• शनिबार १-८-२०८१/Saturday 04-20-2024
विचार

यो विपद् कहिलेसम्म ?

शताब्दी पुरुष सत्यमोहन जोशीले केही समय अघि एक अन्तर्वार्तामा आजभन्दा सत्तरी वर्ष अघिसम्म मनसुनको समयमा दस दिन लगातार झरी पर्दा पनि नेपालमा कहीँ ठूलो बाढी पहिरोको समस्या पर्दैन्थ्योे भनेका छन्। हुन पनि त्यतिबेलाको इतिहासको पाना पल्टाउने हो भने बाढी पहिरोले उत्पात मच्चाएका कुराहरु कतै पनि उल्लेख भएको पाईँदैन। बरु विशाल बागमती, विश्णुमती, कोशी, गण्डकी, नारायणी र कर्णालीको कन्चन पानीको बारेमा भने खुबै वर्णन गरिएको पाइन्छ। आखिर त्यतिबेला किन बाढी र पहिरोको ठूलो प्रकोप हुँदैनथ्यो र आज किन हुन्छ होला ? त्यस्तै आजभन्दा साठी–सत्तरी वर्ष अघिसम्म चीनको ह्वाङ हो वा याङ्ग सि क्याङ नदीहरुले ठूलो बितण्डा मच्चाउने गरेको तथा ह्वाङ होलाई त चीनको दुख पनि भन्ने गरिएकोमा आज ती नदीहरु इश्वरको वरदान जस्तो भएका र चीनलाई सिँचाई र विद्युत उपलब्ध गराएर हराभरा र समृद्ध बनाउन तिनले ठूलो योगदान गरिरहेको कुरा किन सुन्नमा आउँछ होला ?

 

धेरै टाढा किन जानु। करिव वि.सं. २०३० सालतिर बुवाआमासँग मोटर गाडीमा विराटनगर जाँदा त्रिभुवन राजपथबाट देखिने डाँडाकाँडा पनि हराभरा हुने गर्दथे र पहिरोका कारण नांगा र क्षत विक्षत भएका पहाडहरु पनि देखिदैन्थे। त्यस्तै हेटौँडाबाट सिमरा जाँदा घना जंगल कटेर जानु पर्दथ्यो। त्यहाँदेखि वीरगञ्ज जाँदा पनि बाटोमा जंगल र हरिया खेतै खेत भएर जानु पर्दथ्यो। वीरगञ्जबाट विराटनगर जाँदा त तराईको झनै घना जंगलको बिचबाट हामी गएका थियौँ। त्यतिबेला पुलहरु बनिनसकेकाले खोलाबाटै गाडी तर्दा बाटामा पर्ने नदीहरु पनि स्वच्छ देखिनुका साथै नदीका तटहरुमा त्यति भूक्षय भएको देखिँदैनथ्यो। राजमार्गमा केही साना साना वस्ती निकै दुरीमा मात्र भेटिन्थे। तर आज तिनै ठाउँहरु घना बस्तीमा परिणत भइसकेका छन् भने तराईमा प्रायः जंगल कतै कतै छाडेर बाँकी ठाउँहरुमा मासिइसकेको छ। इटहरीबाट मेचीसम्मको राजमार्गको दुबैतिर घरै घर र प्लटिङ गरेका जमिन देखिने भइसकेका छन् भने हराभरा हराउनुका साथै सिमसार जमीन पनि मिचाईमा पर्दै गइसकेको छ। यो पुर्वको मात्र व्यथा होइन, देशभर नै यस्तै हचुवाको विकास निर्माण भइरहेको छ भने वातावरणमा नराम्रो प्रभाव पर्ने गरेको छ ।

 

२०४० सालतिर म र मेरा कान्छा मामा उहाँहरुको वीरगञ्जको गाउँमा भएको जमीनको निरिक्षण गरेर फर्कँदा सिमराबाट हवाईजहाजमा काठमाडौँ आएका थियौँ। त्यतिबेलाको सिमरा पनि ठूला ठूला घाँसे मैदानहरु भएको, वन–जंगल र खेती भएको निकै रमणीय स्थल थियो। हामी त्यहाँबाट हवाइजहाजमा उडेर काठमाडौँ नपुगुन्ज्यालसम्मै भित्री मधेशको घना जंगल र काठमाडौँबाट दक्षिणतिरको चुरे पर्वत श्रृंखलाको हरियाली देखेर मन निकै मोहित भएको थियो। तर आज भित्री मधेश पनि घरै घरले भरिन थालिसक्यो भने चुरे पर्वत बन्जर हुँदै गइरहेको छ। मैदानी भागमा त मानिसहरु बस्नको निम्ति जंगल र हरियाली फाँडे तर पहाडी क्षेत्रमा समेत काठको चोरी व्यापार गर्न रुखहरु ढाल्ने क्रम बढिरहेको छ। सरकारको कुनै ठोस नीति लागु भएको देखिँदैन। हामी कहाँ नीति र योजना त विश्वका उत्कृष्ट मध्यकै बनेका हुन्छन् तर कार्यान्वयन पक्ष भने निकै कमजोर छ चरम भ्रष्टाचार र बेथितीले गर्दा ।

 

केही वर्षअघि सिंगापुर जाने क्रममा विमानमा काठमाडौँबाट उडेको केही मिनेटमा हवाई ट्राफिकका कारण एक फन्को घुम्नु पर्ने भयो भनेर विमान चालकले उद्घोषण गरेपछि जहाज सुदुर उत्तरतिरहुँदै पश्चिमतिर गएर एक चक्कर घुम्दै आफ्नो गन्तव्यतिर लाग्यो। त्यतिबेला मैले पहिलो चोटी हिमाल र महाभारत पर्वतमालाको बिचमा हुँदै गरेको मरुभूमिकरणको वास्तविक रुप देख्न पाएँ र त्यहाँको सुख्खा तथा नांगा डाँडा र मरुभूमि जस्तै परिवेश देखेर निकै दुख लागेको थियो। यसरी मानिस नबस्ने क्षेत्रहरुको पहिचान गरेर सरकारले विशेष कार्यक्रमका साथ व्यापक रुपमा यस्ता क्षेत्रहरुमा वृक्षरोपण तथा हरियालीकरणको थालनी गर्नुपर्नेमा मुलुकमा बाँकी भएका वन–जंगल,जंगली जनावर,जडीबुटी र हरियालीमा नै कैयन् नेता, प्रशासक र तस्करहरुको आँखा जाने रहेछ ।

 

नेपालको दक्षिणी सिमाना पारी बाढीको पानी पसेर डुबान भयो भनेर भारतीय सरकारले सिमानाका नदीहरुमा कैयन् ठाउँमा तटबन्ध बनाएर पानी नेपालतिरै जम्ने गराई दिएको छ भने, हाम्रै देशबाट विगत एक डेढ दशक अघिदेखि ट्रकका ट्रक निर्यात भएको ढुंगा र गिट्टी थुपारेर अग्लो बनाई सिमा पारी पुर्व–पश्चिम सुपरहाईवे बनिसकेको छ । चुरे भाँवर क्षेत्रका रुखहरु तिव्ररुपमा कटान हुनुका साथै नदीहरुमा विना कुनै योजना ढुंगा, गिट्टी र बालुवा निकाल्ने काम हुँदा यस्ता क्षेत्रहरुमा भूक्षय बढ्ने, पानीको भण्डारण कम हुँदै जाने र तराईको मरुभूमिकरण र वर्षाको समयमा डुवान हुने क्रम बढ्दो छ । यस्ता कुकार्यहरुको शुरुवात चन्द्रशमशेर प्रधानमन्त्री भए देखि नै भएको हो । त्यतिबेला देखिनै नेपालका वन–जंगल फाँडेर काठ भारतमा बेच्ने, नदीका ढुंगाहरु निर्यात गर्ने तथा फँडानी पश्चात प्राप्त जमीनको वितरण आफन्त र अन्य सामन्तहरुलाई गर्ने परम्परा बस्न थालेको हो।

 

काठमाडौँ कै कुरा गर्दा यहाँ भित्र बग्ने नदीहरुका किनाराहरु अतिक्रमण गरेर घर बनाउँदै नदीको चौडाई र बहाव परिवर्तन गर्ने ठाउँहरुलाई खुम्चाई दिनाले तथा नदीलाई फोहर र ढल बग्ने स्थल बनाइनाले उपत्यकाकै सौन्दर्य बिग्रेको त छँदैछ, त्यस माथि केही दिनको वर्षाको पानीले पनि निकै ठूलो बाढी आउने र किनाराका क्षेत्रहरु डुवानमा पर्ने समस्या बर्षेनी बढ्दै गइरहेको छ। हालै सिन्धुपाल्चोकको मेलम्ची बजारमा पानी पसेर घरहरु बगाएको दृश्यहरु हेर्दा त्यता पनि नदी किनारका जमिनहरु अतिक्रमण गरेर घरहरु बनाइएको कारणले पनि त्यति धेरै क्षति भएको जस्तो देखिएको छ। सिन्धुपाल्चोक क्षेत्रमा पनि वन–जंगल फँडानी तथा विना योजनाका विकास कार्यहरुले गर्दा त्यसै पनि बन्जर जमिन झनै सुख्खा र कमजोर हुँदै गएकोले यसरी एक दुई दिनको वर्षाको पानीले पनि निकै ठूलो क्षति पुर्‍याएको देखिन्छ । जलविद्युत आयोजनाहरुको निर्माण अघि पनि तिनको डिपिआर बनाउँदा वातावरणमा हानी नगर्ने हिसाबले बनाउनु पर्नेमा त्यस्ता डिपिआर काठमाडौँमा नै बसेर तयार गरिने भएकाले हाल तिनै सम्पन्न आयोजनाहरु पनि बाढी र पहिरोको संकटमा पर्न गएका छन् भने तिनका कारण स्थानीय वातावरण निकै बिग्रन थालेको छ।  

 

विकासको नाममा नेपालका चुरे र महाभारत पर्वत श्रृंखला जस्ता नाजुक र अपरिपक्व पहाडहरुमा विना कुनै वातावरणीय प्रभाव अध्ययन र योजना जथाभावी डोजर चलाएर सडकहरु निर्माण गर्नाले थोरै बचेका वन–जंगल पनि मासिँदै छन् भने पैरो र भूक्षयको समस्याले गर्दा पहाडहरु सुख्खा र जर्जर भएका छन्। तराई कै कुरा गर्दा आज हिउँदमा भूमिगत जल समेत पर्याप्त रूपमा ननिस्कने र वर्षाको बेलामा ठूलो जनधनको क्षति हुने गरी बाढी र भूक्षय हुने तथा उर्वर जमिनमा बालुवा थिग्रेर खेती योग्य जमिन नै नष्ट हुँदै जान थालेको छ। यस्तो स्थिति त ठूला नदीहरुको किनाराहरुमा अझ बढी देखिन सकिन्छ ।

 

चीनका विशाल नदीका किनारहरुमा नै यस प्राचिनदेशको ऐतिहासिक सभ्यताहरुको शुरुवात भएको थियो र आजसम्म पनि यिनै नदीहरुका किनाराहरुमा विशाल शहरहरु अवस्थित छन्। बेला बेलामा निकै उत्ताउला भएर लखौँ लाख जनधनको क्षति गराउने यी नदीहरुलाई नियन्त्रण गर्न चीनले अथक प्रयास ग¥यो । सन् १९५० र ६० को दशकमा चीनले लाखौँ स्वयंसेवकहरुको सहयोगले यी नदीहरुमा ठाउँ ठाउँमा तटवन्धहरु बनायो भने ठूला ठूला जलविद्युत र सिँचाईका आयोजनाहरु निर्माण गरेर त्यहाँको पानीलाई आवश्यक ठाउँहरुतिर मोडेर लाखौँ हेक्टर जमीनमा सिँचाई पु¥याउन सक्यो । चीनको पश्चिमी क्षेत्र मरुभूमि र बन्जर नै भएको भएता पनि यी नदीहरुलाई मोडेर विभिन्न ठाउँहरुमा पानी र उर्जा पु¥याउन चीन सफल भएपछि यस्ता कैयौँ क्षेत्रहरु हराभरा पनि भएका छन् भने नदीका किनाराहरुमा झनै ठूला शहरहरु आवाद हुन पनि पाए। तर सबै थोक राम्रो भएता पनि कैयन् शहर तथा उद्योगहरुबाट उत्पादन भएका रसायनिक फोहरहरु यो नदीमा मिल्न गएकोले यी नदीहरु ठाउँ ठाउँमा निकै प्रदुषित पनि भएका छन् ।

 

हिमाली पर्वतमालाको ठिक मुनिपट्टि १२,००० देखि १४,००० फिटको उँचाईमा महाभारत पर्वतमाला अवस्थित छ। पाकिस्तानको सिन्धु नदीको मुहान र इन्डस भ्यालीबाट शुरु भएर इस्लामावाद, भारतको काश्मिर, जम्मु र हिमाञ्चल प्रदेश हुँदै नेपालको हिमालयको मुनि मुनि र काठमाडौँबाट उक्त तर्फ हुँदै धनकुटा र इलाम जस्ता क्षेत्रहरुबाट पनि उत्तर छिचोल्दै भुटान र पुर्वी भारतको ब्रह्मपुत्र नदी पारीसम्म पुगेको यो पर्वत श्रृंखला खासगरी भारतको उत्तराखण्ड र नेपालमा निकै बन्जर र उजाड हुँदै गइरहेको छ। सन् १९७० को दशकमा पाकिस्तानमा सुई भन्ने ठाउँमा प्राकृतिक ग्याँसको ठूलो भण्डार फेला परेपश्चात पाइप लाइन मार्फत पुरै देशमा ग्याँस पुगेकोले त्यहाँ जथाभावी रुख तथा जंगल कटान गर्न सख्त मनाही गरियो तथा त्यहाँ हामीकहाँ जस्तो ढुंगा र बालुवाको अवैध तथा अव्यवस्थित दोहन गर्न पनि दिईएकोछैन । त्यसैकारणले गर्दा पाकिस्तानको महाभारत पर्वत श्रृंखला भएको उत्तरी भाग निकै हराभरा र मनमोहक छ। भारतको काश्मिर र हिमाञ्चल प्रदेश इलाका पनि हराभरा छन् र वातावरणीय संरक्षण तथा नदी नियन्त्रण र जलाधार व्यवस्थापनका विभिन्न उपायहरु त्यहाँ अवलम्बन गरिएका छन्। काश्मिरबाट शुरु हुने सिन्ध (इण्डस), झेलम र चेनाव नदीहरुको सवल व्यवस्थापनले पाकिस्तान र भारत दुवै राष्ट्रले निकै धेरै फाइदा लिएका छन्। काश्मिरबाट बग्ने नदीहरुकै कारण भारत र पाकिस्तान दुबै देशमा अवस्थित पञ्जावलाई कृषिको निम्ति निकै उर्वर स्थलको रूपमा लिइन्छ । जलविद्युत तथा सिँचाईको निकै धेरै विकास भएको यो क्षेत्र वास्तवमा नै निकै सुन्दर र मनोरम छ। भारतमा ब्रिटिस शासन हुँदा नै पहाडी रेल र सडकमार्गमा पर्ने कठिन क्षेत्रहरुमा सुरुङ बनाएर मार्ग निर्माण गरिएकोले त्यहाँ बाटो निर्माणका कारण जाने पहिरो निकै कम हुन गयो । 

 

विश्वको तापमानमा अस्वाभाविक वृद्धिले गर्दा हिमालयमा पनि यसको असर निकै पर्न थालेको छ। खासगरी उत्तराखण्डमा पर्ने हिमालहरुबाट बग्ने हिमनदीहरु तिव्र रुपले पग्लन थालेकाले गंगा तथा यमुना नदीहरुमा पनि यसको प्रभाव पर्ने गरेको छ। केही वर्ष यतादेखि उष्णताको वृद्धिले गर्दा बेला बेलामा जाने विशाल हिम पहिरो र हिमनदीहरुको विष्फोटनका कारण उत्तराखण्डमा ठूला ठूला बाढी र पहिरोले सताउन थालेका छन् । त्यहाँ पनि नेपालमा जस्तै अव्यवस्थित तवरले सडक तथा अन्य निर्माण गरिनाले यस्ता वातावरण खल्बलिने त्रृmयाकलापहरुमा बृद्धि हुँदै गएको छ। केदारनाथको मन्दिर क्षेत्रमा नै विशाल बाढी र पहिरोको कारण निकै जनधनको क्षती भइसकेको छ । जनघनत्वको हिसाबले पनि उत्तराखण्ड काश्मिर, हिमाञ्चल प्रदेश वा भुटान भन्दा निकै धेरै जनसंख्या भएको क्षेत्र हो । तर नेपाल भने हिमालय क्षेत्रमा नै सबैभन्दा बढी जनसंख्या भएको क्षेत्र हो। काश्मिर, जम्मु, हिमाञ्चल प्रदेश, उत्तराखण्ड र भुटानको जनसंख्या जोड्दा पनि नेपालको जनसंख्या बढी हुन जान्छ ।नेपालको पर्यावरण खल्बलिनुमा बढ्दो जनसंख्या पनि दोषी छ।

 

सन् १९७० को पुर्वार्धमा गान्धीवादी सामाजिक अभियन्ता स्व. सुन्दरलाल बहुगुणाले उत्तराखण्डमा रुख कटान तथा वन फँडानी रोक्न तथा वातावरणीय जनचेतनाको निम्ति शान्तिप्रिय “चिप्को आन्दोलन” को शुरुवात गरे, जुन आन्दोलनले विश्वव्यापी समर्थन पायो।  यो आन्दोलनमा सो क्षेत्रका पुरुष र महिलाको उत्तिकै सहभागिता थियो। भारतका विभिन्न ठाउँहरुमा काठबाट उत्पादन हुने विभिन्न वस्तुहरुको लागि हालको उत्तराखण्ड क्षेत्रबाट रुख कटान गरेर निर्यात गर्ने कार्यलाई यो आन्दोलनले रोकिदिएको थियो। त्यस्तै उत्तराखण्डमा बन्न लागेको विशाल टेह्री जलविद्युत आयोजनाको बाँधको विषयलाई लिएर सन् १९८० देखि २००४ सम्म बहुगुणा तथा अन्य अभियन्ताहरुको नेतृत्वमा चरम भूकम्पीय क्षेत्रमा रहेकोे हिमालयको काखमा ठूला जलाशययुक्त आयोजनाहरु बनाउँदानिकै गहन अध्ययन गर्नुपर्ने र त्यहाँका वासिन्दालाई विस्थापित गर्नुका साथै वातावरणमा ज्यादै नकारात्मक असर पर्ने त्यस्ता आयोजनाको निर्माण गरिन नहुने अडान सहितको आन्दोलन चलाइएको थियो। पछि स्थानीय आन्दोलनलाई महत्व दिएर वातावरणीय र भूकम्पीय सम्वेदनशीलता तथा आयोजना क्षेत्रका प्रभावित जनताहरुको पुनर्वासको समेत मध्यनजर राखेर आयोजनाको आकारलाई केही सानो र सुरक्षित बनाइए पछि भने यसको निर्माणको कार्यमा तिव्रता आउन सक्यो भने यसको निर्माण पश्चात उत्तराखण्डले विजुली, खानेपानी र सिँचाईको लागि पानी आफ्नो राज्यभित्र उपभोग गरेर र अन्य राज्यहरुमा विक्री गरेर निकै ठूलो धनराशी कमाउनुका साथै वातावरण संरक्षणमा पनि निकै धेरै काम गर्न सकेको छ। यस्ता आन्दोलनहरुको सफलताको कारण यो भेगका नरनारीहरुलाई रुख, वन–जंगल र नदीनालाको महत्वबारे निकै कुराहरु थाहा हुन गयो र त्यसैको फलस्वरुप सामुदायिक स्तरमा नै वातावरण संरक्षणका कार्यक्रमहरु सफलताका साथ लागु भइरहेका छन्। विना कुनै स्वार्थ त्यति ठूला आन्दोलनहरुका अभियन्ता विद्धान सुन्दरलाल वहुगुणाको गत मे महिनामा ९४ वर्षको उमेरमा निधन भयो ।

 

नेपालमा पनि पञ्चायत संरक्षित वन, सामुदायिक वन आदि जस्ता राम्रा कार्यक्रमहरु बेला बेलामा सफलतापुर्वक सञ्चालन भएका भएता पनि आजकल कैयन सामुदायिक वनहरुमा समुदायका व्यक्तिहरुको बदमासी कै कारण वन फँडानी गरेर वस्ती बसाउने होड चलेको छ र यस्तो कुकार्यलाई प्रोत्साहन दिनेहरु मध्ये कैयन नेताहरु नै लागिपरिरहेका छन्। त्यस्तै विकासको नाममा लाखौँ रुखहरु कटान गर्न आयोजनाको शुरुवात हुनु भन्दा अगावै सबै पार्टीका नेताहरुमा राष्ट्रिय सहमति नै हुने गरेको छ । रुख र वन सखाप भएपछि निम्तिने वातावरणीय समस्या र मरुभूमिकरण प्रति भन्दा पनि यस्ता व्यक्तिहरुलाई सजिलोसँग कमाइने द्रव्यमोहले आकर्षित गर्ने गरेको छ । आज नेपालले सुगौली सन्धी भन्दा पहिले गुमाएका भूभागमा बस्ने व्यक्तिहरु त्यहाँको कुशल व्यवस्थापनले गर्दा हामी भन्दा कैयन् गुणा बढी सुखी जिन्दगी बिताइरहेका छन् भने हामी नेपालीहरु दिन प्रति दिन झन् झन् दुखी हुँदै गएका छौँ । यो सब कुशल व्यवस्थापन र राजनैतिक उत्तरदायित्व हुँदा र नहुँदा हुने कुरा रहेछन् ।

 

त्यस्तै भुटानले वातावरण संरक्षणका विशेष योजनाहरु अवलम्बन गरेको भएर त्यो देश पनि हराभरा नै छ। त्यहाँका नदीहरुबाट विद्युत र सिँचाईका ठूला ठूला आयोजनाहरु बनाएर भारतमा विद्युत निर्यात गरिन्छ । जनसंख्या पनि निकै कम भएको भुटानमा वातावरण संरक्षण सम्बन्धि निकै कडा नियमहरु लागु गरिएका छन् ।

 

नेपालले आउँदा कैयन दशकसम्म व्यापक वृक्षरोपण, वोट विरुवाको स्याहार र सम्वद्र्धन, नदी नियन्त्रण तथा सिँचाई, व्यापक जनचेतना र स्थानीय निकायलाई यस्ता कुरामा सहभागी बनाउने, विकासको उचित र वातावरणीय मैत्री रणनीति तथा पुनर्वास कार्यक्रमहरुका खाका तयार गरेर आफ्नो वार्षिक वजेटको ठूलै हिस्सा लगानी गर्नुपर्ने हुन्छ। बाँझा हिमाली जमीनहरुमा वृक्षरोपण गर्दा मौषमी फलफुल, जडिबुटी तथा छिटो हुर्कने खालका रूखहरु र वातावरण मैत्री घाँसहरुको पहिचान गरेर रोप्नु उचित हुन्छ। निकै पातला बस्ती भएका उच्च पहाडी र हिमाली क्षेत्रबाट मानिसहरुलाई केही तल नयाँ वस्तीहरु बसाएर सार्न सके यातायात, शिक्षा, स्वास्थ्य, खाद्यान्न तथा उर्जा प्रणालीको पनि सही वितरण गर्न सजिलो पर्दथ्यो भने हरियाली पनि निकै बढ्ने थियो। त्यस्तै नदीका प्राकृतिक बहावका क्षेत्रहरुको अतिक्रमण गरेर बनाइएका बस्ती र घरहरुका साथै विकासका संरचनाहरुलाई हटाएर नदी किनाराहरुलाई पनि हराभरा बनाएर अप्राकृतिक दोहनबाट मुक्त गर्न सक्नु पर्दछ । पहाडी क्षेत्रमा सडक बनाउँदा अप्ठ्यारा तथा भौगर्भिक हिसाबले कमजोर ठाउँहरुमा सुरुङमार्गको निर्माण गरेर पहिरोको समस्याबाट बच्न सक्नु पर्छ। यस्ता परियोजनाहरु निर्माण गर्दा महँगा पर्ने भएता पनि भविश्यमा यिनका कारण रोकिने प्रकोपहरुको आँकलन गर्दा यी परियोजनाहरु निकै महत्वपूर्ण साबित हुन जान्छन्। यस्ता तथा अन्य वातावरणमैत्री उपायहरुको अवलम्बन गरेर वातावरणीय संरक्षणमा अहम् भूमिका खेलीदिनाले मात्र जनताले सुखको सास फेर्न पाउने थिए र आउँदा पीँढीहरुको लागिपनि राम्रो हुने थियो ।   

 

-लेखक विकास अर्थशास्त्री र पुर्वबैंकर तथा नेपाल एकल व्यक्तित्व समाजका अध्यक्ष समेत हुन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार