगारो बनेर तेर्सीएका थिए । 

 

भोली दिउँसो उडने दिन थियो गोबिन्दको। सबै लुगा फाटा, सरसामान मिलाई सकेर केहि ससना छुटपुट सामान किन्न न्युरोड पुगे। किनमेल सकि खाजाखाई सुन्धाराबाट कोठा फर्कन माइक्रो चढे। बहिर सिम सिम पानी परिरहेको थियो । यी दुई जोडिको मन भोलीको बिछमा रूझि रहेको थियो। पछाडीको एकै सिटमा बसेपनि दुबै मौन थिए। माईक्रो आफनै रफतारमा रङ्गसाला हुदै कालीमाटी तिर मोडियो र केहि पर पुग्ने बित्तीकै अजङ्गको आवाज सहित धुवाको मुस्लो निस्कियो । 

 

माइक्रोका यात्रुहरू उछिटीएर सडकमा बजारिन पुगे। अन्य यात्रुसँगै उछिटिएका गोबिन्दको प्राण उत्तिखेरै गयो । जान्दवी एउटा खुटटा् गुमाई सख्त घाइते हुन पुगी। माईक्रोमा बम पड्कियो भन्दै ठुलो भिड लाग्यो। एकै छिनमा अकल्पनीय घटना घट्दा गोबिन्दको मृत्यु भयो । उनको मृत्युसँगै उनको, उनको परिवार र जान्दवीको सपना चकनाचुर भई चुडियो। जो कोही समुहले जुन कुनै अभिष्ट पुरा गर्न सो घटाना घटाए पनि यसको मारमा निर्दोश जान्दवी जीवनभरका लागी पिल्सन बिवश भइन ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार