• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
डबली

वरिष्ठ कलाकार उत्तम नेपालीको निधन

काठमाडौं । वरिष्ठ कलाकार तथा नेपाली आधुनिक चित्रकला क्षेत्रका शिखर पुरुष उत्तम नेपालीको आज बिहान निधन भएको छ।

 

काठमाडौं किलागल टोलमा वि.सं.१९९४ वैशाख १८ गते जन्मिएका ललितकलाकर्मी नेपालीको मुटुसम्बन्धी समस्याको उपचारका क्रममा मनमोहन कार्डियोथोरासिक एन्ड भास्कुलर सेन्टरमा निधन भएको हो ।

 

उत्तम नेपाली पेन्टिङका बहुविधामा पारङ्गत कलाकार हुन्। कलाका पारखीले उनका एब्स्ट्रयाक पेन्टिङहरू अझै धेरै मन पराएको पाइन्छ। उनले दिग्गज कविका चर्चित कवितामाथि कला कार्यशाला र कला प्रदर्शनीहरू पनि गरेका छन् । भूपि शेरचन, सिद्धिचरण श्रेष्ठ, भीमनिधि तिवारीको मुहारचित्र तथा कवितामाथि उनले चित्र बनाएका छन्।

 

नेपालीले १९६६ मा पृथ्वी आर्ट ग्यालरी स्थापना गरेका थिए। व्यक्तिगत सृजनासँगै नेपाली चित्रकलाको संस्थागत विकास लागि नेपालीले महत्त्वपूर्ण योगदान गरेका छन्। साहित्यकार नेपालीका लेख, रचना र कविता पहिलोपटक वि.सं.२०२१ मा मधुपर्कमा प्रकाशित भएको थियो। उनको ‘बिना शीर्षक’ कवितासंग्रह २०६१ सालमा प्रकाशित भएको थियो।

 

कवि र साहित्यकारको मुहारचित्र बनाई प्रदर्शन गरेका उनी राष्ट्रिय प्रतिभा पुरस्कार २०५४ र सुप्रबल जनसेवा श्री तृतीय पदकबाट सम्मानित भएका थिए। उनका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार