• शनिबार ४-१६-२०७८/Saturday 07-31-2021
विचार

धान विश्लेषण एवं वैज्ञानिक वीउ छनौट

भनिन्छ चामल नै जीवनको आधार हो। नेपाल सहित एशियाली देशहरुमा नै खाद्यान्न भनेको धान,चामल भन्ने बुझिन्छ। खाद्यान्नबालीहरु मध्ये उत्पादनको हिसावले धानबाली प्रथमस्थानमा आउँदछ । विश्वका आधाभन्दा बढी जनसंख्याको प्रमुख आधारनै चामल हो। अझ धानले एशियाहरुलाई एकैसाथ ल्याउन सेतुको कामपनि गरिरहेको छ किनकी ९० प्रतिशतभन्दा बढी धानको उत्पादनको साथै खपत एशियाली देशहरुभित्रै हुन्छ । धानलाई  सुनको दाना पनि भन्ने गरिन्छ। धानबालीले करिव एक (१) अर्व मानिसहरुलाई रोजगारी दिदै आएको छ। विश्वभर साठी दशकको मध्यतिर कृषिमा हरितक्रान्ती नआएकोभए हाल उत्पादित चामलको परिमाण (करिव ५ सय ०९ मिलियन टन) प्राप्त गर्न धानखेती गर्ने जमिन नै दोव्बर गर्नुपर्ने हुन्थ्यो, जुन कुरा सम्भव नै छैन र वनजंगल पनि हालको भन्दा आधा क्षेत्रफलमा मात्र सिमित रहने थियो। धानले विश्वमा शान्ती ल्याउछ। किनकी एशियामा भोकमरी ठुलो कथाको रुपमा रहेकोले संसारभर धानको महत्व झल्काउन, संयुक्त राष्ट्रसंघले सन् १९६६ लाई भोकमरी बिरुद्धको नारासहित बर्षको बाली, पूनः भोकमरीकोे समस्या देखापरेकाले सन् २००४ लाई धाननै जीवन हो भन्ने नारासहित अन्तर्राष्ट्रिय धानबर्ष भनी, नेपाल सहित ४३ देशहरुको अनुरोधमा संयुक्त राष्ट्रसंघले घोषणा गरेको थियो। यस स्तम्भकारको बिशेष प्रयासमा सरकारले असार १५ गतेलाई राष्ट्रिय धान दिवस मनाउन २०६१ साल मंसीर २९ गते मन्त्रीस्तरीय निर्णय गरेको थियो । सोही अनुसार २०७७ साल असार १५ गते  सोमवार,सत्रौं ( १७ औं) राष्ट्रिय धान दिवश तथा रोपाई महोत्सव, नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्र्तगत रहेको बाली विज्ञान महाशाखा, खुमलटार, ललितपुरमा धान उत्पादनमा बृद्धि, आत्मनिर्भरता र सम्बृद्घि भन्ने नारा सहित मनाइएको थियो। कोभिड १९ (भाइरस) रोग सम्बन्धी नेपाल सरकारले निर्देशन गरे अनुसार सतर्कता अपनाई देशभर सत्रौं ( १७ औं) राष्ट्रिय धान दिवश तथा रोपाई महोत्सव मनाउन अनुरोध गरिएको थियो। संयुक्त राष्ट्रसंघको घोषणा पश्चात संसारमा प्रत्येक बर्ष निरन्तर रुपमा राष्ट्रिय धान दिवस मनाउने देश नेपाल मात्र हो । 

 

मौसम सम्बन्धी विज्ञहरुको दक्षिण एशियाली जलवायु दृष्टिकोण मन्च सास्कोप र नेपालको जल तथा मौसम पूर्वानुमान शाखाले नेपाल सहित समग्र दक्षिण एशियाको मनसुन बिश्लेषण गर्दा नेपालमा यस बर्ष औसत अर्थात १ हजार ७ सय ५० मिलिमिटर बर्षा रहने ठहर गरेको थियो ।

 

कुल धानबाली क्षेत्रफलको करिव ९७ प्रतिशत उन्नतजातले ढाकेको पाइएको छ। नेपालमा चैते,भदैया, वर्षे, हिउँदे (बोरोे) गरी वर्षैभरी तराइमा धानखेती गर्न सकिने प्रविधिको विकास भैसकेको छ । नेपालको आर्थिक बृद्धिदर नै धानको उत्पादनमा भरपरेको हुन्छ ।


आर्थिक वर्ष २०७६/२०७७ बमोजिम नेपालमा १४ लाख ५९ हजार हेक्टरमा धानखेती भई ५५ लाख ५० हजार  मेट्रिक टक उत्पादन भएको थियो र उत्पादकत्व भने ३ हजार ८ सय ०४ किलोग्राम प्रति हेक्टर रहेको थियो । आर्थिक बर्ष २०७६/२०७७ को बिगत १० महिनामा १८ अर्ब रुपैयाँ बरावरको चामल आयात भएको थियो। आर्थिक वर्ष २०७५/२०७६ अनुसार नेपालमा १४ लाख ९१ हजार हेक्टरमा धानखेती भई ५६ लाख १० हजार  मेट्रिक टक रेकर्ड उत्पादन भएको थियो र उत्पादकत्व भने ३ हजार ७ सय ६० किलोग्राम प्रति हेक्टर थियो । आर्थिक बर्ष २०७५/२०७६ मा रेकर्ड धान उत्पादन भएको बर्षपनि आवश्यकता भन्दा करिब १० लाख टन धानको कमि भएको पाइयो । बिदेशीएका लार्खौ युवाहरु नेपाल फर्किएका छन र अब उनीहरुलाई पनि खुवाउन पर्‍यो । श्रमशक्ति थपिएकाले बांझो जमिनमा कमि आउन सक्छ । आर्थिक बर्ष २०७५/२०७६ को बिगत १० महिनामा २७ अर्ब ९० करोड रुपैयाँ बरावरको चामल आयात भईसेकको थियो । आर्थिक वर्ष २०७४/२०७५ मा विश्व बैंकले ६ दशमलव ३ प्रतिशत आर्थिक बृद्धिदर भएको जनाएको थियो । आर्थिक वर्ष २०७४/२०७५ मा नेपालको आर्थिक बृद्धिदर ६ दशमलव ३ प्रतिशत थियो भने आर्थिक वर्ष २०७५/२०७६ मा ६ दशमलव ८१ प्रतिशत रहेको थियो ।

 

वैज्ञानिक तरिकाले धानको वीउ छान्ने तरिका
धानको नर्सरी, व्याड बनाउन लटर, पटरमात्र नगरी हामीले छोरा,छोरी हुर्काए जस्तै व्यवस्थापन गर्नुपर्दछ। जापानमा कुल उत्पादनको पचास प्रतिशत उत्पादन त कसरी बेर्ना हुर्काइन्छ, त्यसमानै भरपर्दछ भन्ने गरिन्छ। नेपालमा पनि बीउ गुना फल भन्छौं अर्थात हुने बिरुवाको चिल्लो पात नहुने बिरुवाको फुश्रो पात । उदाहरणको लागि गह्रौं एवं स्वस्थ वेर्ना जब हुर्कन्छ तव बलियो र दरिलो पनि बन्छ। असल वीउहरुमा जातीय शुद्धता, धेरै उमारशक्ति, आकारमा एकरुपता, मिसावट नभएको, वीउजन्य रोगबाट मुक्त भएको हुनुपर्दछ। वीउको गुण एवं उमार शक्तिवीच घनिष्ट सम्बन्ध रहेको हुन्छ । धानमा मूलगांजबाट अन्य दोश्रो र तेश्रो पंक्ति गांजहरुको तुलनामा वीउहरुको सबैभन्दा बढी संख्या एवं वजनदार वीउहरु उत्पादन हुन्छन। बालाको मध्य एवं तल्ला भागहरुको तुलनामा टुप्पातर्फका वीउहरु वजनदार हुन्छन र यस प्रकारको वीउहरु चाँडै उम्रेर स्वस्थ वेर्नाहरुपनि निक्लन्छन। साधारण तया ठुला, ठुला वीउहरुबाट एक, दुइदिन अगाडिनै वेर्नाहरु निक्लन्छन। स-साना एवं कम वजनदार वीउहरुको तुलनामा ठुला, ठुला एवं वजनदार वीउहरुबाट बलिया र स्वस्थ वेर्नाहरु निक्लन्छन र पछि पनि राम्ररी वृद्धि कायम भई अन्ततोगत्वा बढी उत्पादन दिने गर्छन। स्वस्थकर बाली कायम राख्न राम्ररी भरिएका, हृष्टपुष्ट वीउहरु छान्नुपर्छ। वैज्ञानिक ढंगले धानको वीउ छान्ने तरिका उदाहरण सहित निम्नानुसार दर्शाइएको छ:

 

 

वैज्ञानिक तरिकाले धानको बीउ छान्न माथि चित्रमा देखाए जस्तो (साधारण पानीमा ताजा विकासे कुखुराको फुलहाले देब्रे भांडोको पिंधमा जान्छ र धानको वीउछान्न फुलले दाहिने भांडोको जस्तो पानीको सतहमा छोएको हुनुपर्दछ ) । एक लिटर पानीमा २०० ग्राम खानेनुनको घोल बनाएर छान्दा एकमिनेट भित्रै राम्रा-राम्रा, पोटिला, हृष्टपुष्ट, मरुवा (व्लाष्ट) जस्ता वीउबाटै सर्ने रोग, कीराले कम आक्रमण गरेका गह्रौं बीउ भांडोको तल, पींधमा जान्छ र नराम्रो बीउ घोलको मध्यभागमा र माथिनै तैरिन्छन। यसरी तैरिएको बीउलाई हटाएर तल, पिंधमा गएको बीउलाई तुरुन्तै २, ३ पटक साधारण पानीले धोइ, पखाली गरिदिनुपर्दछ। घण्टौंसम्म घोलमा बीउ राखीरहनु हुँदैन र भोलिपल्टको लागि बासी घोलपनि प्रयोग नगर्न सल्लाहदिइन्छ । यदी पाँच लिटरको घोल बनाउने हो भने १ किलोग्राम वा एक प्याकेट नुन मिसाउनु पर्दछ र यसप्रकार बनाएको घोललाई धानकोबीउ छानीसकेपछी गाई, भैसीलाई कुंडो बनाउदा प्रयोगगर्न सकिन्छ। बीउ छान्न बनाएको उही घोलमा ५, ६ पटक बीउ छान्न सकिन्छ । यसरी वीउ छान्दा मरुवा (व्लाष्ट) जस्तो धानको वीउजन्य विनासकारी रोगलाई कमी गर्न पनि सहयोग पुग्दछ। धानका मुख्य रोगहरुमा मरुवा (व्लाष्ट), पात डढुवा, पाते फेद, डांठ कुहिने, खैरो थोप्ले जस्ता पर्दछन र ढुसि एवं साकाणुनासक विषादीद्धारा व्यवस्थापन गर्नु जरुरी छ । जापानमा सय प्रतिशत किसानहरुले नै यसरी वीउ छान्ने गर्दछन र व्याडको माटो समेत सहकारीबाट खरिद गर्ने गर्दछन । नेपाली किसानले रासायनिक मल त किन्न सक्तैनन्, झन माटोपनि किन भन्दा त उल्टै असर पर्न सक्दछ। तर नेपाली किसानले कम्पोष्ट वा प्राङगारिक मल ब्याडमा प्रयोग गर्न सक्दछन। त्यसैले म Think globally act Locally  भन्ने गर्दछु। राम्रो अथवा गुणस्तरीय बीउले मात्र १५ देखि २० प्रतिशतसम्म उत्पादन बढाउन सक्छ। नेपालमा चाँही हुने बीरुवाको चिल्लोपात भनेझैं, Healthy Seedlings are responsible  at least for half of the Yields  भन्न सकिन्छ । माथि उल्लेख भएनुसार वैज्ञानिक ढंगले धानको बीउ छानेर ब्याड राखे मरुवा जस्तो रोग नलागि, १० देखि १५ प्रतिशत धानको उत्पादन बढाउन सकिने कुरा यस स्तम्भकारको जोडदार भनाई छ । यस स्तम्भकारले धनुषा जिल्लास्थित तत्कालिन हर्दिनाथ कृषि फार्मको ६०० रोपनी जमिनमा यस प्रकारले बीउ छानी बेर्ना हुर्काइ खेती गर्दा उत्पादन बढाउन सकिने कुरा प्रमाणित गरिसकेका छन । संसारको १ सय १३ देस अर्थात जुनसुकै देशमा पनि यस प्रकारको वैज्ञानिक तौरतरिकाले धानको बीउ छानी सहजै उत्पादन बृद्धि गर्न सकिन्छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार