• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
डबली

'म त एकदमै रुन्चे मान्छे हुँ'

आँसु के हो ? 
मेरो विचारमा आँसु एक अभिव्यक्ति हो – दुःखको, पीरको, चिन्ताको र खुशीको पनि ।

 

पहिलो पटक आँसु आएको कुनै सम्झना छ ? 
खासै त्यस्तो सम्झना छैन, तर आफूले खोजेको कुरा नपाएपछि त्यो कुरा पाउनका लागि आमा बुवासँग सायद रोएको थिएँ।

 

रोइसकेपछि कस्तो महशुस हुन्छ ? 
रोएपछि हल्का महशुस हुन्छ । जसरी बोकेको भारी बिसाउँदा हल्का महसुस हुन्छ, त्यसरी नै रोएपछि दुःख र पीरको बोझ कम भएको महसुस हुन्छ।

 

झरर आँसु झर्न सघाउने कुनै विशेष परिवेश वा कारण ?
म अरु रोएको हेर्नै सक्दिन। कहिलेकाहीं लाग्छ, म त एकदमै रुन्चे मान्छे हुँ । सानो कुरामा पनि म रोइहाल्छु । मेरो आँसु एकदमै छिटो झर्छ – दुःखमा पनि, खुशीमा पनि। मैले गर्व गर्ने गरी कुनै सफलता हासिल गरें भने म थाहै नपाईकन रोइरहेको हुन्छु । 

 

सबैभन्दा धेरै रोएको कुन घटना हो ? 
त्यो त मलाई अहिले सम्झना भएन । तर म सिनेमा हेर्दा वा किताब पढ्दा दुःखका दृश्यहरु आए भने रोइहाल्छु। 

 

किन आउँछ होला आँसु ? 
मेरो विचारमा मानिसको मनभित्र भावनाको एउटा पोखरी हुन्छ। त्यो आँसुले भरिएको हुन्छ। जब कुनै दुःख अथवा खुशीले भावनालाई हल्लाउँछ, पोखरीमा भरिएको आँसु छचल्किन्छ। त्यही छचल्किएको आँसु आँखाबाट बग्छ। 

 

आँसु आएको बेला जोसुकैको किन नहोस्, बिसाउने काँध चाहिन्छ भन्छन्,चाहिन्छ ? 
अरुको कुरा त थाहा भएन, तर मलाई भने एक्लै रुँदा आनन्द आउँछ ।

 

आँसु र खुशीमा के फरक छ ? 
मलाई कहिले आँसु र खुशी एक अर्काका पर्यायवाची जस्तो लाग्छ, त कहिले विपरार्थी । मान्छे खुशीले पनि रुन्छ, र दुःखमा पनि रुन्छ ।

 

आँसुको बाँध भत्किएपछि कतिन्जेल झरिरहन्छ आँसु ? 
त्यो त मान्छे अनुसार भर पर्छ । त्यस्तै परिस्थिति अनुसार पनि फरक पर्छ ।

 

माया प्रेमको प्रसङ्गमा कतिपटक आँसु आयो ?
माया प्रेमको प्रसङ्गमा मानिसहरु रुन्छन् भन्ने थाहा छ, तर मेरो चाँही आँसु आएन ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार