• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
पत्रपत्रिका

बालबालिकालाई मोबाइलको लतबाट छुटाउन अभिभावकले नै पहल गर्नुपर्ने सुझाव

काठमाडौं। बालबालिकालाई मोबाइल प्रयोगको लतबाट छुटाउन अभिभावकले नै पहल गर्नुपर्ने सुझाव विज्ञहरूको छ। कोभिड–१९ को महामारीका कारण अहिले डिजिटल प्रविधिको सिकाइ, सामाजिकीकरण र मानसिक स्वास्थ्य व्यवस्थापन गर्न गाह्रो भएको अवस्थामा अभिभावकले आफ्ना बालबालिकालाई सावधानीपूर्वक मोबाइलको प्रयोग गर्न प्रेरित गर्नुपर्ने बाल मनोरोग विशेषज्ञ डा. गुञ्जन घोजूले जानकारी दिनुभयो ।


उहाँले भन्नुभयो, “इन्टरनेटमा अत्यधिक समय खर्चिनु भनेको पनि एक प्रकारको मानसिक रोग नै हो। धेरै इन्टरनेट वा फोन, ल्यापटपजस्ता उपकरण (ग्याजेट) मात्र चलायो र पठनपाठनतर्फ खासै ध्यान दिन सकेको छैन भने बालबालिकालाई मानसिक समस्या भएको भन्ने बुझ्नुपर्छ ।”


बालबालिकाले कुन अवस्थामा इन्टरनेट चलाइरहेको छ भन्ने बुझ्न जरुरी रहेको डा. घोजूको भनाइ छ। कुनै मानसिक तनावले पनि यस्ता प्रविधि बढी समयसम्म चलाउने गरिन्छ। उहाँले थप्नुभयो, “बालबालिकालाई के भइरहेको छ भन्ने कुरा अभिभावकले मायाले सोध्नुपर्छ ।”अभिभावकको भनाइ बालबालिकाका लागि प्रेरणाको स्रोत हुन्छ। बालबालिकालाई आफूसँगै सिर्जनात्मक काम गर्न प्रेरित गर्न सकियो भने इन्टरनेट चलाउनमा ध्यान कम जाने उहाँको सुझाव छ ।

 

चाइल्ड सेफ नेटका निर्देशक अनिल रघुवंशीले घरबाहिर साथीभाइसँग घुलमिल गराउनुको साटो पछिल्ला दिनमा अभिभावकले मोबाइल दिएर टार्ने प्रवृत्ति हावी भएको बताउनुुभयो। उहाँले आफ्नो बच्चाले सानै उमेरमा मोबाइल चलाउन जान्नुलाई बच्चा ‘स्मार्ट’ भएको संज्ञा दिने अभिभावकहरूको पनि समाजमा कमी छैन । सामाजिक सञ्जालको संसार आफैँमा कृत्रिम भएको र त्यसमा देखाइने दृश्य तथा सामग्री बालबालिकामैत्री नहुने विज्ञको सुझाव छ ।

 

दृश्यमा देखाइने हत्या, हिंसाका चित्रले बालबालिकामा नजानिँदो तरिकाले असर पार्ने रघुवंशीले बताउनुभयो । उहाँले भन्नुभयो, “एकदेखि डेढ घण्टाभन्दा बढी समय मोबाइलमा बिताउनु वयस्कका लागि पनि खतरा हुन्छ भने बालबालिकाका लागि त झनै खतरा हुन्छ ।” रघुवंशीका अनुसार मोबाइलको लत अल्कोहलको नशाजस्तै हो । मोबाइलबिना बच्चा हुर्काउन सकिँदैन भन्ने बाध्यताको भ्रमलाई अभिभावकले अब समयमै चिर्नुपर्ने उहाँको भनाइ छ।

 


बालमनोविद् तारा अधिकारीले प्रविधिको स्वस्थकर प्रयोगका लागि बेलुकी खानाको समय र सुत्ने समयमा मोबाइल फोनको प्रयोग निषेध गर्न सुझाव दिनुभयो । उहाँले खाना खाने टेबल, सुत्ने कोठाबाट सकेसम्म मोबाइल र टीभी टाढा राख्ने बानी बसाल्नुपर्ने जानकारी दिनुभयो ।यलु जोशी / गोरखापत्र

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार