• शनिबार ४-१६-२०७८/Saturday 07-31-2021
रंगमञ्च

‘म ठूलो भएपछि पढेर कलाकार बन्छु’

‘बाबु तिमी ठूलो भएसी के बन्छौं ?

 

यो म सानो छँदा मलाई निकै सकस पार्ने प्रश्न थियो । घरमा दैनिक जसो आइरहने पाहुना हुन् या आफू पाहुना बनेर गएको ठाँउ, यो प्रश्न मेरा लागि सर्वव्यापी थियो । मानिसहरु मलाई आफ्नो नजिक बोलाउँथे । म पनि उनीहरुबाट चकलेट वा यस्तै अन्य मिठा कोसेलीको आसमा नजिक जान्थें । त्यसरी बोलाउने मध्य कसैले ढाड पछाडि हात लगेर केहि लुकाए झैं गर्थे र सोध्थे —‘भन त बाबु, तिमी ठूलो भएसि के बन्छौं ?’ म सँग उत्तर हुन थिएन तर उत्तर दिनुको विकल्प पनि हुदैन्थ्यो । म एकछिन सोच्थे । हैन हैन, म प्रश्नको उत्तर बारे सोच्दैन्थें। म त यो सोच्थे कि प्रश्नकर्ताको पछाडी लगिएको हातमा कुन स्वादको चकलेट वा बिस्कुटको पोको होला ? म ठुलो भएपछि के बन्छु भन्ने कुरा त सोच्नै पर्दैनथ्यो किनभने उनीहरुलाई चाहिएको उत्तर मलाई थाहा हुन्थ्यो । मलाई त्यो उत्तर भन्न डरभन्दा बढी लाज लाग्थ्यो । म एकछिन औला चुसेर बस्थे । प्रश्नकर्ता मैले सोचेको भन्दा खरो निस्कन्थ्यो र आफ्नो पछाडी लगिएको हातलाई मेरो सामु नचाउँदै ऊ फेरि प्रश्न सोध्थ्यो । म हतपत त्यो हातमा झुण्डी रहेको बस्तु लुछ्थे र पछाडी फर्केर बुकुर्सी मार्नु भन्दा अगाडी भन्थे —‘डाक्टर ।’

 

म दगुर्दै गर्दा पछाडी हाँसो सुनिन्थ्यो, गज्जवको अट्टहास। मलाई लाग्थ्यो– ‘ज्या, यीनले पनि थाहा पाए मैले झुटो बोलेको कुरा।’ हो नि, म डाक्टर बन्न त मरिगए सक्दिन। पढ्नुभन्दा खेल्नु बढी मन परेपछि यत्राको डाक्टर हुनु ? डाक्टर हुनलाई धेरै पढ्न पर्छ भनेर मैले थाहा पाएको थिए । डाक्टर र धेरै पढ्ने कुरा आउने बित्तिकै म सम्झन्थे भण्डारी डाक्टरको मेडिकलमा राखिएको बडेमानको किताव । म त बोक्न पनि सक्दिन्थे हुँला तेत्रो किताब । म जाँदा डाक्टर बुढा प्राय त्यही कितावमा घोत्लिरहेका हुन्थे । मलाई धेरै पढ्न मन पर्दैनथ्यो तर डाक्टर हुन चैं मनपर्‍थ्यो  । सम्झन्थे –आफुलाई दुखेको बेलामा डाक्टरले कसरी निको पार्दिन्छन्, गुलियो दवाइ दिएर। मलाई धेरै पढ्न मन पर्दैनथ्यो तर डाक्टर हुन चाहि मन पर्‍थ्यो। डाक्टरले निधार छामेको, नाडी समाएको, आँखामा पिलिल्ल टर्च बाल्दै हेरेर ‘केही हुँदैन, ठीक हुन्छ’ भनेको मलाई साह्रै मनपर्‍थ्यो। मलाई यो किन पनि मनपर्‍थ्यो  भने भन्ने बेलामा जे सुकै भने पनि हिंड्ने बेलामा डाक्टरले केहि न केहि गुलियो दवाइ चै झोलामा हाल्दिन्थे। आमाले पटुकाबाट खनखन्ती पैसा निकालेर डाक्टरलाई दिइसकेपछि हिंड्नु भन्दा अगाडी एकपटक नमस्कार गर्नुहुन्थ्यो । म सोच्थे –‘हेर त बुढा कती खतरा ? गुलिया दवाइ र नमस्कार त यिनी कति खाँदा हुन् । पैसो पनि टन्नै कमाउँछन् । भर्सेला परोस् म पनि खुव पढ्छु र डाक्टर बन्छु ।’  

 

घर पुगेर किताब पल्टाउँदै गर्दा पल्लो घरबाट अनिलले खेलौना देखाउदै साउती माथ्र्यो —‘ओइ गाडी कुदाउन आइज ।’ अनि म डाक्टर बन्न बिर्सेर डाइभर बन्न पुग्थें । गाउँमा एउटा अर्को नयाँ डाक्टर आइसकेको थियो । उसको फूर्तिफार्ती र हाउभाउ देख्दा मैले थाहा पाइसकेको थिए कि म डाक्टर बन्न कसैगरी सक्दिन। डाक्टर भन्दा कम पढ्नु पर्ने र अलि खतरा विषय के होला त भनेर म खोज्न थाले। यही विषयमा घोत्लिरहँदा एकदिन मैले थाहा पाए गाउँको पुलिस चौकीमा नयाँ थानेदार आएका छन्। मैले हत्तपत्त झ्यालको पर्दा तानेर पुलिस चौकीतिर हेरे । झ्याल छेवैको पर्खालमा बसेको पुलिसले जिस्कयाउँदै सोध्यो –‘ओइ फुच्चे के हेरेको ?’

 

‘तपाईंको हजुरबुवा आउनु भएको छ रे, त्यहि हेरेको । साले, फुच्चे भनेर हेप्दो पो रहेछ ! ’ –मैले भनिन, सोचे मात्र र एउटा नक्कली मुस्कान ऊ तिर फ्याँकेर पर्खाल भित्र चियाए । ए बाबा ! कत्ति धेरै मान्छे अएका हुन् थानेदारलाई भेट्न । उ त फुलमालाले पुरिन पो लागेछ त । रातै अविर घसेको त्यो थानेदारलाई सवैजना तीनवित्ता झुकेर नमस्कार गरिरहेको मैले देखे । त्यहाँ भण्डारी डाक्टरलाई फ्लप खुवाउन आएको त्यो नयाँ डाक्टर पनि रहेछ । टाई लगाएर हिड्ने नयाँ डाक्टर अहिले  सम्झिंदा कर्णाली ब्लुजको सद्दाम डाक्टर जस्तै थियो, बडो ठाँटको । ऊ पुलिस चौकीमा प्रायः आइरहन्थ्यो । म देख्थे नयाँ थानेदार र नयाँ डाक्टरको दोस्ती खुप जमेको छ । नयाँ डाक्टरको मेडिकलमा विरामी कम पुलिस ज्यादा हुन्थे। पछि थाहा भयो पुलिससँगै हथकडी लगाएका विरामी र दुर्घटनामा घाइते भएका मानिसहरु त्यहाँ जाँदा रहेछन् । नयाँ डाक्टर खुशी र सन्तुष्ट देखिन्थ्यो । हुन त उ जस्तो सुकै देखिए पनि अव मेरो सरोकारको विषय थिएन । किनभने मलाई अव डाक्टर बन्नु थिएन ।

 

मैले सोचिसकेको थिए –म अव पुलिस बन्छु । 

 

त्यसैपनि पुलिसले पढेको मैले कहिले देखिन । 

 

एकपटक म हाम्रो पान दोकानमा हजुरवालाई गनगन गर्दै बसीरहेको थिए । स्कुल जाने बेलामा हजुरवाले मलाई जहिले दुई रुपैया दिनुहुन्थ्यो । र ,यो क्रम आज भङ्ग भएको थियो। ‘बोहनी नै भएको छैन’ भन्दै कुरा टारीरहेका हजुरबुवासँग खुशामदको ल्याङल्याङ गरिरहेको थिए म । यत्तिकैमा एउटा पुलिस हाम्रो दोकानमा आयो । म सतर्क भए । यसो चियाए। अहँ, उसले बन्दुक बोकेको थिएन ।

 

पुलिसले भन्यो –‘बाजे एउटा मिठा पान खाउँ त बङ्गाली पत्तामा ।’

 

म लुसुक्क दोकानबाट निस्के। बाहिर आएर दोकानको छतमा टाँगिएको नेपाली फिल्मको पोस्टर हेर्न थाले। त्यसमा जुँगा पालेको राजेश हमाल र विद्रुप अनुहारको नीर शाह एकअर्कालाई घुरिरहेका थिए। फिल्मको नाम थियो भिष्मप्रतिज्ञा । मलाई नाम मन पर्‍यो । मैले मनमनै भने –‘पैसा नलि स्कुलै जान्न, मेरो पनि भिष्म प्रतिज्ञा भो यो ।’मनमनै खाएको प्रतिज्ञाको प्रभाव हेर्न मैले हजुरबाको मुखतिर हेरें । बुढा मतिर हेर्दै मुस्कुराउँदै रहेछन् । म फन्किए। त्यो पोष्टरसँगैको अर्को छेउमा एउटा हिन्दी फिल्मको पोस्टर थियो। चलनचल्तीका भन्दा फरक ढाँचामा र अंग्रेजीमा लेखिएका अक्षरहरु । फुल्टेन पेनलाई कति डिग्रीमा समाउँदा त्यस्तो अक्षर बन्न सक्ला? म सोच्दै थिएँ । 

 

‘के हेरेको फुच्चे ?’–पछाडीबाट आवाज आयो । 

 

अघिको पुलिस त मेरै पछाडी पो उभिइरहेको रहेछ । सातो गयो मेरो । थर्थर काम्दै म उभिरहे । पुलिसले पिच्च पान थुक्यो र मैले नाम पढ्न खोजेको पोस्टरतिर हेर्‍यो । मैले पुलिसको अनुहारमा हेरे । ऊ फिल्मको नाममा भएको अंग्रेजी अक्षर खुट्याउने प्रयास गर्दै थियो । उसले एकछिन प्रयास गर्‍यो  । सकेनछ क्यार, बलढ्याङ्ग्रे आँखाले मतिर हेर्‍यो  ।

म हाँसौ कि रोऔं ? मैले केहि गरिन । 

 

उसले भन्यो –‘खै यो अंग्रेजी त मैले कैले पढ्न सकिन हौ । तर केहि छैन, खासै काम पनि छैन ।’

 

उसले फेरि पिच्च पान थुक्यो र गयो । घाँटीमा अड्केको मेरो सास बाहिर आयो । मैले निधो गरे –‘अव म पुलिस बन्छु ।’

 

आपतकालिन समयको यो निर्णय पछि म हरेक बिहान चाँडो उठ्न थाले । स्टीलको गिलासमा बाफ उड्दै गरेको तातो चिया लिएर म झ्यालमा उभिन्थे । पुलिसहरु कवाज खेलिरहेका हुन्थे । म चिया सुरुप सुरुप पार्दै उनीहरुले कवाज खेलेको हेर्थे । उनीहरुले कवाज खेल्दा बनाएका पोजहरु म घरैमा अभ्यास गर्थे । पुलिसको एउटा कुराले चैं मलाई जहिले अचम्ममा पार्‍यो  । भन्नलाई सिपाहीभन्दा थानेदार ठुलो मान्छे हो भन्थे तर हतियार चै सिपाहीले डरलाग्दो र ठुलो बोकेको हुन्थ्यो । एक गोली हान्दा जीउमै भ्वाङ पार्लाजस्तो राइफल बोकेको सिपाही भन्दा खतरा जावो हातमै हराउने पिस्तोल बोक्ने थानेदार कसरी हुन्छ भनेर मैले धेरैपटक सोचें । यो विषयमा मैले हाम्रोमा पान खान आउने एउटा पुलिस अंकललाई सोधेको पनि थिए । तर उसले जवाफमा ‘फन्टुस कुरा गर्छस् फुच्चे !’ भनेर हप्काएपछि मैले त्यो विषयमा कसैसँग सोध्नै छोडेको थिए । जे होस् मलाई ठुलो राइफल बोक्ने सिपाही बन्नु थियो र स्कुलमा मलाई हेप्ने ठूलो टाउको भएको केटोलाई कुट्नु थियो । 

 

म कल्पना गर्थे –‘सिपाही भएर म बन्दुक बोक्छु अनि स्कुलको डेस्कमा मलाई बस्न नदिएर धपाउने घन्टाउकेलाई बन्दुकले हानेर घाइते बनाइदिन्छु ।’ अहिले सम्झन्छु मैले उसलाई त्यसरी सोच्नु हुँदैन्थ्यो । हुन त बन्दुकले हान्ने नियत भए पनि उसलाई मार्ने विचार मेरो थिएन । मलाई मान्छे मरेको मन पर्दैन्थ्यो । गाउँमा कोहि मान्छे मर्दा उसको घरपरिवार रोएको देख्दा मलाई पनि रुन आउँथ्यो ।

 

एकदिन मैले सपनामा राइफल भेटाए । म सपना मै खुशी भए । तर मेरो खुशी म बिउँझन नपाउँदै बिलायो । राइफल त गह्रौं पो हुँदोरहेछ । उचाल्न खोज्छु, मरिगए सक्दिन । म राइफल उचालि नसक्दै ब्युँझिए । छेउमा हेरे, केही थिएन । मलाई साह्रै दुःख लाग्यो –पुलिस भएर के गर्नु, म फिस्टाले बन्दुकै उचाल्न नसक्ने रहेछु ।

 

त्यसदिन पछि पुलिस हुने भूत मेरो मनबाट उत्रिसकेको थियो । तर अव के हुने त ? कम्तीमा पुलिसभन्दा ठूलो केही चीज हुनुपर्‍यो । हिसावमा फेल भइरहने भएकोले मेरो डाक्टर पाइलट बन्ने कुनै सम्भावना थिएन । तर यती वेलासम्म मान्छेहरुले मलाई सोध्न पनि छोडिसकेका थिए ‘बाबु तिमी ठूलो भएसि के बन्छौं ?’ अव उनीहरुले मलाई चकलेट बिस्कुट पनि दिन छोडिसकेका थिए । एक हिसावले लाग्यो अव म ठुलो भै सकेछु । घरमा पनि गनगन शुरु भइसकेको थियो – ‘यत्रो लाठे भै सकेर पनि चकचक गर्छस् ?’  ठूलो त भइयो तर के हुने भन्ने निर्णय लिन नसकेकोले मलाई लघुताभाष भइरहयो ।

 

एकदिन गाउँको लोहन्द्रा खोलामा ठूलो बाढी आयो। कैयौ घर बगे। मान्छेका काठपात, सम्पतिहरु पनि बाढीले सोरेर दक्षिणतिर लग्यो। जावो हाम्रै घरछेउको पैनी सिसौलीमा आएको बाढीले हाम्रो घर झण्डै बगाएको । त्यसको एक हप्ता पछिको एक दिन बाहिर सिमसिम पानी परिरहेको थियो । म फेरि बाढी आउँला कि भन्ने डरले घरभित्रै बसिरहेको थिए। बाहिर गाइँगुइँ हल्ला चल्न थाल्यो । रुपेश कुद्दै भित्र आयो र एकै सासमा भन्यो —‘दाजु बाहिर थानामा हिरो–हिरोइनहरु आएका छन् ।’

 

‘को ?’– मैले सोधें ।

 

‘धिरेन शाक्य र रुपा राना’, यति भनेर रुपेश मलाई पर्खिदै नपर्खी कुदयो ।

 

थानामा म पुग्दा गाउँभरिको भीड जम्मा भईसकेको रहेछ । पुलिसहरु भीडलाई अलि पर सार्न खोजिरहेका थिए । भीडको एक कुनाबाट मैले देखे खम्बा जस्तै अग्लो र दह्रो धिरेन शाक्यलाई, थानेदारले नमस्ते गर्दै थियो । थानेदार धन्य देखिन्थ्यो । ऊ मुसुमुसु हाँस्दै, हात मल्दै घरि धिरेन शाक्यसँग त घरि रुपा रानासँग गफ गरिरहेको थियो । ‘हैन, पुलिसभन्दा ठूलो त हिरो पो हो कि के हो ?’– म सोच्दै थिए, रुपेशले मलाई थानाको एक कुनामा रहेको एउटा नयाँ गाडीतिर डो¥यायो । त्यहाँ टन्नै लुगाफाटा र खानेकुराहरु थिए । पछि बुझ्दा थाहा पाए –कलाकारहरु बाढीपीडितलाई राहत बाँड्न आएका रहेछन् । राहत वितरण शुरु भयो । एउटा पुलिस पालैपालो बाढीपिडितलाई बोलाउथ्यो र धिरेन शाक्यले उनीहरुलाई पोका बाँड्दै जान्थे । हाम्रो गाउँका धेरै जनाले पोका पाए । धिरेन शाक्य पोका बाँड्दा उनीहरुसँग हात पनि मिलाउँदै जान्थे । त्यो देख्दा मलाई लाग्यो–‘थुक्क ! बाढीले कम्तीमा हाम्रो बाख्राको टाट्ना पनि बगाएको भए हुने रहेछ ।’

 

त्यसपछिको दिनमा हाम्रो दोकानमा पोस्टर हेर्नेको भीड हुन थाल्यो । नजिकैको कुनै हलमा फिल्म बदलिने बित्तिकै हाम्रो दोकानमा नयाँ पोस्टर आइपुग्थ्यो । हजुरबुवा पुराना पोष्टरहरुलाई जतन गरेर राख्नुहुन्थ्यो ।  म कहिलेकाहिँ ती पोस्टर चोरेर बेचिदिन्थे । यसले मेरो खाजा खर्च र धाक दुवै बढाएको थियो । हुँदाहुँदा म सँग पोस्टर किन्न पुलिस, डाक्टर सवै आउन थाले । उनीहरु कलाकारका विभिन्न खाले गफहरु गर्थे । चर्काचर्की हुन्थ्यो । बहस हुन्थ्यो । कलाकारका दिनचर्यालाई लिएर सवैका आ–आफ्नै अनुमानहरु हुन्थे । म उनीहरुका कुरा सुनिरहन्थे मात्र ।

 

एकदिन म हाम्रो पान दोकानमा बसिरहेको थिए । भर्खरै काठमाडौंबाट फर्केको गाउँकै एकजना दाईले सुनायो –‘मैले शिव श्रेष्ठसँग बसेर पचास रुपैया कप पर्ने चिया खाएको छु ।’

 

मैले ओठ लेप्राए ।

 

उसले पर्सको कुनामा राखेको फोटो निकालेर देखायो । हो त रहेछ, फोटोमा त्यो दाई शिव श्रेष्ठको दाहिनेतिर गिजा देखाउँदै हाँसिरहेको थियो । शिव श्रेष्ठको दाहिने हात गाउँले दाइको काँधमा थियो । म दङ्ग परे । दाइले फोटोलाई पर्समा घुसाउँदै सानका साथ भन्यो –‘खै त फुच्चे, एक गेडो सुकमेल ले ।’ गाउँलेले फोकटमा एउटा सुकमेल खायो त्यो दिन ।

 

स्पष्ट त भन्न सक्दिन तर सायद, त्यसैबेला मलाई लागेको हुनुपर्छ– अव म कलाकार बन्छु । यसमा कुनै रोकावट थिएन । सामान्य क्यारिकेचर म सानैदेखि गर्थे । अव स्कुलमा हुने कार्यक्रमहरुमा पनि म नाटक गर्न थाले । मेरो चर्चा चुलिदै गयो । ‘कमालको एक्टिङ गर्छ राजन दाईको छोरो’–अरुले यसोभन्दा मलाई संसारको सवैभन्दा भारी चीज भनेको आफ्नै नाक रहेछ जस्तो लाग्थ्यो । अव गाउँमा हुने सांस्कृतिक कार्यक्रममा मेरो सहभागिता अनिवार्य हुन थाल्यो । हुँदाहुँदा मलाई अर्को वडाको मान्छेले नि चिन्न थाले । मलाई लाग्यो –अव म ठूलो भएँ र कलाकार पनि बने । र, सवैभन्दा महत्वपुर्ण कुरा, यो बीचमा मलाई कहिले पनि लागेन –कलाकार हुनका लागि पढ्नुपर्छ । धरोधर्म, कसैले भनेनन् । अझ, पत्रिकाहरु तिर आउने कलाकारका प्रोफाइल फिचरहरुमा त अन्यत्र कहीं सफल नभएका र नपढेका मानिसहरु कलाकारितामा आएको सन्दर्भ पढ्न पाइन्थ्यो । डाक्टर, इन्जिनियर, पाइलट बन्न विशेष विषय पढ्नु पर्ने भएता पनि कलाकार बन्न के पढ्ने भन्ने कसैलाई थाह थिएन । 

 

र, यो सवै मलाई कहिले थाह हुने थिएन सायद, काठमाडौंको रंगमञ्चमा मेरो परिचय नभएको भए। गुरुकुलको डाँडोमा सुनील पोखरेललाई जतिबेलै कितावमा घोत्लिरहेको देख्दा शुरुवातमा लाग्थ्यो– ‘डाक्टरी नै गर्ने मान्छे हुन् कि क्या हो?’ डाक्टरीको ठाउँमा मास्टरी पनि सोच्न सक्थेहुँला तर त्यो किन सोचिन भने हाम्रा तिरका कुनै मास्टरले उनले पढेको एकछेउ नि पढेको देखेको थिइँन । पछि थाह पाउँदै गए, रंगमञ्चमा काम गर्ने अधिकांश त्यसरी नै पढ्दा रहेछन्। अनुप बराल, राजन खतिवडा, घिमीरे युवराज, प्रविण खतिवडा, सौगात मल्ल, दयाहाङ राई, सिर्जना सुब्बा, आशान्त शर्मा सवै कितावका किरा रहेछन्। औपचारिक अनौपचारिक,जे भए नि पढिरहने। साना ठूला, जस्तो भए नि सवैका आफ्ना व्यक्तिगत पुस्तकालय रहेछन् । व्यक्तिगत पुस्तकालय त मेरो नि थियो, गाउँको घरमा । कलाकार नै बन्छु भन्ने सोच भएपनि र औपचारिक अध्ययनमा त्यति रुचि नभए पनि किताव र पत्रपत्रिका पढ्नु मेरो सोख थियो । घरका कोठाभरी किनेका, मागेका, भेटेका, चोरेका कितावहरुको चाङ बनाएको थिएँ । नयाँ किताव नपाउँदा पुरानै किताव दोहोर्‍याएर तेहेर्‍याएर पढिदिन्थे । यसरी आफ्नो सोख नै कुनै दिन आफुले रोजेको पेशाका लागि सहायक सिद्ध हुन्छ भन्ने थाह पाएको दिन औधी खुशी लागेको थियो ।

 

हुन त राजधानीको रंगमञ्चमा मेरो इन्ट्री पनि पढाइकै कारण भएको थियो। मलाई गुरुकुलमा कलाकार भन्दा पनि कलाप्रति रुचि भएको बिद्यार्थीको रुपमा हेरिन्थ्यो। अंग्रेजी साहित्यको (भाषाको हैन) विद्यार्थी भएका कारण मैले महोत्सव र तालिमहरुमा दोभाषेको काम गर्ने अवसर पाउँथे। अनुवाद गर्दै जाँदा नै धेरै सिक्ने मौका पाए। र, ती सिकेका कुराहरु अवलम्बन गर्दै मञ्चसम्म उक्लिन पाएँ ।  

 

आजकल धेरै नयाँ साथीहरु कलाकारिता वा रंगमञ्च सिक्न चाहनुहुन्छ । कतिपय पढाई करियर सवै छोडेर आउन चाहनुहुन्छ । यस्तो बेलामा मलाई आफैंप्रति प्रश्न आउँछ– हामीले खनीरहेको यो बाटोमा पढाईको हिस्सालाई किन कतै छोडीरहेका छौं ? किन कलाकारहरुको पढाई प्रसंग कतै प्रेरक बनेर देखिदैन ? अध्ययनलाई किन हामीले औपचारिक डिग्रीको कागजमा मात्रै बेरेर राखिरहेका छौं ?

 

म एउटा यस्तो समयको प्रतिक्षामा छु जहाँ हामीकहाँ पनि रंगमञ्च वा कलाको औपचारिक अध्ययन (स्कुलिङ) शुरु भएको हुनेछ र हाम्रा नानीबाबुहरु निः सन्देह भनिरहेका हुन्छन्– ‘म ठूलो भएपछि पढेर कलाकार बन्छु ।’

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार